बुधबार, २३ बैशाख, २०८३

संयोगले बाँचेका अनुराधा र गोरबहादुर

उनले विकट क्षेत्र र जुम्लाका बिरामीप्रति विशेष चासो दिई सेवा गर्दै आइरहेका छन्। संगयोले बाँचेका अनुराधारका आफन्तहरु र गोर बहादुर डाक्टरमा भगवान्को रुप देखिरहेका छन्। आइसीयूमा रहेका गोरबहादुरले भने, ‘भगवान् यस्तै रुपमा देखिने रहेछन्।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात वर्षीया बालिका अनुराधा नेपाली र पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहोराको जटिल न्युरोसर्जरी सफलतापूर्वक सम्पन्न गरिएको छ।

चन्दननाथ नगरपालिका–३ निवासी राजन नेपालीकी सात वर्षीया छोरी अनुराधा भर्‍याङ चढ्ने क्रममा करिब एक तला जति उचाइबाट चिप्लिएर लडेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेपछि केही समय होस गुमाएकी उनलाई आमाले तुरुन्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकी थिइन्।

उक्त समयमा इमर्जेन्सीमा अन्य दुर्घटनाका बिरामीहरूको चाप अत्यधिक थियो। सोही दिन तातोपानी क्षेत्रमा मोटरसाइकल र अटो–रिक्सा ठोक्किँदा करिब सात जना घाइते उपचारका लागि आएका थिए, जसमा केही गम्भीर अवस्थाका बिरामी पनि थिए।

प्राथमिक जाँचपछि चिकित्सकहरूले तुरुन्तै टाउकोको सिटी स्क्यान गर्न सुझाव दिएका थिए। सिटी स्क्यानमा टाउकोभित्र रगत जमेको देखिएपछि अभिभावकलाई अवस्थाबारे जानकारी गराउँदै निगरानीमा राख्न सल्लाह दिइयो। सुरुमा घर लैजाने तयारी भए पनि चिकित्सकको सुझावअनुसार अनुराधालाई अस्पतालमै भर्ना गरिएको थियो।

भोलिपल्ट न्युरोसर्जन डा. नीलम खड्का प्रतिष्ठानमा आइपुगे। केस पुनः मूल्यांकन गरियो। उनको सल्लाहअनुसार २४ देखि ४८ घण्टा भित्र पुनः सिटी स्क्यान गर्दा टाउकोभित्रको रगत चार गुणासम्म बढेको देखियो। ‘अनुराधालाई बान्ता हुने र टाउको दुख्ने समस्या देखिएकाले शल्यक्रिया गर्ने निर्णय गरिएको थियो,’ डा. खड्काले भने।

डा. खड्काको नेतृत्वमा सम्पन्न उक्त शल्यक्रियामा सर्जरी टिमका डा. निर्मल थापा, प्रोफेसर डा. नारदप्रसाद थापालिया, एसोसिएट प्रोफेसर डा. मुकेश जयस्वर, लेक्चरर डा. सुदन सुबेदी तथा एमडी अध्ययनरत डाक्टरहरू डा. दीपक चौधरी र डा. सुनिता राना सहभागी थिए।

त्यसैगरी, इमर्जेन्सीका रमेश काफ्ले, एनेस्थेसिया टिम (डा. रबिन खापुङसहित) को सक्रिय सहयोगले शल्यक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

यसैबीच, पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोरा वैशाख १८ गते घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई बेहोस अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उनलाई तत्काल न्युरोसर्जरी आवश्यक देखिएको थियो।

प्रतिष्ठानमा न्युरोसर्जन र आवश्यक उपकरणको अभावका कारण उनलाई काठमाडौं रिफर गर्ने तयारी गरिएको थियो। तर मौसम प्रतिकूलता र आर्थिक अभावका कारण बिरामीलाई बाहिर लैजान नसकिएको अवस्थामा, गुठिचौर गाउँपालिकामा ध्यान शिविरका लागि पुगेका डा. खड्काको उपस्थितिले आशाको किरण ल्यायो।

बिरामीका आफन्तको आग्रहपछि डा. खड्का उपचारमा संलग्न हुन तयार भए। पर्याप्त उपकरण नहुँदा चुनौती भए पनि विगतका स्वास्थ्य शिविरबाट बाँकी रहेका सामग्री प्रयोग गर्दै करिब सात घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो।

हाल अनुराधा र गोरबहादुर बोहोरा दुवै आईसीयूमा उपचाररत छन्। उनीहरूलाई भेन्टिलेटरबाट हटाइसकिएको छ र बोल्न सक्ने अवस्थामा पुगेका छन्। चिकित्सकका अनुसार बालिकाको होस आएर राम्रो सुधार छ र आमासँग भेटघाट पनि गराइएको छ भने गोरबहादुर पनि सुधारोन्मुख अवस्थामा छन्।

यस सफल शल्यक्रियाले विकट क्षेत्रमा पनि जटिल उपचार सम्भव भएको सन्देश दिएको छ। यद्यपि, अझै धेरै बिरामीहरूलाई नेपालगञ्ज वा अन्य सहरमा रिफर गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरू बताउँछन्।

‘हवाई सेवा अनियमित हुने, टिकट सहजै नपाइने तथा हेलिकप्टर सेवा महँगो हुँदाहुँदै पनि हामीले छोरीको सहजै जुम्लामै उपचार गर्न पायौं। नत्र हाम्रो क्षमताले काठमाडौं जान सम्भव थिएन। छोरी संयोगले बाँची,’ अनुराधाका बुबा राजनले कुटीरोलाई बताए।

अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता संस्थालाई थप सुदृढ बनाउँदै आवश्यक पूर्वाधार, विशेषज्ञ सेवा र उपकरण विस्तार गर्न सके स्थानीय स्तरमै गुणस्तरीय उपचार उपलब्ध गराउन सकिने डा. निर्मल थापाको भनाइ छ।

उनले विगतदेखि नै जुम्लाका जटिल केसहरूमा परामर्श दिँदै आएका छन्। काठमाडौँमा रहेर पनि उनले निरन्तर रूपमा यहाँका चिकित्सकहरूसँग समन्वय गर्दै धेरै बिरामीलाई स्थानीयस्तरमै उपचार गर्न सहयोग पुर्‍याउँदै आएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार