मंगलवार, ५ श्रावण, २०८३

यो वर्षका उत्कृष्ट मावि शिक्षक हरिबहादुर बुढा पुनः ऋणमोक्ष माविको प्रधानाध्यापक

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न योगदान पुर्‍याएको भन्दै उनी ३२ वर्षको उमेरमै जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षकका रूपमा सम्मानित भएका थिए।

जुम्लाको पातारासी गाउँपालिका–४, डिल्लीचौरका हरिबहादुर बुढा पुनः आफू अध्ययन गरेको विद्यालय ऋणमोक्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक बनेका छन्। २३ वर्षको उमेरमै माध्यमिक तहको स्थायी शिक्षक बनेका बुढा ३२ वर्षको उमेरमै जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षकका रूपमा सम्मानित भइसकेका छन्। अहिले उनी आफूले बाल्यकालमा अक्षर चिनेको र एसएलसीसम्मको अध्ययन पूरा गरेको विद्यालयको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका हुन्।

सामान्य किसान परिवारमा जन्मिएका बुढाले अभाव र आर्थिक कठिनाइका बीच आफ्नो शैक्षिक यात्रा अघि बढाएका थिए। वि.सं. २०५० साल माघ १६ गते रामबहादुर बुढा र सन्तकली बुढाका कान्छो सन्तानका रूपमा जन्मिएका उनले गाउँमै हुर्किंदै शिक्षा हासिल गरेका हुन्। घरको काम, गोठालो र खेतीपातीसँगै विद्यालय जाने गरेका बुढा सानैदेखि पढाइमा अब्बल थिए।

उनले प्रारम्भिकदेखि माध्यमिक तहसम्मको शिक्षा ऋणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरबाट पूरा गरे। कक्षा ८ देखि १० सम्म निरन्तर प्रथम हुँदै आएका उनले वि.सं. २०६५ सालमा ७१ प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरे।

विज्ञान विषय अध्ययन गर्ने लक्ष्य बोकेका बुढा उच्च शिक्षा हासिल गर्न वि.सं. २०६६ सालमा सुर्खेत पुगे। जन नमुना माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययन गरेका उनले वि.सं. २०६८ सालमा कक्षा १२ को परीक्षामा ७६ प्रतिशत अंक ल्याउँदै सुर्खेत जिल्ला प्रथम बन्न सफल भए।

त्यसपछि पब्लिक साइन्स क्याम्पस सुर्खेतमा विज्ञान विषयमा स्नातक अध्ययन सुरु गरेका उनले आर्थिक समस्याका कारण पढाइसँगै काम गर्नुपर्ने अवस्था आयो। यही क्रममा वि.सं. २०७० सालमा जुम्ला फर्किएर पातारासी गाउँपालिका–३ स्थित मालिका माध्यमिक विद्यालय, लोठचौरमा निजी स्रोतका गणित तथा विज्ञान शिक्षकका रूपमा अध्यापन सुरु गरे। शिक्षणसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिएका उनले वि.सं. २०७१ सालमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरे।

शिक्षण पेसालाई आफ्नो जीवनको मुख्य लक्ष्य बनाएका बुढाले वि.सं. २०७२ देखि २०७३ सालसम्म त्रिभुवन माध्यमिक विद्यालय, झारज्वालामा राहत शिक्षकका रूपमा गणित र विज्ञान विषय अध्यापन गरे। त्यसपछि शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गर्दै शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भए। पहिलो प्रयासमै सफल भएपछि वि.सं. २०७३ सालमा माध्यमिक तहको स्थायी विज्ञान शिक्षकका रूपमा सिफारिस भए। त्यतिबेला उनको उमेर २३ वर्ष मात्र थियो।

उनको पहिलो पदस्थापन बाझकटेरी माध्यमिक विद्यालय, गुल्मीमा भयो। त्यसको एक वर्षपछि उनी आफ्नै गृहजिल्ला जुम्लाको ऋणमोक्ष माध्यमिक विद्यालयमा सरुवा भएर आए। विद्यार्थी जीवनमा आफूले अक्षर चिनेको विद्यालयमै शिक्षकका रूपमा फर्किन पाउँदा आफूलाई विशेष अनुभूति भएको उनले बताउँदै आएका छन्।

ऋणमोक्ष माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा कार्यरत रहँदा उनले विज्ञान शिक्षणलाई व्यवहारिक, सरल र विद्यार्थी केन्द्रित बनाउने प्रयास गरे। विद्यार्थीमा विज्ञान विषयप्रतिको डर हटाउँदै जिज्ञासा, खोज र प्रयोगात्मक सिकाइप्रति रुचि जगाउन उनले विभिन्न अभ्यास गर्दै आएका छन्।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न योगदान पुर्‍याएको भन्दै उनी ३२ वर्षको उमेरमै जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षकका रूपमा सम्मानित भएका थिए।

अब भने उनले त्यही ऋणमोक्ष माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्। शिक्षकका रूपमा लामो समयदेखि विद्यालयको शैक्षिक सुधारमा सक्रिय बुढाले अब नेतृत्व तहबाट विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानाध्यापकको जिम्मेवारीसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको नियमित उपस्थिति, सिकाइ उपलब्धिमा सुधार, शिक्षक–विद्यार्थी सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विद्यालयलाई प्रविधिमैत्री र विद्यार्थी केन्द्रित बनाउने चुनौती पनि उनका सामु छन्।

बुढाको आफ्नै जीवनयात्रा पनि विद्यालयका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। सामान्य किसान परिवारबाट संघर्ष गर्दै अघि बढेका उनले आर्थिक अभावका बीच पनि अध्ययनलाई निरन्तरता दिए। सुर्खेतमा अध्ययन गर्दा जिल्ला प्रथम बनेदेखि २३ वर्षमै स्थायी माध्यमिक शिक्षक बन्ने र ३२ वर्षमै जिल्लाकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुनेसम्मको उनको यात्रा प्रेरणादायी छ।

उनको शिक्षणबाट प्रेरित भएर गाउँका धेरै युवाले विज्ञान विषय अध्ययन गर्न थालेका छन्। केहीले स्नातक तह पूरा गरेर लोक सेवा आयोगको तयारी गरिरहेका छन् भने आधा दर्जनभन्दा बढी विद्यार्थी विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन्। आफ्नै गाउँका विद्यार्थीलाई विज्ञान शिक्षाप्रति आकर्षित गराउन सकेकोमा उनी यसलाई आफ्नो शिक्षण यात्राको महत्वपूर्ण उपलब्धि मान्छन्।

अब प्रधानाध्यापकका रूपमा आफ्नै विद्यालयको नेतृत्वमा पुगेका हरिबहादुर बुढाका लागि यो जिम्मेवारी केवल प्रशासनिक पद मात्र होइन, आफूले शिक्षा आरम्भ गरेको विद्यालयलाई अझ राम्रो बनाउने अवसर पनि हो। आफूले अक्षर चिनेको विद्यालयमा विद्यार्थी हुँदै शिक्षक र शिक्षक हुँदै प्रधानाध्यापकको जिम्मेवारीसम्म आइपुगेका बुढाको यात्रा संघर्ष, निरन्तरता र सफलताको उदाहरण बनेको छ।

अभाव र कठिन परिस्थितिलाई अवसरमा बदल्दै अघि बढेका बुढाको नेतृत्वमा ऋणमोक्ष माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र सिकाइ उपलब्धिको क्षेत्रमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ। उनको नयाँ जिम्मेवारीले विद्यालयको नेतृत्वमा युवा पुस्ताको सक्रियता र क्षमतालाई समेत उजागर गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार