आईतवार, १० श्रावण, २०८३

कनकासुन्दरीमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

कनकासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई नागरिकमैत्री र सहज बनाउन लाभग्राहीको वडामै पुगेर भत्ता वितरण गरेको छ। गाउँपालिकाले गाउँपालिकाका सबै ८ वटै वडामा पुगेर ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भत्ता वितरण गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता हुँदा नागरिकले लामो समयदेखि समस्या झेल्दै आएका थिए। कतिपय लाभग्राहीले बैंकसम्म पुग्न २ देखि ३ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने, समय खर्चिनुपर्ने र यातायात तथा अन्य अतिरिक्त खर्चसमेत व्यहोर्नुपर्ने अवस्था थियो।

यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको भण्डारीले बताए।

उनका अनुसार वडामै पुगेर भत्ता वितरण गर्दा विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति र अन्य लाभग्राहीलाई सहज भएको छ। यसबाट सेवाग्राहीको समय, श्रम तथा यातायात खर्च बचत हुनुका साथै सरकारी सेवा नागरिकको घरदैलोमै पुगेको अनुभूति भएको गाउँपालिकाले जनाएको छ।

भत्ता वितरणका क्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

लाभग्राहीहरूले गाउँपालिकाले अपनाएको नागरिकमैत्री सेवा प्रवाहको स्वागत गरेका छन्। दुर्गम क्षेत्रका नागरिकको अवस्था र समस्यालाई ध्यानमा राखेर वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउनु सकारात्मक र प्रशंसनीय काम भएको उनीहरूको प्रतिक्रिया छ।

गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले आगामी दिनमा पनि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्ता नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कनकासुन्दरी गाउँपालिकाको यो पहलले दुर्गम क्षेत्रका नागरिकलाई सार्वजनिक सेवा प्राप्त गर्न सहज बनाउनुका साथै स्थानीय सरकारप्रतिको नागरिकको विश्वास र अपनत्व थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार