मंगलवार, १२ फाल्गुन, २०८२

सावित्रा भण्डारीको अवस्थाबारे चर्चित अनुहारले के भने?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको गरेकी छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट सहयोग नपाएको दुखेसो पोख्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै आफ्नो उपचारको लागि सहयोगको अपिल गरेकी हुन् ।

साम्बाले नेपाललाई फुटबल खेलमा जिताउन मैदानमा धेरैपटक लडेकी साहसिक खेलाडी हुन्। उनको उपचारको लागि सरकार र एन्फाबाट पहल हुन नसक्दा उनी सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गर्न बाध्य भएकी हुन्।

उनले सामाजिक सञ्जालमा आर्थिक सहयोगको लागि अपिल गरेपछि सामाजिक सञ्जालभरि उनको सहयोगको लागि नेपाली सामाजिक प्रयोगकर्ता तथा साम्बाका समर्थकहरूले गुहार गरिएरहेका छन्। उनको सहयोगको लागि थुप्रै चर्चित अनुहारले समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरिरहेका छन्।

कलाकार इन्द्रकला राईले हाम्रो राष्ट्रिय गौरव साम्बा दिदी सावित्रा भण्डारीलाई थोरै सहयोग र छिट्टै निको हुनुहोस् भनेर सामाजिक सञ्जालमा लेखेकी छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.मंगल रावलले यो खबर सुनेर अत्यन्तै दुःख लागेको र यस्तो उपचार नेपालमा हुँदैन भन्ने भाष्य गलत भएको बताएका छन्।

साथै उनले यस्तो उपचार विदेश (न्युजिल्यान्ड) जत्तिकै, अझ राम्रो स्तरमा समेत, नेपालमै कम्तीमा ३०–४० जना अब्बल चिकित्सकहरूले गरिरहेका उनले बताए।

‘बहिनी, नेपाल आउनुहोस्। करोडौँ खर्च गर्नु पर्दैन, केही लाख २/५ लाख मै शल्यक्रिया सम्पन्न हुन सक्छ’, उनले लेखेका छन्।

जुम्लाका चर्चित कलाकार सुरज पण्डितले पनि सामाजिक सञ्जालमा लेखेका छन्। नेपाल सरकारले उनलाई सहयोग गर्ला वा नगरेको बिषयमा बोल्नुपर्छ। त्यो अलग कुरा हो। यसर्थमा एक जिम्मेवार नागरिकको हैसियतले म आफ्नो क्षमता अनुसारको सहयोग गर्ने छु। साथै देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा पनि सक्दो सहयोगको अपिल गर्दछु।

अर्की चर्चित कलाकार रचना रिमालले पनि सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्। हाम्रो शान ‘साम्बा’ लाई जोगाउने र खेल मैदानमा फेरि फर्काउने जिम्मेवारी हामि माझ आएको छ । विश्वभरका नेपाली र खेल समर्थकहरुलाई यो महाअभियानमा यथाशक्य सहयोगको लागि आग्रह गर्दछु।

चर्चित नेपाली भ्लगर सुरक्षा केसीले सिंगो देशको गर्वको पात्र, हाम्रो खुशी र आशाको प्रतीक साम्बा भएको बताएकी छन्।

‘आज उहाँ चोटका कारण कठिन समयबाट गुज्रिरहनु भएको छ। मैदानमा उहाँको जोश, समर्पण र देशप्रतिको प्रेमले हामीलाई सधैं एक बनायो, गर्व गरायो। यस्तो घडीमा उहाँलाई हाम्रो एकता, साथ र समर्थनको खाँचो छ’ ,उनले लेखेकी छन्।

साम्बाले आफ्नो उपचारको लागि सामाजिक सञ्जालमा के अपिल गरेकी थिइन?

‘म पछिल्लो ७ हप्तादेखि घुँडाको गम्भीर चोट (एसीएल र एमसिएल) का कारण मैदानबाहिर छु। सुरुमा एन्फाले उपचारको जिम्मा लिने बताएपछि मैले क्लबले तय गरेको शल्यक्रियाको प्रक्रिया रोकेकी थिएँ। तर, समयमै प्रक्रिया अघि नबढ्दा र अहिले आएर एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने तथा ५ लाख मात्र दिने बताएपछि म अलपत्र परेकी छु। अभिभावक संस्था नै पछि हटेपछि म निकै निराश भएकी छु।

म अहिले न्युजिल्यान्डमा छु र क्लबले स्थानीय स्तरमा उपचार गर्ने भनेको छ, तर मेरो चोटको प्रकृति हेर्दा मलाई कतारको अस्पेटारमै उच्च स्तरको उपचार आवश्यक छ। यसका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ। क्लबबाट प्राप्त हुने बीमाको रकमले मात्र यो सम्भव छैन।

मैले सधैं देशको नाम राख्न शतप्रतिशत दिएकी छु, तर आज क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्नुपर्दा दुःख लाग्छ। मेरो लागि यो करियरकै सबैभन्दा कठिन लडाइँ हो। त्यसैले, म आज सम्पूर्ण समर्थकहरूसँग सहयोगको अपिल गर्दछु। म शारीरिक र मानसिक रूपमा थाकेकी छु, तर हारेकी छैन। मलाई विश्वास छ, तपाईंहरूको साथले म पुनः नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।’

उनको यो अपिल सामाजिक सञ्जाल फैलिएपछि उनलाई सहयोग गर्ने आश्वासन र केहीले उनको बैंक अकाउन्टमा पैसा समेत पठाइरहेका छन्। यसैबीचमा काठमाडौ मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै साम्बाको उपचार नि:शुल्क गर्ने बताएको छ।

नेपाल मेडिकल कलेज को विज्ञप्तिमा साम्बा बारे के भनिएको छ?

नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एवं नेपालको राष्ट्रिय गहनाको रूपमा परिचीत सावित्रा भण्डारी साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण मैदान बाहिर रहेकी छिन् । यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुबैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण साम्बाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेकोप्रति काठमाडौं मेडिकल कलेजको गम्भीर ध्यानाकर्षण भएको छ ।

साम्बाले सामाजिक सञ्जाल मार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै उपचारका लागि सहयोगको अपिल गरेको सन्दर्भमा राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।

उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै राष्ट्रकी गहनाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार