अब समय बदलिएको छ। जनता राजनीतिक रूपमा धेरै सचेत भएका छन्। भाषणको चमकभन्दा परिणामको प्रभाव हेर्ने बानी विस्तारै बढ्दै गएको छ।
नेपालमा हरेक चुनाव नजिकिँदै जाँदा नेताहरूको भाषणले आकाश छुन थाल्छ। भाषणमा विकासका एजेण्डा, रोजगारी, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यको सुधारदेखि लिएर समृद्ध नेपाल निर्माणको वाचा गर्जन्छ।
तर चुनाव सकिनासाथ ती भाषणहरू वायुमण्डलमै हराउँछन्। जनताले वर्षौंदेखि बुझेको सत्य यही हो, भाषण ठूलो हुन्छ, तर परिणाम सानो वा शून्य हुन्छ। यही दूरी, यही असमानता, आजको नेपालको मुख्य राजनीतिक विडम्बना हो।
जनताले देख्ने सपना कहिल्यै अव्यावहारिक हुँदैन। उनीहरूको चाहना सादा र जीवनसँग जोडिएको हुन्छ। कसैलाई खेतमा सिँचाइ सुविधा चाहिन्छ, कसैलाई छोराछोरीले गुणस्तरीय विद्यालयमा पढून् भन्ने अपेक्षा हुन्छ, कसैलाई बाटो, बिजुली, खानेपानी जस्ता आधारभूत सुविधा उपलब्ध होस् भन्ने माग हुन्छ।
यी स–साना तर आधारभूत इच्छा नै जनताको वास्तविक सपना हुन्। यिनै सपनाले गाउँ चल्छ, घर चल्छ, र अन्ततः देश पनि चल्छ। तर दुर्भाग्यवश, नेताहरूले यिनै महत्वपूर्ण सपना सुन्न पनि चाहँदैनन्।
चुनावी मञ्चमा उभिँदा नेताहरू जे–जे भन्छन्, त्यसले जनतालाई केही क्षणका लागि आशा जगाउँछ। गाउँको कच्ची बाटो देखेपछि उनीहरू भन्छन्, ‘विजयपछि पहिलो काम यही बाटो बनाउँछु।’
खानेपानी अभाव सुनेर भन्छन्, ‘गाउँमै खानेपानी योजना ल्याइदिन्छु।’ युवाहरू बिदेसिन बाध्य भएको सुन्दा भन्छन्, ‘गाउँमै रोजगारी सिर्जना गर्छु।’ नेता युवा भएकै होऊन् वा अनुभवी, चुनावी भाषणमा वाचा र आश्वासनको केही कमी हुँदैन।
तर चुनाव जितेपछि चित्र उल्टिन्छ। त्यही नेता राजधानीका गगनचुम्बी भवन र सिंहदरबारका चर्का ढोकामुनि सीमित हुन्छ। गाउँको हिलो, धुलो, जनताको पीडा र आवश्यकताहरू उनको स्मरणबाट हराएर जान्छन्।
जनताको ढोका ढक्ढक्याउँदै मत माग्ने नेता पुनः पाँच वर्षसम्म त्यही ढोका कहिल्यै कुन्नछन्। यही व्यवहारले जनतालाई सोच्न बाध्य बनाएको छ—नेताको भाषण केवल सत्तासम्म पुग्ने भरपर्दो सिँढी मात्र रहेछ।
हाम्रो तीन दशकभन्दा लामो लोकतान्त्रिक यात्रामा देश बनाउने, भ्रष्टाचार अन्त्य गर्ने, बेरोजगारी घटाउने, विद्यालय सुधार गर्ने, अस्पताल सुदृढ बनाउने वाचा बारम्बार सुनियो। तर वास्तविकता के हो?
बेरोजगारी त्यही, युवा जनशक्ति विदेशिन बाध्य, किसानले समयमै मल–बिउ पाउँदैनन्, विद्यालयमा शिक्षक अभाव छ, अस्पतालमा औषधि र विशेषज्ञ चिकित्सक हुँदैनन्। विकास योजना कागजमै सीमित छन्, भ्रष्टाचार वर्षेनी बढ्दो छ। जनताको सपना लगातार ओझेल पारिन्छ, पूरा कम हुन्छ, निराशा धेरै बढ्छ।
नेताको भाषण र जनताको वास्तविकता किन मिल्दैन? यसको मुख्य कारणहरू पनि स्पष्ट छन्।
पहिलो, धेरै नेताहरू चुनाव जित्ने रणनीतिभन्दा पर सोच्दैनन्। दोस्रो, शहरमा बस्ने नेताले गाउँको पीडा न त महसुस गर्न सक्छन्, न त बुझ्न। तेस्रो, पद, प्रतिष्ठा र पार्टी स्वार्थ उनीहरूको प्राथमिकता बनिसक्छ। चौथो, वाचा पूरा नगरे पनि जनताले सोध्ने प्रभावकारी संयन्त्र छैन; जवाफदेहीता कमजोर छ।
यद्यपि, जनताको सपना केवल व्यक्तिगत अपेक्षा होइन; ती देशको भविष्यसँग प्रत्यक्ष सम्बन्धित आकांक्षा हुन्। जब गाउँमा राम्रो विद्यालय चल्छ, अस्पतालले गुणस्तरीय उपचार दिन्छ, युवाले आफ्नै गाउँमा काम पाउँछन्, किसानले आफ्ना बालीमा नाफा कमाउँछन्, त्यही बेला देश समृद्ध बन्न थाल्छ।
विकासका यी आधारभूत संरचनाहरू नै समृद्धिको जग हुन्। तर नेताहरूले यस्ता आधारभूत कामभन्दा ठूलो–ठूलो योजना र चम्किने भाषणलाई प्राथमिकता दिन्छन्।
जसले गर्दा कागजमा मात्र विकासको हावा चलेको जस्तो देखिन्छ, तर जनतालाई महसुस हुँदैन। कागजी उपलब्धिले देश बनिँदैन; व्यवहारले मात्रै चल्छ।
अब समय बदलिएको छ। जनता राजनीतिक रूपमा धेरै सचेत भएका छन्। भाषणको चमकभन्दा परिणामको प्रभाव हेर्ने बानी विस्तारै बढ्दै गएको छ। जनताले जब प्रश्न गर्न सिक्छन्, जवाफ माग्न सिक्छन्, तब मात्र नेताहरू वाचा पूरा गर्न बाध्य हुन्छन्।
साँचो नेता त्यो हो, जसले जनताको सादा सपना पूरा गर्न सहयोग गर्छ। भाषणले होइन, कर्मले देश बदलिन्छ। हामी सबैले यही चेतना र संस्कार विकास गर्नुपर्छ।
















