तिला नदीको बहाव अचानक बढेपछि नदीको बीच भागमा फसेको स्काभेटरमा रहेका चालक र सहचालकको प्रहरीले सकुशल उद्धार गरेको छ। करिब तीन घण्टासम्म चलेको उद्धार प्रयासपछि दुवै जनालाई राति करिब १० बजे सुरक्षित रूपमा बाहिर निकालिएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार २०८३ साल साउन २७ गते राति करिब ७ः५० बजे चन्दननाथ नगरपालिका–१० अन्तर्गत खल्ला गाउँबाट उमगाडतर्फ तिला नदी तर्ने क्रममा स्काभेटर नदीको बीच भागमा फसेको थियो। त्यस समयमा अचानक ठूलो वर्षा भएपछि नदीको बहाव बढ्दा स्काभेटर बन्द भएर नदीमै अड्किएको थियो।
स्काभेटरमा कालिकोटको पचालझरना गाउँपालिका–४ का २७ वर्षीय चालक अर्जुन विक र जुम्लाको चन्दननाथ नगरपालिका–३ का १८ वर्षीय सहचालक आकाश सुनार रहेका थिए। उनीहरू नदीको बीच भागमा करिब दुई घण्टासम्म फसेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि डीएसपी दाहालले तत्काल कर्णाली प्रदेश विपद् गुल्म प्रहरी जुम्लालाई खबर गरी उद्धारका लागि प्रहरी टोली परिचालन गरेका थिए। डीएसपी दाहालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट ११ जना र कर्णाली प्रदेश विपद् गुल्म प्रहरी जुम्लाबाट ११ जना गरी २२ जना प्रहरी उद्धारमा खटिएका थिए।
प्रहरी टोलीले जोखिम मोलेर करिब तीन घण्टासम्म उद्धार प्रयास गरेपछि राति करिब १० बजे नदीको बीचमा फसेका चालक विक र सहचालक सुनारलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।
डीएसपी दाहालका अनुसार आफूलाई घटनाबारे एक्कासि फोनमार्फत जानकारी आएपछि तत्काल विपद् गुल्मसँग समन्वय गरी प्रहरी टोली परिचालन गरिएको थियो। “घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली परिचालन गर्यौँ। करिब तीन घण्टा लगाएर उद्धार गर्न सफल भयौँ,” दाहालले भने।
उद्धारका क्रममा नदीको बहाव तीव्र रहेकाले जोखिम उच्च रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तर्ने, नदी आसपास आवतजावत गर्ने तथा सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी प्रमुखका रूपमा जुम्ला आएयता डीएसपी दाहालले जिल्लाको शान्ति सुरक्षा तथा विपद्का घटनामा प्रहरी परिचालनलाई प्राथमिकता दिँदै आएका छन् ।पछिल्लो उद्धार घटनामा पनि तत्काल प्रहरी टोली परिचालन गरी दुई जनाको ज्यान जोगाउन सफल भएको हो।

















