शुक्रबार, २ आश्विन, २०८३

कांग्रेसको १५औँ महाधिवेशनका लागि जुम्ला जिल्ला संयोजकमा हेम बुढाथापा मनोनीत

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि जुम्ला जिल्लाको जिल्ला संयोजकमा हेम बुढाथापालाई मनोनीत गरेको छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले भदौ २५ गते बुढाथापालाई पठाएको पत्रमार्फत जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी गराएका हुन्।

पत्रमा नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासन स्थापनाका लागि स्थापनाकालदेखि निरन्तर संघर्ष र लोकतान्त्रिक अभियानको नेतृत्व गर्दै आएको उल्लेख छ।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि पार्टी विधान र नेपालको संविधानअनुसार पदावधि समाप्त हुन लागेको तथा स्थानीय तह र प्रदेशसभाको निर्वाचनसमेत नजिकिँदै गएकाले महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ।

पत्रमा अदालतमा विचाराधीन विवादको टुंगो लगाउँदै विगतमा प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा पार्टीलाई गतिशील बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।

तयारी समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाएको जनाएको छ। पत्रअनुसार १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी छ।

त्यसअघि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको उल्लेख छ।

महाधिवेशन सम्पन्न गर्न जिल्लाका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसमा बुढाथापालाई जुम्ला जिल्ला संयोजक मनोनीत गरिएको पत्रमा उल्लेख छ।

संयोजकको जिम्मेवारी पाएसँगै बुढाथापाले जुम्लामा कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि तथा संगठनात्मक तयारीलाई समन्वय गर्नेछन्। तयारी समितिले जिल्लाको संगठनलाई मजबुत बनाउन बुढाथापाले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार