गीतमा नेपाली साहित्यको कालजयी प्रेमकथा ‘मुना–मदन’ को सन्दर्भ पनि जोडिएको छ। ‘मुना–मदन जस्तो प्रेम खोज्ने’ चाहना र वर्तमान समयमा त्यस्तो निष्ठावान सम्बन्धको अभावबीचको तुलना गीतको अर्को महत्वपूर्ण पक्ष हो।
जुम्लाको प्राकृतिक सौन्दर्य र प्रेम–विरहको गहिरो भावनालाई एकसाथ समेटेर निर्माण गरिएको म्युजिक भिडियो ‘विश्वास छैन प्रिय’ यतिबेला दर्शकमाझ चर्चामा छ।
प्रेममा उत्पन्न हुने अविश्वास, धोका र सम्बन्धको अस्थिरतालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले धेरै श्रोता तथा दर्शकको मन छोएको छ।
गीतका शब्दकार धनबहादुर शाही (डीबी) ले प्रेम सम्बन्धभित्र हुने मनोवैज्ञानिक द्वन्द्वलाई निकै संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन्। “विश्वास छैन प्रिय तिम्रो” भन्ने मुख्य भावले सम्बन्धमा हराउँदै गएको भरोसा र त्यसबाट उत्पन्न हुने पीडालाई उजागर गर्छ।
प्रेमी–प्रेमिकाबीचको आत्मीयता, वाचा र प्रतिबद्धता समयसँगै कसरी कमजोर बन्छ भन्ने यथार्थलाई गीतका शब्दहरूले सशक्त रूपमा अभिव्यक्त गरेका छन्। म्युजिक भिडियोको कथा जुम्लाको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चन्दननाथ क्षेत्रको परिवेशमा अघि बढ्छ।
प्रारम्भमा प्रेमी–प्रेमिकाबीचको सम्बन्ध निकै आत्मीय र विश्वासले भरिएको देखिन्छ। मन्दिर परिसरमा गरिएको प्रेम, सँगै बाँच्ने सपना र भविष्यका योजनाले उनीहरूको सम्बन्धलाई बलियो बनाएको देखाइन्छ।
तर समयसँगै प्रेमीको व्यवहारमा परिवर्तन आउन थाल्छ। एक समय प्रेमिकाको हरेक भावनालाई महत्व दिने व्यक्ति विस्तारै टाढिँदै जान्छ।
कथाको केन्द्रबिन्दु नै यही परिवर्तन हो। गीतमा प्रेमीको अस्थिर मनलाई बदलिँदो मौसमसँग तुलना गरिएको छ। “मौसम जस्तै फेरिरहन्छौ सधैं मन” भन्ने भावले सम्बन्धमा रहेको अनिश्चिततालाई स्पष्ट चित्रण गर्छ।
कहिले नजिकिने र कहिले टाढिने व्यवहारले प्रेमिकाको मनमा गहिरो चोट पुर्याउँछ। उनले सम्बन्ध जोगाउने हरसम्भव प्रयास गरे पनि अन्ततः विश्वासको डोरी चुँडिन्छ।
भिडियोको सबैभन्दा मार्मिक दृश्य तब देखिन्छ, जब प्रेमिकाले आफ्ना प्रेमीलाई अर्की युवतीसँग देख्छिन्। त्यो क्षणले उनीहरूको सम्बन्धको वास्तविकता उजागर गर्छ।
वर्षौंदेखि बोकेका सपना, विश्वास र भावनाहरू एकैपटक भत्किएको अनुभूति दर्शकले गर्न सक्छन्। अन्ततः प्रेमिकाले आफ्नो आत्मसम्मानलाई रोज्दै सम्बन्धबाट अलग हुने निर्णय लिन्छिन्। यही दृश्यले गीतको भावनात्मक उचाइलाई अझ प्रभावशाली बनाएको छ।
गीतमा नेपाली साहित्यको कालजयी प्रेमकथा ‘मुना–मदन’ को सन्दर्भ पनि जोडिएको छ। ‘मुना–मदन जस्तो प्रेम खोज्ने’ चाहना र वर्तमान समयमा त्यस्तो निष्ठावान सम्बन्धको अभावबीचको तुलना गीतको अर्को महत्वपूर्ण पक्ष हो।
यसले आधुनिक सम्बन्धमा बढ्दो अस्थिरता र स्वार्थप्रतिको संकेत गर्छ। भिडियोमा कलाकार राजेश विश्वकर्मा, बिमु ठाकुरी र सूर्जा रावलले जीवन्त अभिनय गरेका छन्।
पात्रहरूको भाव, पीडा र सम्बन्धभित्रको तनावलाई उनीहरूले स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन्। निर्देशक सुमन खत्रीले कथालाई दृश्यमा उतार्दा जुम्लाको प्राकृतिक सुन्दरता र भावनात्मक वातावरणलाई प्रभावकारी रूपमा प्रयोग गरेका छन्।
गीतमा चर्चित गायिका मेलिना राइको सुमधुर स्वर रहेको छ। उनको भावपूर्ण गायनले गीतको पीडालाई अझ गहिरो बनाएको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीत संगीत, शब्द र दृश्य प्रस्तुतीकरणको सन्तुलित संयोजन बनेको छ।
समग्रमा ‘विश्वास छैन प्रिय’ केवल प्रेममा धोका पाएको कथा मात्र होइन, विश्वास भत्किँदा मानिसको मनमा उत्पन्न हुने पीडा, एक्लोपन र आत्मसम्मानको संघर्षको कथा पनि हो।
गीत राजेश विश्वकर्मा युटुब च्यानल मार्फत रिलिज भएको छ।















