बुधबार, २७ श्रावण, २०८३

जुम्लाका राराचौकीमा काँचो स्याउ बोकेका तीन गाडी रोकिए

जुम्लाबाट काँचै टिपेर जिल्ला बाहिर लैजान लागिएका स्याउ बोकेका तीनवटा गाडी तिला गाउँपालिकाको राराचौकीमा रोकिएका छन्। पछिल्लो तीन चार दिनमा राराचौकीमा रोकिएका गाडीका स्याउ परीक्षण गर्दा तत्काल बजार पठाउन नमिल्ने र अझै केही दिन राख्नुपर्ने देखिएको हो।

तिला गाउँपालिकाको कृषि शाखा प्रमुख राजेश विश्वकर्माका अनुसार जानकारी नदिई वा समय नपुग्दै टिपेर ल्याइएका स्याउ बोकेका गाडीहरू राराचौकीमा रोकिएका हुन्।

‘यो तीन–चार दिनयता अलिकति थाहा नदिएर टिपेर सुर्खेत नेपालगन्ज लिन लागेका स्याउ हुन्,’ विश्वकर्माले भने, ‘राराचौकीमा रोकिएका स्याउमध्ये एउटा गाडी हिजो, एउटा अस्ति र अर्को त्यसअघिको दिनदेखि रोकिएको हो।’

रोकिएका गाडीका स्याउ परीक्षण गर्दा अझै केही दिन राखेर मात्र बजार पठाउनुपर्ने अवस्था देखिएको उनले बताए। उनका अनुसार परीक्षणका क्रममा स्याउ पूर्ण रूपमा परिपक्व नभएको पाइएको हो।

‘परीक्षण गर्दा अझै केही दिन राख्नुपर्ने भेटियो,’ उनले भने, ‘त्यसैले तत्काल बाहिर पठाउनेभन्दा केही दिन राखेर मात्र बजार पठाउन उपयुक्त देखिएको छ।’

कृषि शाखाका अनुसार रोकिएका गाडीमध्ये केही स्याउ तिला गाउँपालिकाका किसानको उत्पादन हो। अधिकांश भने चन्दननाथ नगरपालिकाबाट ल्याइएको स्याउ रहेको प्रारम्भिक परीक्षणबाट खुलेको छ।

जुम्लामा स्याउ उत्पादनको मुख्य सिजन सुरु भएसँगै समय नपुग्दै स्याउ टिपेर जिल्ला बाहिर पठाउने क्रमलाई रोक्न स्थानीय तहले निगरानी बढाएका छन्। केही समय अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले तिलामा भदौ पाँच गतेदेखि र बाँकी पालिकामा भदौ दोस्रो हप्तादेखि मात्रै स्याउ टिप्न मिल्ने निर्णय भएको थियोे।

विशेषगरी बजारमा माग बढ्ने समयको फाइदा उठाउँदै कतिपय किसान तथा व्यापारीले परिपक्व हुनुअघि नै काचो स्याउ टिपेर बाहिर पठाउने गरेको विश्वकर्माको भनाइ छ।

उनकाका अनुसार काँचो स्याउ बजारमा पुगेमा स्वाद र गुणस्तरमा असर पर्न सक्छ। त्यस्ता स्याउ उपभोक्ताले जुम्लाको उत्पादनका रूपमा प्रयोग गर्दा समग्रमा यहाँको स्याउको बजार र ब्रान्डमा समेत असर पर्ने जोखिम हुन्छ।

जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायतका ठूला बजारमा पुग्ने गरेको छ। जिल्लामा उत्पादन हुने स्याउको माग बढ्दै गएसँगै समयअगावै टिपेर बजार पठाउने प्रवृत्ति पनि चुनौतीका रूपमा देखिन थालेको उनको तर्क छ।

तिला गाउँपालिकाले किसानलाई स्याउ परिपक्व नहुन्जेलसम्म नटिप्न आग्रह गर्दै आएको छ। कृषि शाखाले बजार पठाउनुअघि स्याउको गुणस्तर र परिपक्वता परीक्षण गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार