कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आवश्यक औषधिको अभाव भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। अस्पतालको फार्मेसीमा पर्याप्त औषधि उपलब्ध नहुँदा बिरामीहरूले बाहिरका मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अस्पताल स्रोतका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि टेन्डरमार्फत औषधि खरिद प्रक्रिया अघि बढाइएको भए पनि उक्त प्रक्रियामाथि मुद्दा परेपछि टेन्डर रद्द भएको थियो। त्यसपछि नयाँ खरिद प्रक्रिया समयमै सम्पन्न हुन नसक्दा हाल अस्पताल आर्थिक वर्ष २०८१/०८२ मा खरिद गरिएका सीमित औषधिको भरमा सञ्चालन भइरहेको छ
सिँजा गाउँपालिका–६ निवासी राज्य नेपाली आँखाको उपचारका लागि अस्पताल पुगेकी थिइन्। उनले सम्पूर्ण परीक्षण तथा शुल्क भुक्तानी गरिसकेपछि पनि आवश्यक औषधि नपाएको गुनासो गरिन्। ‘सबै प्रक्रिया पूरा गरेँ, तर अन्तिममा औषधि पाइएन,’ उनले भनिन्।
चन्दननाथ नगरपालिका–८ निवासी नन्दराम रावलले मुटुरोगी आफ्ना बुवाको उपचारका लागि अस्पतालमा भर्ना गरेको पाँच दिन बितिसकेको बताउँदै बाहिरबाट औषधि खरिद गर्दा हालसम्म करिब ६ हजार रुपैयाँ खर्च भएको बताए।
‘अस्पतालमै औषधि पाइने अपेक्षा गरेका थियौं, तर सबैजसो औषधि बाहिरबाट किन्नुपरेको छ,’ उनले भने।
त्यस्तै सिँजा गाउँपालिका–६ भाडगाउँ निवासी ७४ वर्षीय सौर्य रावत दम रोगको उपचारका लागि अस्पताल आएका थिए। अस्पतालको फार्मेसीमा आवश्यक औषधि उपलब्ध नभएपछि बाहिरको मेडिकलबाट औषधि खरिद गर्नुपरेको उनका छोरा रामबहादुर रावतले बताए।
चन्दननाथ नगरपालिका–१० निवासी जुनपुरा सार्कीले पनि छालारोगको उपचारका क्रममा अस्पतालमा आवश्यक औषधि नपाएपछि निराश हुँदै घर फर्किनुपरेको गुनासो गरिन्।
अस्पताल स्रोतका अनुसार मानसिक रोगका बिरामीलाई आवश्यक पर्ने केही औषधिसमेत मौज्दातमा छैनन्।
बाँकी रहेका सीमित परिमाणका औषधि पनि छिट्टै सकिने अवस्थामा रहेका छन्। समयमै नयाँ खरिद प्रक्रिया पूरा गरी औषधि आपूर्ति सुनिश्चित गर्न नसकिए गरिब तथा विपन्न वर्गका बिरामी सबैभन्दा बढी प्रभावित हुने अस्पताल स्रोतको भनाइ छ।
यस विषयमा प्रतिक्रिया लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द बहादुर शाहीसँग सम्पर्क गर्न खोज्दा उनी जिल्ला बाहिर रहेको जानकारी प्राप्त भएको छ। फोन सम्पर्कको प्रयाससमेत सफल हुन सकेन।
स्थानीय धर्मसिंह थापा ( थापा जि) ले औषधि अभावको समस्या तत्काल समाधान नभए आगामी एक महिनाभित्र अस्पतालको सेवा प्रवाह तथा भर्ना भएका बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरे।
















