बिहीबार, २५ असार, २०८३

जुम्लाको पातारासीमा कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास, खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

जुम्लाको पातारासी गाउँपालिका–३ लोठचौरमा कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको शिलान्यास गरिएको छ। पातारासी गाउँपालिकाको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाले उक्त परियोजनाले कर्णालीमा खेलकुद विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उच्च भूभागमा खेलाडीलाई वैज्ञानिक ढंगले प्रशिक्षण दिन सकिने उद्देश्यले निर्माण हुन लागेको यस सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आकर्षित गर्ने, स्थानीय युवामा खेलप्रति रुचि बढाउने तथा क्षेत्रीय खेल पूर्वाधारको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा पातारासी गाउँपालिका अध्यक्ष पुणसिंङ बोहराले कर्णालीको प्राकृतिक भूगोललाई खेलकुद विकाससँग जोड्ने उद्देश्यले हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण अघि बढाइएको बताए। उनले यो परियोजना सम्पन्न भएपछि पातारासी खेलाडी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

प्रमुख अतिथि पूर्व सांसद बिनिता कठायतले कर्णालीमा यस्ता पूर्वाधार निर्माण हुनु गर्वको विषय भएको बताइन्। उनले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै हाईअल्टिच्युड ट्रेनिङ सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आकर्षित गरी कर्णालीको पहिचान अझ उँचो बनाउने धारणा राखिन्।

विशेष अतिथि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले खेल पूर्वाधार निर्माणले समग्र जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले खेल पर्यटन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधि विस्तारमा पनि यस परियोजनाले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सबै पक्षको समन्वय र सहयोग आवश्यक रहेको उल्लेख गरे।

विशेष अतिथि तथा पातारासी गाउँपालिकाकी उपाध्यक्ष जुनमाया रोकायले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको बताइन्। उनले युवालाई खेलमार्फत अवसर सिर्जना गर्ने, स्वस्थ समाज निर्माण गर्ने तथा महिला र युवाको खेलकुदमा सहभागिता बढाउने लक्ष्यका साथ गाउँपालिकाले आवश्यक लगानी गरिरहेको जानकारी दिइन्।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाका अनुसार कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशमा उच्चस्तरीय खेल प्रशिक्षणको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार