बुधबार, १० असार, २०८३

वैकल्पिक सडक समेत बन्द हुँदा पातारासीबीसीलाई सदरमुकाम पुग्न सास्ती, सडक सञ्चालनबारे निकाय र स्थानीयबीच मतभेद

पातारासी गाउँपालिकालाई सदरमुकामसँग जोड्ने दुवै प्रमुख सडक एकैपटक बन्द हुँदा स्थानीय बासिन्दा, बिरामी, यात्रु तथा व्यवसायीहरू गम्भीर समस्यामा परेका छन्।

जुम्ला विमानस्थल नजिक पातारासी सडकखण्ड ढलान निर्माण कार्यका कारण बन्द रहेको छ भने आचार्य–जारिम हुँदै जाने वैकल्पिक सडक पनि निर्माण कार्यकै कारण अवरुद्ध बनेको छ। दुवै सडक एकैपटक बन्द हुँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको स्थानीयले बताएका छन्।

यस विषयमा पातारासी गाउँपालिका निवासी रामन बुढाले जिल्ला प्रशासन कार्यालय जुम्ला पुगेर प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए। प्रमुख जिल्ला अधिकारीको अनुरोधमा भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखसँग समेत सम्पर्क गरी सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरिएको थियो। 

तर हालसम्म सडक सञ्चालनमा नआउँदा नागरिकहरूले सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। स्थानीय रामन बुढाले विकास निर्माण आवश्यक भए पनि नागरिकको स्वास्थ्य, सुरक्षा र दैनिक आवतजावतलाई ध्यानमा राख्दै कम्तीमा एउटा वैकल्पिक मार्ग सञ्चालनमा राखेर मात्र निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यता भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले भने सम्बन्धित सडक केही दिनअघि नै सञ्चालनमा ल्याइसकिएको दाबी गरे। त्यसैगरी निर्माणको जिम्मा पाएको मल्ल कन्स्ट्रक्सन निर्माण सेवाका प्रतिनिधि नन्दबहादुर मल्लले सडकमा केही सवारीसाधन आवतजावत गरिरहेको बताउँदै दुई दिनभित्र बाँकी काम सम्पन्न गरी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए। उनका अनुसार आफू कार्यस्थलमै रहेका बेला एम्बुलेन्ससमेत उक्त सडक प्रयोग गरेर आवतजावत गरेको थियो।

तर स्थानीय रामन बुढाले निकायको दाबी अस्वीकार गर्दै सडक अझै सञ्चालनमा नआएको बताए। ‘हिजो राति बिरामी बोकेको एम्बुलेन्स बाटोमै रोकियो, आज पनि विभिन्न मालवाहक सवारीसाधन सडक अवरुद्ध हुँदा थन्किएका छन्,’ उनले भने। 

यसैबीच जुम्ला विमानस्थल सडकखण्ड पनि निर्माण कार्यका कारण बन्द रहेको छ। उक्त सडकको ठेक्का लिएको खड्का निर्माण सेवाका प्रतिनिधिले कार्यालयको निर्देशनअनुसार नै काम भइरहेको बताउँदै सम्बन्धित कार्यालयले अनुमति दिए सडक खुला गर्न सकिने प्रतिक्रिया दिएका छन्।

सडक सञ्चालनको विषयमा सरकारी निकाय, निर्माण कम्पनी र स्थानीयबीच फरक–फरक दाबी आइरहेका बेला पातारासीबासी भने तत्काल आवागमन सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार