बिहीबार, २८ श्रावण, २०८३

कविता : “लागूऔषध र ट्राफिक प्रहरी”

“म मृत्यु संग होइन, जीवनसँग उभिएको ट्राफिक प्रहरी”

सडकको धुलोसँगै म प्रत्येक बिहान उठ्छु,
न पदको लोभमा, न त तालिको आशामा,
बिहान–बिहान म आफ्नो कर्तव्यमा जुट्छु,
एउटा मुस्कान बचाउन, एउटा परिवार जोगाउन।

म ट्राफिक प्रहरी, जीवन बचाउने जिम्मेवारी बोकेको राष्ट्रको मौन पहरेदार हुँ,
केही भिन्न नहोस्, न बादल नआओस्, न विपत् नै छाओस् भन्ने कामना गर्छु।

जब स्टेरिङ समालेको हात लागूऔषधले थर्थराउँछ,
त्यो एउटा चालकको कमजोरी होइन,
धेरै परिवारको भविष्य डगमगाउँछ।

एकछिनको नशाले सयौँ सपनाको संसार रोकिदिन्छ,
आमाको काख रित्तिन्छ, बालकको भविष्य टुट्छ,
समाजको मुटु रोइरहन्छ।

सडकले कहिल्यै रात मागेको थिएन,
लागूऔषधले निर्दोषका पाइला–पाइलामा पीडाको इतिहास लेख्दै गयो,
मेरो छातीले रक्षाको लागि भगवान्को नाम जप्दै गयो।

तिम्रा आँखा रातो हुनुभन्दा
तिम्रा सपना उज्याला हुन्,
तिम्रो गति तीव्र हुनुभन्दा
तिम्रो गन्तव्य सुरक्षित होस्।

हामी जाँच गर्छौँ रिसले होइन, कर्तव्यले,
हामी रोक्छौँ दुःख दिन होइन, अकाल मृत्यु रोक्न।
आज हामी सबै मिलेर यस्तो नेपाल निर्माण गरौँ,
जहाँ स्टेरिङमा विवेक होस्,
मनमा अनुशासन होस्,
सडकमा जीवनको मुस्कान फुलिरहोस्।

तिमी केवल एउटा पदार्थको सेवनकर्ता होइनौ,
तिमी एउटी आमाको निद्रा चोर्ने आँधी हौ,
बुबाको निधारको भाग्य चोर्ने राक्षस हौ,
देशको मुटुमा लागेको गहिरो घाउ हौ।

जब नशाले आँखा छोप्छ, सवारीको बाटो देखिँदैन,
जब चेतना हराउँछ, ब्रेकले पनि जीवन रोक्न सक्दैन।
म ट्राफिक प्रहरी हुँ—
मेरो सिटीको आवाज जरिवानाको संकेत होइन,
जीवनको निम्तो हो,
मेरो हातको इशारा रोक्ने आदेश होइन,
घर फर्कने आश्वासन हो।

म देख्न चाहन्छु—
चहान एउटी आमाको काख रित्तिएको होइन,
एउटा बालक टुहुरो बनेको होइन,
एउटा सपना सडकमा रगतसँग मिसिएको होइन।

किनकि—

सडक सुरक्षित भए भविष्य सुरक्षित हुन्छ,
युवा सुरक्षित भए राष्ट्र सुरक्षित हुन्छ,
राष्ट्र सुरक्षित भए नेपाल साँच्चै समृद्ध हुन्छ।

धन्यवाद! जय नेपाल!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार