शुक्रबार, २१ कार्तिक, २०८२

सत्तामा हुँदा मौन, विपक्षमा पुगेपछि देश विकासको ठूल्ठूला भाषण!

जहाँ मान्छे हुन्छ, त्यही विकास हुन्छ। विडम्बना, यति पनि सोच नभएकाले देशको मुहार फेछु भनेर जनतालाई भ्रम बाँड्दै हिँडेका छन्। आफूले पाँच वर्ष सरकार चलाउन पाएमा यो–त्यो गर्छु भन्ने प्रचण्डले तीन पटक प्रधानमन्त्री हुँदा के गरे? माओवादीको सरकार हुँदा देशमा के प्रगति भयो?

पटकपटक मुलुकको प्रधानमन्त्री बन्नेहरु यहाँ धेरै छन्। तर, ‘जुन जोगी आएपनि कानै चिरेको’ अवस्था छ। न पाँच पटक प्रधानमन्त्री भएकाले देशको मुहार फेर्न सके, न तीन पटक। काम केही गर्न नसकेपनि ठूल्ठूला भाषण गर्ने क्रम भने चलिरहेकै छन्। जसको एउटा जल्दोबल्दो उदाहरण हो–माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति।

उनी तीनपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन्। उनको कार्यक्षमता जनताले देखिसकेका छन्। आफैंलाई हाँसोको पात्र बनाउँदै उनले केही दिनअगो भने, ‘माओवादीसँग मात्र देशको मुहार फेर्ने खाका छ। माओवादीले भविष्यमा मौका पायो भने देशको मुहार फेर्छ।’ यतिखेर माओवादी विपक्षीमा छ। यसअघि माओवादी सत्तापक्षमा थियो। तर, के प्रगति गर्यो?

देशको मुहार फेर्ने, सामान्ती शोषकीहरुको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेप रोक्ने, जातभातको नाममा हुने विभेद बन्द गर्ने, जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी दिने, गाउँदेखि शहरसम्म विकास गर्ने भनेर माओवादीले २०५२ फागुन १ गते हतियार उठायो। १० वर्ष लामो जनयुद्ध भयो। १७ हजार शहिद भए, हजारौँ अंगभंग बने। हजारौँको कुनै अतापता छैन। उनीहरु अहिले पनि बेपत्ता नै छन्।

माओवादी शान्ति वार्तामा आएको पनि डेढ दशक भइसक्यो। तर, खोइ त देशको मुहार फेरिएको छ? झन् झन् देश र जनता शिथिल बन्दै गएका छन्। माओवादी जनयुद्धपछि गाउँ खाली भयो, शहर भरियो। अहिले त शहर पनि रित्तिँदै गएको छ। शहर जोडेर कमाउन विदेश जानेको संख्या बाक्लो छ। दिनहुँ हजारौँले आफ्नो जन्मभूमि छोड्छन्। अब भनौं–हजारौँको ज्यान लिएर भएको जनयुद्धको के औचित्य रह्यो?

माओवादी जनयुद्ध अगाडिसम्म जनता आफ्नै गाउँघरमा थिए। आफ्नै खेतबारी कमाउँथे, खान्थे। खेतहरु सबै हरियो थिए। तर, अहिले गाउँ उजाड बनेको छ। घरहरुमा ताल्चा लागेको छ। मान्छे बस्ने घरलाई बाँदरहरूले आफ्नो बासस्थान बनाएका छन्। खोलानालाको प्रयोग गर्ने कोही छैनन्। गाउँका विद्यालयहरू खण्डहर बन्दै गएको छ। पढ्नलाई विद्यार्थी छैनन्। गाउँ पुरै सुनसान छ।

हिमाल, पहाड, तराई विस्तारै खाली बन्दै गएको छ। काठमाडौं उपत्यका र सदरमुकाममा फाट्टफुट्ट मान्छे देखिन्छन्। सरकारले गाउँगाउँमा पनि बाटोघाटोको निर्माण गरेको छ। बिजुली पुगेको छ। विडम्बना, प्रयोग गर्ने जनता छैनन्। साँच्नै नै देशको मुहार फेर्ने हो भने पहिले गाउँ फर्क अभियान चलाऔं। जनतालाई आ–आफ्नो जिल्ला फर्काऔं। किनकि जनतालाई आफ्नै खेतमा परिश्रम गरेर खाने बानीको विकास गराउन आवश्यक भइसकेको छ। तर, प्रचण्डले मौका पाउँदा पनि जनतालाई गाउँ फर्काउने इच्छा देखाएनन्।

हुन त उनका पार्टीका नेताहरू समेत गाउँमा बस्दैनन्। सबै यतै घर ठड्याएर बसिरहेका छन्। चुनावको बेला गाउँ जान्छन्, जित्छन् अनि यहीँ बस्छन्। उनीहरुलाई जनताको दुःखकष्टबारे के थाहा? जनता कस्तो समस्यामा छन्? उनीहरुलाई जानकारी नै हुँदैन। अनि यस्ता पनि जनप्रतिनिधि। आफ्नो कारणले जनता लखेटिए, उनीहरुलाई गाउँ फर्काउनुपर्छ भन्ने सोच प्रचण्डमा कहिल्यै आएन। जबसम्म जनता आआफ्नो जिल्ला फर्कँदैनन्, तत्तसम्म विकास सम्भव छैन।

जहाँ मान्छे हुन्छ, त्यही विकास हुन्छ। विडम्बना, यति पनि सोच नभएकाले देशको मुहार फेछु भनेर जनतालाई भ्रम बाँड्दै हिँडेका छन्। आफूले पाँच वर्ष सरकार चलाउन पाएमा यो–त्यो गर्छु भन्ने प्रचण्डले तीन पटक प्रधानमन्त्री हुँदा के गरे? माओवादीको सरकार हुँदा देशमा के प्रगति भयो? जनताले मौका दिइरहे, तर प्रगति देखिएन। अनि अझै जनतालाई भ्रमित बनाउन खोज्ने? नेतृत्वहरू सबै स्वार्थी छन्।

जसरी हुन्छ, आफू र आफ्ना सन्तान पोस्ने क्रम जारी छ। पहिले स्वार्थ छोडौं अनि देशको कुरा गरौं। स्वार्थ राखेर देश विकास हुन सक्दैन। पदमा जाने, आफ्नै आफन्तका निम्ती काम गर्ने परिपाटी प्रचण्ड र माओवादीका नेताहरूमा पनि व्यापक देखियो। जसले माओवादीको १० वर्षे जनयुद्धमाथि नै प्रश्न उठाएको छ। माओवादीले देश र जनताका लागि होइन, आफ्नो लागि जनयुद्ध गरेको भन्ने मानसिकता जनतामा विकास हुँदै गएको छ।

प्रचण्डले २०६४ सालमा दुई क्षेत्रबाट चुनाव लडे। दुवै क्षेत्रबाट उनले चुनाव जिते। २०७० सालको चुनावमा उनी धनुषा पुगे। २०७४ सालको निर्वाचनमा चितवन पुगेका उनले २०७९ सालको निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिएका थिए। जहाँ जहाँबाट लडेपनि जनताले मतदान गरेर उनलाई जिताए। तर, उनलाई त्यो ठाउँको जनताको समस्याबारे थाहा छैन।

आफ्नै निर्वाचन क्षेत्रमा उनी पाहुनाजस्तै भए। प्रचण्डको घर चितवन क्षेत्र नम्बर ३ मा छ। तर, उनको चुनाव क्षेत्र गोरखा छ। उनलाई सायद त्यहाँको भूभागबारे केही जानकारी होला। चुनावको बेला झुल्किने, त्यसपछि नफर्किने पारा उनले पनि देखाइरहेका छन्। पहिलो कुरा त काम गर्नका लागि सत्ता चाहिँदैन। काम गर्ने मान्छेले जहाँ बसेर पनि गर्न सक्छन्।

अनि जतिबेला पनि मैले मौका पाए भने यो गर्छु त्यो गर्छु भन्ने? यस्तो भ्रमको खेती गरेर कहिल्यैसम्म जनताको आँखामा छारो हालिराख्ने? पहिले काम गर, जनताले मौका दिइहाल्छन्। पहिलो संविधानसभाको निर्वाचनमा जनताले माओवादीलाई पहिलो पार्टी बनाएकै हो। तर, माओवादीले के दियो त जनतालाई? केही न केही? त्यसपछि पनि दुईपटक माओवादी सत्तामा पुग्यो।

यद्यपि, त्यतिबेला पनि माओवादीले जनतामा आफ्नो जादु देखाउन सकेन। हिजो जनयुद्ध लडेर आएका माओवादी नेताहरू पनि विभिन्न काण्डमा मुछिए। उनीहरूले जनताको नजरमा इज्जत कमाउने होइन, बेइज्जत हुने काम गरे। त्यसैले त माओवादीको आज यो हविगत भएको हो। कुनै समय पहिलो पार्टी बनेको माओवादीलाई अहिले तेस्रोमा अडिन पनि मुश्किल छ।

कुरा ठूल्ठूला तर काम नगर्ने प्रवृत्ति माओवादीमा छ। त्यो प्रवृत्ति नसुधारेसम्म जनताले माओवादीलाई पत्याउनेवाला छैनन्। कहिले एमालेसँग गएर टाँसिने न कहिले काँग्रेससँग? यसरी माओवादीको अस्तित्व कतिञ्जेल टिक्ला? आफ्नो खुट्टामा त उभिन नसक्नेले देशको मुहार फेर्ने। जनताको अपेक्षामाथि हरेकपल्ट पानी हाल्ने काम माओवादीले गरेको छ। प्रचण्डले देश र जनताको लागि लडेको भन्छन्।

तर, देशको जनताले पायोचाँहि के? वैदेशिक रोजगारी, वैदेशिक ऋण। हरेक घरपरिवारबाट कोही न कोही विदेश गएका छन्। विदेश नगईकन खान नपाउने अवस्था छ। विदेशी हस्तक्षेप बढेको छ। देशको सीमाना छिमेकीले मिच्दै लगेका छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख घट्दै गएको छ। देशमा भ्रष्टाचार मौलाएको छ। जनता व्यवस्थादेखि नै वाक्कदिक्क भइसकेका छन्।

जनता व्यवस्था फेर्ने मुडमा पुगिसकेका छन् नेतृत्वहरू देशको मुहार फेर्ने कुरा गर्दै हिँडेका छन्। अब नेतृत्वहरूले जे सुकै बोलेपनि जनताले पत्याउनेवाला छैनन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार