जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ५ देखि ६ सम्म विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइन अन्तर्गत जडान गरिएका विद्युत् पोलहरू सिमेन्टबिनै गाडिएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। पोल जडानमा लापरवाही गरिएको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
स्थानीय सर्जन रोकायका अनुसार विद्युत् पोल गाड्दा आवश्यक सिमेन्ट प्रयोग नगरी माटो मात्रै हालेर पोल ठड्याइएको छ। यसरी निर्माण गरिएको पोल दीर्घकालीन रूपमा सुरक्षित नहुने र भविष्यमा दुर्घटनाको जोखिम बढ्न सक्ने उहाँको भनाइ छ।
त्यस्तै स्थानीय परिमल नेपालीले गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि विद्युत् विस्तारको काम तीव्र रूपमा भइरहेको भए पनि पोल जडानको गुणस्तर कमजोर देखिएको गुनासो गरे।

उनका अनुसार हाल उक्त लाइनमा तारसमेत तानिसकिएको छ तर पोलको आधार मजबुत नहुँदा हावाहुरी तथा वर्षायाममा पोल ढल्ने जोखिम रहेको स्थानीयको चिन्ता छ।
स्थानीयवासीहरूले निर्माण कार्यको अनुगमन गरी गुणस्तरीय रूपमा काम सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले तत्काल प्राविधिक मापदण्डअनुसार पोल व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

यता कर्णाली प्रदेश परियोजना प्रबन्धक दिपेन्द्र शाहीले काम ढिलो नहोस् भन्ने उद्देश्यले प्रारम्भिक चरणमा माटो प्रयोग गरेर पोल गाडिएको बताउनुभयो। उहाँका अनुसार विद्युत् सेवा सञ्चालनमा आएपछि प्रत्येक पोलमा सिमेन्ट हालेर पीसीसी (PCC) गरिनेछ।
विद्युत् कार्यालय जुम्लाका सुपरभाइजर हरिस थापाले पनि हाल तार तानेर बत्ती बाल्ने काम भइरहेको र त्यसपछि मात्रै पोलहरूमा पीसीसी गरिने जानकारी दिए। उनका अनुसार उक्त विद्युत् विस्तार आयोजनाको ठेक्का वाइवा कम्पनी लिमिटेडले लिएको हो।
















