सिञ्जा क्षेत्रका विद्यालयहरूमा अझै पनि शिक्षकको उपस्थिती, पठनपाठनको नियमितता र विषयगत दक्षता कमजोर छ। स्थानीय तहहरूले शिक्षा सुधारका नाराहरू त लगाएका छन्, तर ती नाराहरू कागजमै सीमित छन्।
नेपालको इतिहासमा सिञ्जा केवल भौगोलिक नाम होइन, यो हाम्रो सभ्यता र नेपाली भाषाको उद्गमस्थल हो। तर विडम्बना के छ भने, आज यही सभ्यताको जन्मभूमि शिक्षा र चेतनाको क्षेत्रमा पछाडि परेको छ।
जुन माटोले नेपाली भाषाको अक्षर जन्मायो, त्यही माटोका बालबालिकाले अझै पनि गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्।
सिञ्जा क्षेत्रका अधिकांश मानिसहरूको मुख्य जीविकोपार्जन कृषि र घुमन्ते व्यापार नै हो। यहाँको कृषि अझै पनि वर्षा–निर्भर र परम्परागत प्रविधिमा आधारित छ। यसले जीवन धान्न त मद्दत गर्छ, तर आर्थिक प्रगति सम्भव हुँदैन।
व्यापारको कुरा गर्दा, नेपाल र भारतका बजारहरूमा सिञ्जाका युवाहरूको ठूलो उपस्थिति देखिन्छ। विशेषगरी मङ्सिरदेखि चैतसम्म, अर्धवार्षिक परीक्षा सकेर विद्यार्थीहरू भारतका विभिन्न सहरहरूमा सिलाजित, यार्चागुम्बा, हिंङ, केसरी, रुद्राक्ष, लत्ता–कपडा जस्ता वस्तुहरूको व्यापार गर्न जान्छन्।
फागुनको अन्त्यतिर वा नयाँ सत्र सुरु हुनासाथ उनीहरू फर्किन्छन् र पुनः पढाइमा फर्किन्छन्। यो परम्परा दशकौँदेखि चल्दै आएको छ। यसले उनीहरूलाई आर्थिक सीप त दिएको छ, तर पढाइमा पछाडि पारिदिएको छ।
सिञ्जा क्षेत्रका विद्यालयहरूमा अझै पनि शिक्षकको उपस्थिती, पठनपाठनको नियमितता र विषयगत दक्षता कमजोर छ। स्थानीय तहहरूले शिक्षा सुधारका नाराहरू त लगाएका छन्, तर ती नाराहरू कागजमै सीमित छन्।
नेपालको संविधान, शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई शिक्षामा नीति बनाउने, बजेट व्यवस्थापन गर्ने, निगरानी र अनुगमन गर्ने अधिकार दिएको छ। तर ती अधिकारहरू व्यवहारमा प्रयोग हुन सकेका छैनन्।
कसैले ‘संविधानले बाँधेको छ’ भन्छ, कसैले ‘बजेट छैन’ भन्ने बहाना गर्छ। तर साँचो समस्या भनेको जवाफदेहिता र नेतृत्वको कमी हो। विद्यालयहरूमा विद्यार्थीको भविष्यभन्दा बढी राजनीतिक सन्तुलन र भागबन्डा हावी भएको छ।
फलस्वरूप विद्यार्थीहरू ‘साढेको जुधाईमा पाठाको मिचाई’ जस्ता अवस्थाको सिकार भएका छन्। तर अब समय बदलिँदै छ। आजको नयाँ पुस्ता पहिलेका पुस्ताभन्दा धेरै सचेत र प्रश्नकर्ता बनेकी छ।
देशका धेरै ठाउँमा युवाहरूले विद्यालयमा गुणस्तरीय, आधुनिक, प्रविधिमैत्री र बालमैत्री शिक्षा को माग गर्न थालेका छन्। त्यस्तै, शिक्षामा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्न आवाज उठाउन थालेका छन्।
सिञ्जा उपत्यका र वरपरका स्थानीय तहहरूले पनि अब शैक्षिक क्रान्ति गर्न जरुरी छ। विद्यार्थी र अभिभावकले विद्यालयमा देखिएका कमजोरीबारे खुला रूपमा प्रश्न गर्न, सुधारको माग गर्न, र आवश्यक परे शिक्षक वा व्यवस्थापनलाई जवाफदेही बनाउने समय आएको छ।
यदि निर्देशन दिएर पनि सुधार भएन भने, स्थानीय तहले कानुनी रूपमा कारबाही गर्न सक्नुपर्छ। शिक्षा केवल सरकारी नीति होइन। यो समाजको नैतिक आधार हो।
त्यसैले शिक्षा क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कार र बेवास्ता गर्नेलाई दण्ड दिने व्यवस्था लागू हुनैपर्छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा विद्यार्थीको भविष्य अन्योलमा पार्ने कुनै पनि राजनीतिक सम्झौता स्वीकार्य हुन सक्दैन।
अन्ततः, सिञ्जा क्षेत्रको शैक्षिक सुधारका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, वडा प्रतिनिधि, राजनीतिक दल, शिक्षक, अभिभावक र सम्पूर्ण सरोकारवालाहरूले विद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त गर्दै, नैतिक जिम्मेवारी र सामूहिक प्रतिबद्धता का साथ अघि बढ्नु जरुरी छ।
त्यसपछि मात्र सिञ्जा पुनः सभ्यताको माटो मात्रै होइन, शिक्षाको राजधानी बन्न सक्छ।















