शुक्रबार, २१ कार्तिक, २०८२

फुटबल, जोश र विवाद: जुम्लाको चुनौती

फुटबल केवल खेल होइन, यो भावना र उत्साहको प्रतीक हो। जब खेलाडी मैदानमा प्रवेश गर्छन् र गोलका लागि संघर्ष गर्छन्, त्यहाँ राष्ट्र, भाषा र वर्गको भिन्नता हराउँछ। बाँकी रहन्छ केवल खेलको सौन्दर्य र खुशीको उत्सव।

फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेल हो। यो खेल ११/११ खेलाडीको दुई टिमबीच खेलिन्छ। खेल मैदानको दुबै छेउमा गोलपोस्ट हुन्छ। जसले बढी गोल गर्छ, त्यही टिम विजेता बन्छ। खेल सामान्यतया ९० मिनेटको हुन्छ — दुई भागमा बाँडिएको (४५–४५ मिनेट)।

फुटबल खेल्नका लागि धेरै सामग्री आवश्यक पर्दैन। एउटा बल, खाली मैदान र टिमका खेलाडी भए पुग्छ। त्यसैले यो खेल धनी–गरिब सबै वर्गका मानिसले सजिलै खेल्न सक्छन्। फुटबल खेलले शारीरिक स्वास्थ्य त सुधार गर्छ नै, साथै अनुशासन, सहयोग, सहनशीलता र टीमवर्क सिकाउँछ।

फुटबल केवल खेल होइन, यो भावना र उत्साहको प्रतीक हो। जब खेलाडी मैदानमा प्रवेश गर्छन् र गोलका लागि संघर्ष गर्छन्, त्यहाँ राष्ट्र, भाषा र वर्गको भिन्नता हराउँछ। बाँकी रहन्छ केवल खेलको सौन्दर्य र खुशीको उत्सव।

त्यसैले होला, जुम्लामा पनि वर्षैपिच्छे फुटबल प्रतियोगिता आयोजना हुने गर्छ। एन्फा जुम्लासँगै विभिन्न स्थानीय क्लबहरूले फुटबल खेल आयोजना गर्ने चलन छ। विशेष गरी दशैं–तिहारको अवसरमा प्रायः खेलहरू सञ्चालन हुने गर्छन्। तर जुम्लामा आयोजना हुने अधिकांश प्रतियोगिता विवादसहित सम्पन्न हुने गरेका छन्। यो क्रम वर्षौँदेखि चल्दै आएको छ — कहिले विद्यालयबीच विवाद त कहिले स्थानीय क्लबबीच।

हालै हिमा गाउँपालिका–२ ओदीमा आयोजित फुटबल प्रतियोगितामा खेलाडीलाई लाठीले खेदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यद्यपि दुई टिमबीच भएको विवाद समाधान गरी प्रतियोगिता सम्पन्न गरिएको छ। त्यसैगरी तातोपानी गाउँपालिकाको हाकु खेलमैदानमा जारी खेल पनि विवादकै बीचमा सञ्चालन भइरहेको छ।

अब प्रश्न उठ्छ — आखिर किन हुन्छ विवाद जुम्लामा आयोजित फुटबल खेलमा?

विवादका कारणहरू :
१. रेफ्रीको निर्णयप्रति असहमति
खेलमा रेफ्रीको निर्णय सबैले स्वीकार गर्न सक्दैनन्। अफसाइड, फाउल, गोल वा पेनाल्टीको निर्णय विवादास्पद भयो भने खेलाडी वा दर्शक रिसाउँछन्। यहीँबाट विवादको सुरुवात हुन्छ।

२. भावनात्मक नियन्त्रणको अभाव
फुटबल अत्यन्त जोशिलो खेल हो। खेलाडीले प्रतिस्पर्धामा नियन्त्रण गुमाउँदा एकअर्कासँग ठोक्किन, कराउन वा धकेल्न सक्छन्। कहिलेकाहीँ यही आवेग झगडामा बदलिन्छ।

३. दर्शकको हस्तक्षेप
दर्शकको चिच्याहट, अपशब्द वा विरोधात्मक व्यवहारले खेलाडी झन् उत्तेजित बनाउँछ। कतिपय अवस्थामा दर्शक मैदानमै पसेर विवाद निम्त्याउँछन्।

४. कमजोर व्यवस्थापन र सुरक्षाको कमी
खेलमा नियम र सुरक्षाको राम्रो व्यवस्था नभए विवाद रोक्न गाह्रो हुन्छ। रेफ्री, खेलाडी, आयोजक र सुरक्षाकर्मीबीच समन्वय नहुँदा सानो विषय पनि ठूलो बन्छ।

५. खेल भावना र सहिष्णुताको कमी
कतिपय खेलाडी वा समर्थकले हार स्वीकार्ने संस्कार विकास गर्न सकेका छैनन्। “हार्नु लाज हो” भन्ने सोचले प्रतिस्पर्धा भन्दा पनि द्वेष बढाउँछ।

६. अफवाह र उक्साहट
कहिलेकाहीँ बाहिरी व्यक्तिहरूले पनि झगडा बढाउन उक्साउने काम गर्छन्। यस्तो प्रवृत्तिले खेलको मर्यादा भंग गर्छ।

अब प्रश्न उठ्छ,
के सधैं विवाद हुने भएकै कारण फुटबल आयोजना नगर्नु नै यसको समाधान हो त?

जुम्ला बजारको टुडिखेलमा फुटबल आयोजना लगभग बन्द जस्तै भएको छ। स्थानीय क्लबहरूले आयोजना गर्ने यस्ता धेरै प्रतियोगिता पनि रोकिएका छन्।
तर, के यही हो स्थायी समाधान?
होइन।

यदि खेलाडी, दर्शक र आयोजक सबैले खेल भावना, नियम र अनुशासन पालन गरे भने फुटबल केवल रमाइलो खेल होइन, समाजको एकता र सौहार्दको प्रतीक बन्न सक्छ। यसका लागि खेलाडी, आयोजक, दर्शकसँगै प्रशासन पनि जिम्मेवार हुनुपर्छ।

विवाद समाधानका उपायहरू :
१. खेल भावना र सहिष्णुता विकास गर्नु
खेलाडीलाई हार–जित खेलको हिस्सा हो भनेर बुझाउनुपर्छ। प्रतिस्पर्धा भन्दा पनि मैत्रीभाव र अनुशासनलाई प्राथमिकता दिनुपर्छ। जित्दा विनम्र र हार्दा सहनशील बन्ने संस्कार विकास गर्नुपर्छ।

२. खेल शिक्षा र तालिम
विद्यालयदेखि नै खेलसँग सम्बन्धित नियम, मर्यादा र व्यवहार सिकाउनुपर्छ। प्रशिक्षकले खेलाडीमा मानसिक सन्तुलन र आत्मनियन्त्रणको अभ्यास गराउनुपर्छ।

३. सक्षम र निष्पक्ष रेफ्री
विवाद रोक्नका लागि प्रशिक्षित, इमानदार र निष्पक्ष रेफ्री आवश्यक हुन्छ।

४. सुरक्षा र व्यवस्थापन बलियो बनाउने
खेलमा सुरक्षा व्यवस्था, दर्शक नियन्त्रण र स्पष्ट नियम हुनु जरुरी छ। आयोजकले दुवै टिम र दर्शकका लागि आचारसंहिता तोक्नुपर्छ।

५. दर्शकको सचेतता
दर्शकले खेलाडीलाई हौसला दिनुपर्छ, तर अपशब्द र आक्रोशित व्यवहार नगर्नुहोस्। “खेल हेर्ने संस्कृति” विकास भयो भने विवाद स्वाभाविक रूपमा घट्छ।

६. संवाद र समाधानको अभ्यास
विवादपछि तुरुन्तै संवाद र क्षमायाचनाको संस्कार अपनाउनुपर्छ। टिमबीच साना विवादमा पनि स्थानीय खेल समितिले मिलापत्र गर्न सक्छ।

७. पुरस्कारभन्दा बढी मर्यादालाई प्राथमिकता
खेलको उद्देश्य केवल जित होइन, समाजमा एकता र सौहार्द फैलाउनु हो। त्यसैले खेलाडी, कोच र दर्शक सबैले मर्यादा र आदर्शलाई अगाडि राख्नुपर्छ।

निष्कर्षमा भन्दा फुटबलमा विवाद रोक्ने सबैभन्दा ठूलो उपाय भनेको शिक्षा, अनुशासन र सहिष्णुता हो। जब खेलाडी खेल्न, दर्शक हौसला दिन र रेफ्री न्याय गर्न सिक्छन्।

त्यो बेला फुटबल केवल खेल होइन, शान्ति र एकताको उत्सव बन्छ। त्यसपछि हरेक खेलाडीले अवसर पाउनेछ, आफ्नो कला बिना डर, बिना भय मैदानमा प्रस्तुत गर्नेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार