शुक्रबार, २१ कार्तिक, २०८२

गजललाई यसरी प्रेमकथासँग किन जोडियो? हेर्दा के लाग्छ भने यो अंग्रेजले परिभाषित गरेको गजलको परिभाषा हो। उपनिवेश हुने देशले धेरै थोक गुमाउनु पर्छ रितिथिति, कला, संस्कृति, मान, आत्म सम्मान, बाँकी पहिचान। गजलले पनि अलिकति सम्मान त गुमायो नै।

हामी गोजीमा पासपोर्ट राखेर देश परिवर्तनको झिनो आश लिइ सडकमा उर्लिन्छौं। जेन जी समेत उत्रिसक्यो।

पुरानो थारु गाउँको ठूलो चौतारोमा बसेर सोच्न थालेँ, हिँडेको त कत्ति छैन, हिँडेको त कहीँ हैन। न लडौँ भने पनि, लड्नै पर्छ, पाइला पाइला अल्झाइरहने सिन्डिकेटका जालो सङ्ग।

बेलाबेला थाक्छु। लाग्छ देश भनेको सिन्डिकेट वालाको हो। माननीयको हो। मन्त्रीको हो। प्रधानमन्त्री भैरहनेहरूको हो। हाम्रा लागि त देश भन्नू,

ढोका ढोकामा परिचय देखाउनु पर्छ।
ढोका ढोकामा हुन्छ माथा गरम हाम्रो पनि।

कि टेक्ने ठाउँ देऊ, कि इच्छाले टेकौँ?
समयले उठाइ दियो, कदम हाम्रो पनि।
आश, गलत विश्वास र सिधा धोका न हो।

त्यसैले त होला हामी गोजीमा पासपोर्ट राखेर देश परिवर्तनको झिनो आश लिइ सडकमा उर्लिन्छौं। जेन जी समेत उत्रिसक्यो।

बाँको जिन्दगी पनि त्यस्तै त्यस्तै थियो। हाम्रो पनि उस्तै उस्तै भैसक्यो। स्वाभिमान नेपाली विश्व भरि पेट पाल्न ढोका ढकाई रहेको छ।

हिमाल झैं अटल, झुकेन यो कहिल्यै,
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो।

यात्रामा गीत गुनाउँदै हिम्मत बढाउने शब्द त रैछन्। एक छिन भेट भएको थियो राम बहादुर ससँ। दुबै आ आफ्नै बाइकमै बसेर थियौं।
उसले सोध्यो, “धेरैपछि भेट भयो यार। के छ खबर?” “हो है? मेरो ठिक छ। अनि तिम्रो?” मैले सोधेँ।

“मेरो पनि त्यस्तै त्यस्तै छ यार। आज म हतारमा छु। एक दिन भेटेर चिया पिउनुपर्छ।” उसले हतारमै भन्यो। मैले “हस्” भनेँ।

उसले बाइक स्टार्ट गर्दै सोध्यो, “अनि के गर्छौ नि?” त्यति नै जोशमा मैले भने, “केही गर्दिन। घुम्छु।” “ल गएँ है” भन्दै उ गयो।

भेट भयो भनेर पनि म कसरी भनौं?
न समय न हाँसो थियो साथमा।

के म केही गर्दिनँ? इन्जिनियर थिएँ। स्थानीय तहले ज्यादती गर्‍यो। आफूसँग काम गरिरहेका कर्मचारीले ज्यादती गरे। लडेँ नतिजा स्वीकार्‍यो। आज इन्जिनियरको सर्टिफिकेट छ, जीवन धान्न त्यो तालिमको सहारा लिन छोडिसकेको। तर पनि म भोकै मर्न सकिनँ। भन्दिन्छु म केही गरिरहेको छु।

त्यो बेला पनि तीन फन्को कर्णाली र काठमाडौं पुगेपछि मैले राजनीतिमा हाम फाले, भन्दै, “म भ्रष्टाचारको विपक्षमा छु। र अन्यायको विरुद्धमा।” आज पनि छु।

राजनीतिमा हाम त फाली हाले। इन्जिनियर भएर राम्रो पैसा कमाइरहेको छोरो सबै छोडेर राजनीतिमा हाम फाल्यो। यस्तो बेला यो देशमा भएको कुन घरलाई लाग्दैन होला र? “राजनीतिमा किन गयो होला? बरु जोगी बनेको मन त बुझाउथेँ।” हो त म केही गरिरहेकै छैन। के राजनीति गर्नु भनेको अरु केही नगर्नु हो?

राजनीतिमा हाम फालेपछि बारम्बार एउटा प्रश्न आउँथ्यो। हितैसिले सजिलो गरेर सोधिदिन्थे, “अरु त ठीक छ कि, तर त्यो पार्टीमा किन?”

त्यो पार्टी भन्नाले बजैले बुझाइ दिनुहुन्थ्यो मलाई। सोध्नु हुन्थ्यो, “बा तिल्ले त मान्छे मारे हो भन्नेछन्। त्यही पार्टीमा किन लाग्यौ त?” र थप्नु हुन्थ्यो, “कि पार्टी छोड हैन भने मेरो घर छोड।” मैले पार्टी नछोड्दै बजैले दुनियाँ छोड्नु भयो।

अब बाँकी के नै रह्यो भन्दिनु।
आएको थियो गयो भन्दिनु।

यही छ मेरो, तेरो कृष्ण सँग विनीती
बाटो लगाइ देऊ, कहीँ अल्झेको छ भने।

बा अहिलेसम्म राम्रोसँग बोल्नु हुन्न। एक भोटले चौवन्न सालमा वार्ड अध्यक्षमा हारेका बा त्यसपछि नेपाल फर्केनन्। सायद बाको मनमा छ होला, “त्यो पार्टीमा लागे पनि चुनाव नलड्नु पर्छ। हारले प्रवास पुगाउँछ, बुझेकै छैन त्यस्ले।” देशमा केही गर्न सकिन्न? के म केही गरिरहेको छैन?

दाईले टिकट लिएर आएको दिन घर पस्न दिनुभएन। उहाँ पार्टीका शुद्ध झोले कार्यकर्ता हुनुहुन्थ्यो। अरु केही होइन?

माल्दाईको मिठो समर्थन थियो। बाँकी प्रेम छ मालदाईलाई, चुनावको बेला सोधिदिने, बुझिदिने र सुनिदिने काम खत्रै साथीले पनि गर्न सकेनन्। त्यही बेला महसुस गरेँ।

तिमी छौँ र छेउ भएको छ निको।
तिमी गयौं भने औषधि सकिन्छ।

नातागोता, ईष्ट मित्र, भाई बन्दु, जोरीपारीले भोट नहाले पनि प्रेम साथ सम्झाइरहे, पार्टी छोड। अर्काको पार्टी भए पो छोड्नु। हो मैले केही त गरिनँ।

मध्य रातसम्म संगठन विस्तार गरेको थिएँ। पार्टी नयाँ थियो तर कस्तो नयाँ भने।

काङ्ग्रेसमा दाइ/भाउजू को आँखामा पर्न नसकेका/ नचाहेका, एमालेमा छोरा बन्न नसकेका / नचाहने, माओवादीबाट विभिन्न कारणले रुष्ट। र म जस्ता पनि धेरै थिए। जसको पहिलो पार्टी सदस्यताही त्यही पार्टीको थियो। सक्ने जतिसम्म लुट्नु सत्ताको चरित्र हो। पार्टी भित्रको सरकार अनि नेपाल सरकारमा समेत खास मुद्दालाई थपक्क ढोकै बाहिर राखेर लुट्न थालेको पनि देखियो। महाधिवेशनको नाममा लुटियो।

पावर टिलर आशामा लुटियो। लेबी लुटियो / चन्दा लुटियो। सहयोग लुकाएर र यस्तो नेपालका सबै पार्टीमा भैरहेको छ भन्ने थाहा भयो। म कायल भए। लाग्यो,

“राम्रो भनेको तिमी जस्तो हुनुपर्छ।”
त्यसो भए बन्नुनै छैन त्यही राम्रो मलाई।

मैले केही गरिनँ।

म जस्तालाई ज्यानको धम्की दिएर थर्काइन्छ। यस्तो हुँदोरहेछ। छ कि, पार्टीमा म जस्ता सँग बोल्ने साथीको संख्या ठीक पारौं भने आफ्नै केही औंला काट्नु पर्ने दिन आउन सक्छ। किन यस्तो भैरहेको थियो भने, मैले योजना बिचिरहेको मन्त्रीको सचिवालयको कुरा पार्टीमा पनि उठाए र नेपाली माझ पनि। चुरोट पसलजस्तो थियो मन्त्रालय। एक ठेली देऊ, एक योजना लेऊ। नो ब्रागेनिङ। फिक्स प्राइजो। आफ्नै फोक्सो जलाउनेको कमी छैन। mind it यो देशको मन्त्रालय पान पसलजस्तो हो।

कार्यकर्ता थिए। कार्यकर्ताको भूमिका / जिम्मेवारीबाट पछि हटिनँ।

देश सेवाको माध्यमको रूपमा लिएको थिएँा, पार्टी। पार्टी नै आफ्नो काँधमा भएको महसुस हुँदा अधिकार खोज्ने मन पनि नलाग्दो रहेछ। मेरो बुझाईलाई उहाँहरूले पहिले लाटो मान्छेको बुझाईमा लिनुभयो। त्यसपछि सोझो। त्यसपछि इमान्दार। त्यसपछि मात्रै अन्य विचारमा हेर्न थाले। र सुरु भयो निषेध। यात्रा त्यस्ता निषेध विरुद्धको पनि हो।

पहिला पहिला मलाई पनि लाग्यो, नलुटी राजनीति बुझिदैन। राजनीति विश्वमा कुचिला ढंगले नै चल्ने हो। तर त्यहाँ व्यक्ति को होइन देशको हित माथि राखिन्छ। कम्तीमा घरेलु राजनीतिमा। नत्र त मानव अधिकारको दावा गर्नेहरू नै खुलेयाम मान्छे मार्न बीस निर्यात गरिरहेका छन्। तर नेपाली नेताले त देश भित्रका लागि बाँकी राखेनन्। निधारमा गोली ठोक्न।

यो देशमा पहिलो थरी नेताको चरित्र बन्न खोज्ने। ती हुन् व्यक्तिवादी मान्छे। यो उनीहरूको समय हो। उनीहरूकै राज छ। जेनजीको आन्दोलन उसैका विरुद्ध भएको हो।

दोस्रो हो, समुदायको हित सोचिरहेको, उसले समुदायका लागि मात्रै गर्छ सोच्छ र सक्छ।

तेस्रो हो, देशको लागि सोच्ने, सदनमा यस्ता मान्छे कम थिए। सदनमा पनि पहिलो थरीका को संख्याको हावि भएका कारण यिनीहरू निरही थिए। जस्तै …….।

सोच्दै गए। खोज्दै गए पहिलो थरी किन हावी छ त यो देशमा? भेटे शिक्षा।

जस्तो कि चलाख बटुवा र कन्जुस बुढी भन्ने कथा। (त्यो कथा गुगल गर्दा पनि भेटिन्छ। पढ्न पाइन्छ।) कसैलाई ढाँट्नु चलाख हुनु हो भन्ने सिकाइएको छ। यस्तो शिक्षा विश्वविद्यालयसम्मै छ।

यो बेला हामी पढेर आएका इमान्दार असल विद्यार्थीमा पनि त्यो कथा जस्ता अन्य कथाको भित्री कुरा दिमागमा बसेको छ। यस्मा कसैको दोष छैन। छ त केवल त्यो बेलाको शिक्षाको। त्यो शिक्षाले निर्माण गर्ने चरित्रको।

भष्टाचार नगरे यही समाज भन्छ, “त्यहाँ पुगेर पनि केही गर्न सकेन।” के सकेन गर्न? भ्रष्टाचार। यहाँ आफू जसरी भएपनि अघि बढ्नु पर्छ भन्ने पढाइन्छ अनि मानवताको पक्षमा वकालत गर्न लगाइन्छ। यस्तो किन भयो त?

यदि यस्तो नगरेको भए अहिले देशमा जति विवादित योजना छन्। यस्तो गर्न सम्भव हुन्थ्यो त, ल्याउन?

आफ्नो पेट पहिले भन्ने शैलीको शिक्षाले के राख्यो आखिर? जनता घर बैंकले।
सार्वजनिक जग्गा मन्त्रीले।
कार्यकर्ताको पैसा नेताले।
श्रमिकको पैसा मालिकले।
तल्लो कर्मचारीको भत्ता माथिल्लोले।
यात्रुको पैसा, स्टेसन आफू छेउमा उभिनेले।

यहाँ लुट्न बाँकी के छ र? सबै भोलि लुटिने डरले आज कमाउन किन लागे देश यस्तै हुन्छ त?

नेपालमा बच्चा पाउन डराएको जोडी युरोप पुगेर तीन बच्चा किन जन्माइरहेको छ त? “दुई सन्तान ईश्वरका वरदान” भन्ने नारा के हामीलाई खुशी राख्न ल्याइएको थियो त?

चाहिएको श्रम शक्ति मात्रै उत्पादन गर्ने रणनीति थियो कि? युरोप अमेरिका चाहिँ लौ तीन तीन छोराछोरी जन्माउ हामी सबै हेर्छौं भन्छन् भने यहाँ किन रोक्न लगाइयो? पञ्चायत कालका नीतिले देश चलाउने अनि देशमा लोकतन्त्र छ भन्ने? यो यात्रा देश छोड्न नचाहने जिद्दीको यात्रा हो।

यो यात्राको राम्रो साथी बनेका छन् केही कविता र धेरै गजल। गजल लेख्न थालेको बीस वर्ष भयो। मैले गजलको रचना हेरेर भ्याइसकेको थिए। यसरी लेखिने रहेछ। मैले महिनाका कविता लेखे। मैले कुनै वर्ष आख्यान लेखिरहेँ पनि त्यो बेला मैले गजल लेखिरहेँ। भन्नाले मैले बीस वर्ष गजल लेखिरहेँ। थाहा नै पाएन।

म माया गर्दिन पनि कसरी भनौं?
मेरो काखमा आई बसेको छ गजल।

मैले बुझेको गजल के हो भने गजल अनुरोध / विनीती / पत्र / सूचना नै हो। किनभने अन्तिम लाइनमा कसैको नाम छ। अनुरोध गर्ने वा भनौं सूचना पठाउनेको नाम त छ। अन्य विधाबाट गजल यहाँनेर छुट्टिन्छ।

अर्को विधामा तखल्लुसको सुविधा छैन। चिट्ठीको पुच्छरमा नाम प्रेमिकाका लागि मात्र लेखिन्छ र? उसो त भगवान / वैद्य / प्रेमी र गुरु सम्म पुग्नुपर्ने पत्र पनि हुन्छन् नि, हो र यो समाजमा।

गजल, भजनका रूपमा पनि प्रयोग भएको छ। भगवानका लागि हुन सक्छ, गजल। तखल्लुसमा नाम छ कुनै भक्तको। हुन सक्छ कुनै रोगीको वैद्यलाई पत्र।

त्यहि माथि यहाँ प्रेमको नाममा गजल पहिले देखिनै बदनाम छ। प्रेमको मामिलामा गजलको अदा केही बढिनै देखिन्छ। यसो भनौं प्रेमको अभिव्यक्तिमा गजल सुन्दर तरिकाले प्रयोग भएको देखिन्छ।

गजल हुन सक्छ गुरुहरूलाई प्रश्न पनि? सबैका ती प्रश्नलाई एकरूपमा भन्ने हो भने जिन्दगीका प्रश्न वा आफ्ना अनुभवहरू आफ्नो नाम सहित गुरुको चरणमा, जिज्ञासा, सूचना पो हो कि गजल?

हुन सक्छ ती कुनै सिमानामा खटिएका सिपाहीको पत्र, उसको गुरु ठूलो सिपाहीलाई। सिमानाको माहोल यसरी पनि भनेको हुन सक्छ पत्रमा, गजल लेखेर।

इस सादगी पे कौन न मर जाए ऐ खुदा लड़ते हैं और हाथ में तलवार भी नहीं” – मिर्जा गालिब

गजल विधामा गुरु-चेलाको सम्बन्ध युद्धको मैदानमा निर्माण गर्‍यो कि? ईशारामा भन्यो कि क्षेत्रको खबर, लय मिलाएर। पहिलो गजल बहरमा थिएन। यो मेरो धारणा हो।

ठूलो सिपाहीले सूचना चुहियो भनेर टाल्न सिकायो होला। गजलमा लेख्दा यसरी लेख्नुपर्छ। यसो हेर्दा बहर भन्दा जेठो हो उस्ताद-शागिर्दको सम्बन्ध। त्यसबारे मौन छ पाठ्यक्रम।

शागिर्द र उस्ताद खबर आदानप्रदान गर्दा प्रयोग भयो कि तखल्लुस? एउटा फरक औजारको रूप पनि लिएको थियो कि गजलले?

यस्तै बेलुका सैनिकहरू आफै पनि बसेर महफिल जमाउथे कि? सूचना भन्दै जाँदा लयले तानेको होला। सत्ताका लागि जन्मियो होला बहर। किनकि गजल दरबारिया हो। घुमिफिरी हेर्दा यो सूचना बहाक बनेको छ र दरबारको नजिक पनि। कि दरबार सूचना र गुनासो गजलका माध्यमले सुन्न चाहन्थ्यो। लत बस्यो दरबारलाई रक्सीको, तर बदनाम गजल भयो कि? दरबार सूचना सुन्न छोडेर भावनामा अल्झियो। गजलले चरित्र छोडिदियो, चित्रमा अल्झियो।

उता सिमानाको सिपाहीले, आफ्ना साथीहरूलाई भन्यो होला:

तुम जिसे याद करो फिर उसे क्या याद रहे
न खुदाई की हो परवा न खुदा याद रहे” –जौक

अनि ढलेको हुनुपर्छ मुगल सन्तत झैं। दरबार जसरी ढल्दै गयो। गजल बाहिर निस्कँदै गयो। गजलले घुम्टो खोल्यो।

यी कुरा मनन गर्दै ल्याउँदा मुगल दरबारमा गजलले केवल प्रेमकथा मात्र नभई कूटनीतिक सन्देश र परोक्ष आलोचना गर्ने माध्यमको रूपमा पनि काम गर्‍यो।

उदाहरण: धेरै छन्।

तर गजललाई यसरी प्रेमकथासँग किन जोडियो? हेर्दा के लाग्छ भने यो अंग्रेजले परिभाषित गरेको गजलको परिभाषा हो। उपनिवेश हुने देशले धेरै थोक गुमाउनु पर्छ रितिथिति, कला, संस्कृति, मान, आत्म सम्मान, बाँकी पहिचान। गजलले पनि अलिकति सम्मान त गुमायोनै।

अपहेलित विधा लास्टमा नेपाल आइपुग्यो कि? मैले सुने अनुसार नेपालमा पहिले यो सायरीसँग आएको थियो। गाउँमा फलानो, गजल सायरी गर्छ भन्थे। आजभोलि हेर्दा यसले सायरीलाई निलेको देखिन्छ। गजलकार सायरी लेख्दैन। त्यसपछि यो मुक्तकसँग आयो। अहिलेसम्म मुक्तक ठीक कि गजल ठीक भन्ने बहस चलिरहेको हुन्छ। मुक्तक ठीक भन्नेको एउटा तर्क छ, “मान्छे अहिले बिजी हुन्छ त्यसैले मुक्तक नै ठीक हो। चट सुन्दा, झट्ट हिँड्यो।” गजलवालालाई लाग्छ, “मुक्तकका लागि त… दाइ नै काफी छन्।”

यूनिभर्सिटी र त्यहाँबाट प्रमाणित विज्ञहरू बहर कि बाच्छो भन्दै अल्झिएका छन्। अनि बहर र स्वतन्त्र बहर वाला लड्ने र मिल्ने मिटिङ्ग यति ठाउँमा बसे कि म के भनौं? यो बर्दिया राजापुरका मान्छेलाई?

काठमाडौंबाट पोखरासम्म मिटिङ्ग हुन्छन्। कुरा अनुसार अबदेखि बहरलाई बाच्छो पाठो, खसी बोको केही भन्न पाइने छैन। र स्वतन्त्रलाई छाडा, छोडुवा, जडुवा, भडुवा जस्ता अपशब्द प्रयोग नगर्ने। शिष्ट शब्द चलनचल्तीको भाषामा गाली गलौज नगर्ने।

यो बहर र स्वतन्त्र बहर बीचको सिज फायर लामो समय चलोस्। शुभकामना।

मैले त भन्ने गरेको छु। गजल लेख्नका लागि के गर्नुपर्छ भने गजललाई धेरै पढ्नुपर्छ। तर गजलको बारेमा नेपालमा लेखिएको वा सिकाइएको कुनै पनि किताब पढ्नु हुन्न। पढे घाटा छ। चलाख बटुवा र कन्जुस बुढीकै कथा सरहका छन्। यो विद्वानको उपहास होइन उहाँहरूमा समस्या छैनन्, किनभने हाम्रो देशको विश्वविद्यालयले गजलको सम्पूर्ण ज्ञान नै दिँदैन। दुई पान्नामा गजल सकिन्छ? आधा ज्ञान दिइरहेको छ विश्वविद्यालय…।

बरु त्यसको साटो गजल पढ्न थालेसी, ढिलो चाँडो गजल बुझ्न थालिन्छ।

त्यस्ता अधिकतम पाँच शेरसम्म हुन्छ भन्ने लेखेका किताब नपढेपछि मानिस गजल बुझ्न थाल्छ। गजलमा पात्र, घटना र परिवेशको चरित्र हुन्छ।

तर यहाँ त्यो पढाइदैन। गजल अरू विधा भन्दा किन फरक विधा हो भने

१. गजलमा शागिर्द र उस्तादको एउटा सिलसिला छ। यो अन्य कुनै विधामा छैन। गुरू नै चाहिने विधा, विद्या विश्वविद्यालयमा पढाउँदा त्यही तहसम्म पढाइ हुनुपर्थ्यो कि?

२. कुनै पनि विधामा नभएको तखल्लुस (नाम) किन छ गजलमा?

गजललाई म यति प्राथमिकता किन दिइरहेको छु भने, नेपालको साहित्य क्षेत्रमा गजल एउटा यस्तो विधा बन्यो जसको फ्यान फोलोइङ राम्रो छ। जसको उदाहरण, गजल कार्यक्रममा पनि आख्यान राइटर आउँछन्।

गजल सुन्नेको संख्या यस्तो छ कि केही साथीहरूले भारतीय लेखकका गजललाई नेपालीमा अनुवाद गरेर सुनाउँदा पनि गजलकार जत्तिकै मान सम्मान पाएका छन्।

त्यसैले गजल अर्थसँग जोड्ने तमाम सम्भावना छन्। त्यसैले यो अब आउने गजलकार र गजलको पक्षको यात्रा हो।

देशमा साहित्यकारहरु कमाईबाट बाँच्ने अवस्था छैन।

त्यसैले प्रायः साहित्यकारहरू पेशा वा रोजगारी अर्को क्षेत्रबाट गर्छन् (जस्तै शिक्षक, पत्रकार, कर्मचारी आदि)।

नेपाल वा दक्षिण एसियामा अधिकांश साहित्यकार साहित्य लेखेर मात्र जीविका चलाउन सक्दैनन्। साहित्य लेखनले स्थायी आम्दानी दिँदैन, त्यसैले उनीहरूले अर्को पेशा रोजेका हुन्छन्।

कोही विद्यालय वा कलेजमा शिक्षक,
कोही सरकारी वा निजी कर्मचारी,
कोही पत्रकार, कलाकार हुन्छन्।

तर ती सबै पेशासँगै उनीहरू मनले भने कवि रहन्छन्। अर्थात् कवि उनीहरूको पहिचान हो, “पेशा” होइन। साहित्य लेखन उनीहरूको लागि रुचि, साधना, र आत्मसन्तुष्टिको माध्यम हुन्छ। आम्दानीको होइन।

साहित्य लेख्ने प्रेरणा पैसाको लोभले भएको हुँदैन। बरु मनको अभिव्यक्ति, आत्मिक सन्तुष्टि र कलात्मक चाहना हो।

साहित्य लेख्दा उनीहरूलाई भित्रको भाव बोल्न सके राहत मिल्छ। कसैले प्रेम, कसैले पीडा, कसैले समाजको अन्याय लेख्छ। त्यसले उनीहरूको आत्मालाई हल्का र पूर्ण महसुस गर्छ।

त्यो नै उनीहरूको साधना (spiritual practice) हो, जिस्मा न त व्यापार हुन्छ, न त लाभको हिसाब। “यथार्थमा साहित्य लेख्नाले आर्थिकभन्दा बढी सांस्कृतिक र आत्मिक समृद्धि दिन्छ।”

तर, जेनजी आन्दोलनको पक्षमा विपक्षमा धेरै लेखकले बोलेनन्। मौनता धेरै बोल्छ फेरि—सायद यसको कारण होला केही समय अघि नेपालका ठूला लेखक माथि विदेशी पैसा खाएर कला संस्कृति विरुद्ध लेखको आरोप लाग्यो। घटना के थियो? के हो? त्यो एउटा कुरा भयो तर साहित्य लेख्ने प्रेरणा पैसाको लोभले भएको हुदैन। तर यहाँ कवि पूँजीवादको सिकार भयो।

आफ्नो पारिश्रमिकभन्दा ठूला रकमको लोभले बिगार्‍यो। मलाई आज पनि लाग्दैन उहाँहरू देशद्रोही हुन्। सत्ताले दिनुपर्ने सम्मान, सत्रुले दियो। लोभले लाभ, लाभले विलाभ।

अहिले बोल्न पर्ने बेला धेरै साहित्यकार मौन छन्, त्यसैले यो यात्रा साहित्य पैसाका लागि मात्रै सिर्जना गरिन्न। यो जागरणको माध्यम हो भन्ने यात्रा पनि हो।

अतलको यात्रा त्यस्ता गलत पारिश्रमिक विरुद्धको यात्रा हो। समग्रमा यो यात्रा देशमा भएको चरम भ्रष्टाचार विरुद्धको यात्रा हो। यो यात्रा जारी छ। बाँकी प्रेम छ।

यो यात्रा मेरो जागरणले सुरु भएकै होइन। महेश नेपालीसँग तीन वर्ष भैसकेको थियो तर्किदै हिँडेको। यसपालि जम्काभेट भयो तर भेट लामो भयो। मेरो पारा देखेर महेश कायल थिए।

म आफै छु हैरान, आफैलाई देखेर,
उ मानी बसेको छ, भर मेरो।

महेश नेपाली मभन्दा जिद्दी मान्छे हुन्। भन्ने प्रमाणित भएको छ। कटासेको थारु होमस्टेमा बसेर एक साँझ हामी गफ गर्दै थियौं। उहीँ मेरा हर्कत र यात्राको कुरा आयो।

-“अतलको यात्राको कुरा के हो?”
महेश साथीले सोधिहाले।
-“हाँस्दै भनौंला नि।”

मोबाइल फोन गर्न मात्रै होइन पात्रो हेर्न पनि काम लाग्दो रहेछ। पात्रो हेर्दै महेश नेपालीले भने, “पहिलो बास जुम्लामा गरौं है—२०८२ मंसिर ११ गते। बाँकी कुरा पछि सोचौंला।” त्यही होमस्टेमा पाँच शहर तयार भए। नगर्न खोजेर रहेछ है?

सजिलो पनि अप्ठ्यारो भैदियो। खास नगर्ने मन थियो मेरो पनि।

अब गर्नु के? नगर्नुको विकल्प रहेन। तर यसको संयोजन गर्ने संस्था कुन? ठुकुरीको बिहेको जस्तो चाल गर्नु भएन भन्दै महेशले भने, “यो काम कुटीरोले नै गर्छ। तपाईं तयार रहनुहोस्।”

मैले धन्यवाद मात्रै भने।

अतलको यात्रा मेरा पुराना छुटेका साथी सँग भेट्ने उद्देश्यको यात्रा पनि हो। उ सँग म पनि बच्चा हुँदै गएँ। भेट वर्षौं पछि साथी बचपनको।

तीन वर्षपछि भेटले यो यात्रा तय भएको छ। आश छ यो यात्रामा धेरै साथीहरू भेटिनेछन्। जोडिनेछन्। बाँकी प्रेम छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार