सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा एक महिला गम्भीर घाइते भएकी छन्।
बुधबार साँझ करिब ५ बजे ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगो लागेको अवस्थामा छोरी १८ वर्षीया पुष्पा रानाले देखेपछि आगो निभाएकी थिइन्।
घाइते महेश्वरीलाई तत्काल उपचारका लागि साँझ ६ः१५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्याइएको थियो। अस्पतालका अनुसार उनको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा जलेको छ भने करिब ३५/३६ प्रतिशत शरीर जलेको र अवस्था मध्यम रहेको थियो।
थप उपचार आवश्यक भएपछि उनलाई साँझ ६ः४० बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो। राति १०ः३० बजे भेरी अस्पताल पुगेकी उनलाई राति ११ः३० बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आगो लगाउने श्रीमान् जयबहादुर रानालाई साँझ ६ः५० बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ बाहिरबाट नियन्त्रणमा लिएको थियो। उनलाई राति ११ः४५ बजे सोही अस्पतालमा बेड भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतले जनाएको छ।
















