सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्राखोलामा पौडी खेल्ने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ।
मंगलबार राति करिब ९ बजे झुप्राखोला निवासी लालबहादुर ठाडा मगरका अन्दाजी २० वर्षीय छोरा मनोज ठाडा मगर पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए।
डुबेर गम्भीर घाइते भएका उनलाई उनका बुवाले उपचारका लागि राति ११ः४५ बजे कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पुर्याएका थिए।
अस्पतालमा उपचारका लागि ल्याइएका मनोजलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे अस्पतालमा खटिएका प्रहरी हवल्दार कृष्ण थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जानकारी गराएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल तथा आवश्यक अनुसन्धानका लागि खटिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।















