सोमबार, २४ कार्तिक, २०८२

तिहार नजिकिएसँगै व्यापारीको ठगी र खान अयोग्य सामानको बिगबिगी, कहाँ लुके गृहमन्त्री ?

कतिपय पसलमा वर्षौँदेखि बाँकी भएको भाइमसला पनि बेच्न राखिएको छ । तिहार लागेसँगै मिठाई पसलहरूलाई पनि व्यस्तता हुन्छ । तिहारमा बेच्नका लागि पसलेहरूले धेरै अगाडि नै मिठाई बनाउन थालेका छन् । बाहिर मिठाई पसल छ भने भित्र उनीहरूको बनाउने स्थल हुन्छ

तिहार नजिकिँदै छ । भाइटिका आउन अब दुई सातापनि बाँकी छैन । त्योसँगै बजारमा सामान किन्नेहरूको चहलपहल छ । भाइमसला, ओखर, नरिवललगायत तिहारलाई नभई नहुने सामानहरूले बजार भरिएको छ । के ती सामान यसैवर्ष आयात गरिएको हो ? होइन । ठूल्ठूला व्यापारीले पहिले नै सामान आयात गरेर राखेका हुन्छन् ।

ठूल्ठूला व्यापारीले सामान होलसेललाई बेच्छन् । त्यहीँ सामान होलसेलवालाले खुद्रा व्यापारीलाई बेच्ने हो । एकाध वर्षअघिदेखिको सामान बजारमा बिक्रीका लागि राखिएको छ । वर्षौंअगाडि ल्याएर थन्काएको सामान बोराबाट निकाल्ने अनि साना पोका बनाएर बेच्ने ।

त्यस्ता सामानहरू बजारमा छ्याप्छ्याप्ती भेटिन्छ । साना प्याकेटमा प्याक गरेर खान अयोग्य सामान बेच्न राखिएको छ । भाइ मसलामा भएका अधिकांश सामानहरू बिग्रिएका हुन्छन् । ओखरमा गुदी नै हुँदैन । अन्य ड्राइफ्रुट पनि सुक्दा, कालो भइसकेका हुन्छन् । पहिले सस्तोमा ल्याएको सामान व्यापारीहरूले महँगोमा बेचिरहेका छन् ।

कतिपय पसलमा वर्षौँदेखि बाँकी भएको भाइमसला पनि बेच्न राखिएको छ । तिहार लागेसँगै मिठाई पसलहरूलाई पनि व्यस्तता हुन्छ । तिहारमा बेच्नका लागि पसलेहरूले धेरै अगाडि नै मिठाई बनाउन थालेका छन् । बाहिर मिठाई पसल छ भने भित्र उनीहरूको बनाउने स्थल हुन्छ ।

मिठाई बनाउने ठाउँ अत्याधिक फोहोर, दुर्गन्धित र मिठाई बनाउने व्यक्ति एकदमै फोहोरी हुन्छन् । मैलो गन्जी लगाएर चुरोट खाँदै मिठाई बनाइएको अधिकांश मिठाई पसलहरूमा देखिन्छ । उहिलेदेखि बनाएर राखिएको मिठाई उपभोक्ताले तिहारमा खरिद गर्छन् । न उनीहरूले मिठाई कहिले बनेको हो थाहा हुन्छ न कहाँ बनाएको ?

खुरुखुरु पैसा तिर्छन्, लैजान्छन् । जसले स्वास्थ्यमाथि हानि पुर्याउने जोखिम हुन्छ । मिठाई पसलेले चाडबाडको मौका छोपेर पैसा पनि बढी लिन्छन् । तिहारमा मांसजन्य पदार्थको उत्तिकै उपभोग हुन्छ । तर, त्यतिबेलै ठगीधन्दा चल्छ । व्यापारीहरूले खसीको मासु भनेर बाख्राको मासु बेच्छन् ।

राँगाको मासु भन्दै भैंसीको मासु बेच्छन् । भाउ भने बाख्राको खसीसरह र भैंसीको राँगासरह लिइन्छ । कुखुराको हकमा त सबैलाई थाहा नै छ । फर्ममा मरेका कुखुराहरू पनि काटेर बेचिन्छन् । दूध र दही तिहारमा धेरै नै उपभोग हुन्छ । व्यापारीहरूले दुई लिटर दूधमा त्यति नै पानी हाल्छन् र पाउडर मिसाउँछन् ।

केमिकल नहालिकन उब्जाइएको फलफूल र तरकारी बजारमा भेटिँदैन । तिहारमा बिक्रीका लागि छिटोछिटो पकाउन र ठूलो बनाउन फलफूलमा केमिकल हालिन्छ । घरेलु मदिरा खानेयोग्य छैन । रासायनिक मल, राँगाभैंसीको हड्डीलगायतका खान नहुने सामानहरू घरेलु मदिरामा प्रयोग गरिन्छ ।

यता, पसल वा सुपरमार्केटहरूमा बेच्न राखिएको रक्सीहरूमा राजश्व अनुसन्धान विभागले टाँसेको स्टिकर भेटिन्न । व्यापारीहरूले चाडपर्वको मौका छोपेर उपभोक्ता ठगीरहेका छन् । तर, सरोकारवाला निकाय आँखामा पट्टी बाँधेर बसेका छन् । यता, उपभोक्ताले पनि आफ्नो हकअधिकार प्रयोग गर्न जानेनन् ।

व्यापारीले आफूलाई ठग्यो कि ? कम तौलको सामान दियो कि ? खान अयोग्य सामान बेच्यो कि ? तोकिएको रेटभन्दा बढीमा सामान बेच्यो कि ? उपभोक्ताले सोच्दैनन् । सामान हालिदिनु भन्छन्, पैसा तिर्छन्, हिँड्छन् । उपभोक्ता नै यस्तो हुँदा व्यापारीको ठग्ने मनोबल बढ्नु स्वाभाविकै हो ।

सरकार भन्छ, सामान खरिद गरेपछि बिल लिऔं । तर, व्यापारी बिल दिँदैनन् भने उपभोक्ताले पनि माग्दैनन् । बिल नभएपछि सामान बिग्रिएको भएतापनि उजुरी गर्न मिल्दैन । व्यापारीले उपभोक्ताले तिरेको पैसाको १० प्रतिशत राज्यलाई राजश्व तिर्नुपर्छ । उपभोक्ताले भ्याट बिल लिए भने राज्यले राजश्व पाउँछ ।

तर, अधिकांश व्यापारीले भ्याट बिल दिँदैनन् । जसका कारण राज्य राजश्वबाट वञ्चित भइरहेको छ । व्यापारीले एकातिर राज्य ठगिरहेका छन् भने अर्कोतिर जनता । फेरि यसमा राज्य र जनता नै मतियार छन् । राज्य अनुगमन गर्दैन भने उपभोक्ता ठगिएपनि बोल्दैनन् । जनताहरू नेताले देश लुटे भनेर थाक्दैनन् ।

तर, आफू लुटिएको जनता देख्दैनन् । जनता शिक्षित भए तर उनीहरूमा चेतना आएन । व्यापारीहरू खुलेआम ठगिरहँदा उपभोक्ता चुपचाप हिँड्छन् । र, तीन तहकै सरकारले बजार अनुगमन गर्दैन । अनुगमनका लागि स्थानीय पालिका छ । संघ र प्रदेशअन्तर्गत विभिन्न निकाय छन् ।

तर, कुनै निकायले बजार अनुगमन गरेको पाइँदैन । सरकारले दशैंमा बजार अनुगमन गर्‍यो । तिहारमा पनि स्थिति त्यस्तै छ । यहाँ जुनसुकै सरकार बने पनि व्यापारीलाई छुनसमेत नसक्ने रहेछन् भन्ने देखिसकिएको छ । व्यापारीहरूका लागि चाडबाड कमाउने मौका हो । वर्षभरको आम्दानी व्यापारीहरूले चाडपर्वमा गर्छन् ।

व्यापारीहरू चिप्लो घसेर हुन्छ कि नेताहरूको विरुद्ध बोलेर उपभोक्ता ठग्छन् । सरकारले कुनै पनि सामानको मूल्य निर्धारण गरेको छैन । व्यापारीलाई सामानको मूल्य तोक्ने अधिकार दिएको छ । व्यापारीलाई जति मनलाग्यो त्यति नै सामानको रेट तोक्छन् । र, उपभोक्ता त्यतिमै सामान खरिद गरेर प्रयोग गर्न बाध्य छन् ।

मान्छे हेरेर व्यापारीले सामान बेच्छन् । सोझो छ भने अरूलाई दोब्बर लिनेमा तेब्बर लिन्छन् । व्यापारीहरूले व्यापारको नाममा ठग्ने र लुट्ने काम मात्र गरेका छन् । उनीहरूको दाउ नै कसरी मुर्गा बनाउने भन्ने हुन्छ । सल्लाघारीको तीनकुनेस्थित ट्रष्टको जग्गामा यत्तिकै लंगुरगुच्छा खेलिरहेको देखिन्छ । समूह समूह बनाएर लगुरगुच्छा खेलाइन्छ ।

सिर्जनानगरस्थित यातायात कार्यालयअगाडि रहेको पिपलको बोटमुनि पनि लगुरगुच्छा खेलिरहेको देखिन्छ । सल्लाघारीमा प्रहरीले बिट छ । तर, प्रहरीहरू देखेर पनि अनदेखा गरिदिन्छन् । यता, जिल्ला प्रशासन कार्यालय पनि छ । सिडियोले यस्ता विषयमा ध्यान दिएको पाइँदैन ।

व्यापारीहरूले कालोबजारी गरेका छन् कि उपभोक्ता ठगेका छन् ? सिडियोलाई थाहा छैन । सिडियोको काम सरकारी गाडी चढ्ने, कार्यालयमा हाजिर हुने र गफ ठोकेर बस्ने मात्र भएको छ । गृह मन्त्रालयले बजार अनुगमन गर्न सिडियोहरूलाई निर्देशन दिँदैन । उद्योग मन्त्रालयको हालत पनि उस्तै छ ।

ओमप्रकाश अर्याल गृहमन्त्री बनेको पनि महिनादिन भयो । कालोबजारी गर्नेहरूको सामुन्ने उनी निरीह छन् । उनी आएपछि नेपालीहरूको महान चाड दशैं आयो । तर, विगतभन्दा केहि परिवर्तन देखिएन । व्यापारीहरूले ठगे, सरकार टुलुटुलु हेरिरह्यो । अहिले तिहार छ । तिहारमा पनि बजार अनुगमन हुने संकेत देखिँदैन ।

नेपालीमा एउटा उखान छ, जुन जोगी आए पनि कानै चिरेको । त्यस्तै अवस्था छ सरकारको । ठग्नेहरूलाई सरकारले नै संरक्षण गरिरहेको छ । नत्र उपभोक्ता ठगिरहँदा सरकार के हेरेर बसेको छ ? राजश्व छल्ने र उपभोक्ता लुट्नेहरूलाई सरकारले कारबाही गर्नुपर्छ कि पर्दैन ? वर्तमान सरकारबाट पनि कुनै परिवर्तन हुने संकेत देखिँदैन ।

कालोबजारी गर्ने, राजश्व छल्ने र सिण्डिकेट लगाउनेहरू झन् शक्तिशाली हुँदै गएका छन् । सरकार उनीहरूको अगाडि निरीह छ । जनताले देशमा सरकार छ भन्नुपर्ने अवस्था छ । किनकि, जनताले सरकार भएको महसुस गर्न सकेका छैनन् । तिहारसँगै देउसी भैलो आउँदैछ ।

गृहमन्त्री अर्यालले देउसी भैलो र लगुरगुच्छालाई कडाइ नगर्ने हो भने अर्को ठूलो दुर्घटना हुन्छ । यसमा सरकारको ध्यान जानुपर्छ ।

अनुसा थापा
भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार