जुम्लामा आजदेखि दुईदिने भिटामिन ए तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु भएको छ। २०८३ साल बैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियानअन्तर्गत ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई लक्षित गरिएको छ।
अभियान अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (एल्बेन्डाजोल) निःशुल्क रूपमा खुवाइने व्यवस्था गरिएको छ। सेवा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत जिल्लाभरि सञ्चालन भइरहेको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकको पायक पर्ने स्थानमा लगी अनिवार्य रूपमा औषधि खुवाउन आग्रह गरेका छन्।
उनका अनुसार यस अभियानले बालबालिकाको पोषण सुधार, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
जनस्वास्थ्य कार्यालयले जिल्लावासी सम्पूर्ण अभिभावक, सरोकारवाला निकाय तथा समुदायलाई अभियानमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
















