कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर संकाय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता आगामी साउन ९ गते आयोजना हुने भएको छ।
खेलकुदको माध्यमबाट अनुशासन, एकता, नेतृत्व क्षमता, सहकार्य र मित्रताको भावना विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद संयोजक विजय रावलले बताए।
उनका अनुसार यस वर्षको प्रतियोगितामा प्रतिष्ठानका विभिन्न संकायका विद्यार्थी, शिक्षक तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता रहनेछ।
गत वर्ष जनस्वास्थ्य संकायका विद्यार्थीहरूको आयोजनामा सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा जनस्वास्थ्य स्नातक टोली (बीपीएच) च्याम्पियन बनेको थियो। सोही प्रतियोगिताको सफलतालाई निरन्तरता दिँदै यस वर्ष दोस्रो संस्करण अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले प्रतिष्ठानका विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आपसी सद्भाव, अनुशासन, सहकार्य र खेलभावनालाई थप सुदृढ बनाउने जनस्वास्थ्य महाविद्यालयका उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।
आयोजकले प्रतिष्ठानका सम्पूर्ण विद्यार्थी, अस्पतालका कर्मचारी तथा शिक्षकहरूलाई खेलभावना, अनुशासन र मित्रताको सन्देश फैलाउँदै उत्साहपूर्वक प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।















