एउटै व्यक्तिको दर्जनौं घर छन्। घर भाडामा लगाएर मासिक लाखौंदेखि करोडौं रकम उठाउँछन्। तर, राज्यलाई तिर्नुपर्ने घरबहाल कर छल्छन्। अधिकांश घरधनीले यसका लागि डेरावालकै प्रयोग गर्छन्।
धनी होस् वा गरिब, मानिस सबै एउटै हुन्। तर, पछिल्लो समय मानिसमा मानवता हराउँदै गएको छ। देशमा बेरोजगारी छ। बजार व्यापक मन्दीमा छ। व्यापार–व्यवसाय ठप्प छ। काम गरेको तलब पनि समयमा दिइँदैन। यस्तो अवस्थामा विशेष गरी डेरामा बस्नेहरू मर्कामा परेका छन्। उनीहरू आफैं भोकै बसेर भए पनि ऋण लिएर घरधनीलाई भाडा तिरिरहेका छन्।
दुःखलाग्दो कुरा, घरधनीहरूमा मानवता हराएको छ। आफ्नो घरमा बस्नेहरू भोकभोकै सुतिरहँदा घरधनीहरू भने कुकरका कुकर खाना फाल्छन्। बरु त्यही खाना डेरावाललाई दिए कति धर्म हुन्थ्यो होला! डेरावालको पनि पेट भरिन्थ्यो नि। विडम्बना, अहिले मानिसमा मानवता हराइसकेको छ। आफ्नो पेट भरे पुग्छ। अरूले के खायो वा खाएन? खाना नभएर भोकै सुत्यो कि? भनेर सोच्ने फुर्सद कसैलाई छैन।
सहकारी, लघुवित्त र फाइनान्सका कारण करोडौं सर्वसाधारण डुबेको कुरा सबैलाई थाहा छ। खासगरी डेरामा बस्नेहरूले सहकारीमा बचत गरेका थिए। आपत्–विपत् पर्दा काम लाग्छ र थोरै भए पनि ब्याज आउँछ भन्ने प्रलोभनमा आफूसँग भएको सबै रकम सहकारीमा जम्मा गरे। तर, अहिले सहकारी भाग्यो। रोजगारी पनि गुम्यो। काम भए पनि साहूले तलब दिएको छैन। घरमा अन्नको दाना छैन। रोगले शरीर थलिएर गएको छ।
कतिपय अस्पतालको बेडमा उपचारका लागि छटपटाइरहेका छन्। पैसा भए पनि उनीहरूले उपचार पाएका छैनन्। मानिसहरूको हालत कन्तविजोग भएको छ। कतिपयले सहन नसकेर आत्महत्या गरेका छन्। कतिपयले जेनतेन गुजारा चलाइरहेका छन्। अहिले काठमाडौं उपत्यकाभित्र होस् वा बाहिरी जिल्लामा, भाडामा बस्नेहरू पीडामा छन्। आफ्नो दुःख–पीडा लुकाएर उनीहरू हिँडिरहेका छन्।
अधिकांश भोकभोकै हिँड्ने र सुत्ने गरेको बताइन्छ। घरधनीलाई भाडा त तिर्नैपर्छ। त्यसका लागि उनीहरूले आफन्तसँग वा मिटरब्याजमा ऋण लिएका छन्। त्यही ऋणले भाडा तिरिरहेका छन्, तर आफू केही नखाई बस्छन्। यता, डेरावालको समस्या घरधनीले देख्दैनन्। उनीहरूलाई त महिना मर्नेबित्तिकै भाडा चाहिन्छ। भाडा तिरे पनि सुख पाइँदैन। घरधनीले भने जस्तो गरे मात्र बस्न पाइन्छ, नत्र कति खेर “सरेर जा” भनिदिन्छन्।
घरधनीहरू आफ्नो फाइदा मात्र हेर्छन्। भाडा एक दिन ढिलो भए डेरावालको कोठामै आएर कराउँछन्। तर, डेरावाल बिरामी हुँदा कोठामा आउनु त परैको कुरा, चासो पनि दिँदैनन्। डेरावाल मरे पनि भाडा रोकिनुहुँदैन। हुन त, डेरावालले मर्ने बेला पनि सुख पाउँदैनन्। घरधनीले आफ्नो घरमा डेरावाललाई मर्न दिँदैनन्। डेरावालको अवस्था गम्भीर भए सहयोग गर्नुको साटो विभिन्न बहाना बनाएर कोठाबाटै निकालिदिन्छन्। यसबाट अधिकांश मानिस पीडित छन्।
घरधनीको एउटै उद्देश्य छ– जति सक्दो ठग्ने, लुट्ने। डेरावालसँग बढी भाडा असुल्छन्, नदिएको सेवा–सुविधाको पनि चर्को पैसा लिन्छन्। तर, राज्यलाई समेत ठग्दै आएका छन्। एउटै व्यक्तिको दर्जनौं घर छन्। घर भाडामा लगाएर मासिक लाखौंदेखि करोडौं रकम उठाउँछन्। तर, राज्यलाई तिर्नुपर्ने घरबहाल कर छल्छन्। अधिकांश घरधनीले यसका लागि डेरावालकै प्रयोग गर्छन्।
डेरावालसँग मासिक एउटा कोठाको २० हजार असुल्छन्, तर वडा कार्यालयमा दुई हजार भन्न लगाउँछन्। कतिपय घरधनीले आफ्नो घर वर्षौंदेखि खाली छ वा आफन्त सित्तैंमा बसिरहेका छन् भनेर झूट बोल्छन्। वडाबाट अनुगमनका लागि कर्मचारी पनि नआउने भएकाले उनीहरूलाई फाइदा पुगिरहेको छ। विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिला र कथित तल्लो जातिलाई घरधनीले कोठा नै दिँदैनन्।
गाउँमा सेवा–सुविधा नभएपछि मानिसहरू शहर पसेका छन्। शहरमा आफ्नो घर हुँदैन। त्यसैले भाडामा बस्न बाध्य छन्। अहिले काठमाडौं उपत्यका होस् वा बाहिरी जिल्लाका शहरहरूमा, भाडामा बस्नेहरू अधिकांश गाउँका मानिस छन्। गाउँबाट आएर उनीहरू भाडामा बस्नुको कारण शिक्षा, स्वास्थ्य, रोजगारी र सेवा–सुविधा हो। शहरमा भाडामा बसे पनि उनीहरूको गाउँमा रोपनीका रोपनी वा बिघा जमिन हुन्छ। अधिकांशको गाउँमा घरै हुन्छ। तर, सरकारले त्यहाँ सेवा–सुविधा नपुर्याउँदा गाउँका मानिस शहरमा आएर चर्को पैसामा भाडामा बस्न बाध्य छन्।
अधिकांश घरधनीले आफ्नो घरमा भाडामा बस्नेलाई सुकुम्बासी भन्छन्। दासीझैं व्यवहार गर्छन्। घरधनीको शहरमा दुई–चार आना जग्गामा घर हुन्छ। डेरावालको त गाउँमा घरसँगै रोपनीका रोपनी जग्गा हुन्छ। अब भनौं, को हो सुकुम्बासी? चार आना जग्गामा शहरमा घर ठडाएर “मै हुँ” भन्ठान्ने प्रवृत्ति मौलाउँदै छ। घरधनीले एउटै कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजारसम्म असुल्छन्।
जबकि कोठा दिउँसै बत्ती बाल्नुपर्ने अँध्यारो र चिसो हुन्छ। एउटा सानो सटरको २० हजारदेखि १९ लाख रुपैयाँसम्म भाडा असुलिन्छ। एक फ्ल्याटको ३० हजारदेखि तीन लाख रुपैयाँसम्म मासिक भाडा लिइन्छ भने खाली सटर २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरिन्छ। घरधनीको ठगीधन्दा र अत्याचार बढ्दै छ। विडम्बना, सरोकारवाला निकायले पनि उनीहरूकै साथ दिएका छन्।
विगतमा अहिलेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, सांसदहरू सबै भाडामै बसेका हुन्। भाडामा बस्दा डेरावालले भोग्नुपर्ने दुःख–कष्टबारे उनीहरू जानकार छन्। तर, सत्तामा पुगेपछि र महलजस्तो घरमा बस्न थालेपछि उनीहरूले यो कुरा बिर्सिए।
मुलुकमा तीन तहको सरकार छ– संघ, प्रदेश र स्थानीय। दुर्भाग्य, तीनवटा सरकार हुँदा पनि एउटा निर्णय हुन सकेन, त्यो हो घरभाडा निर्धारण। घरभाडा निर्धारण गरिए भोट घट्ने डर राजनीतिक दलहरूमा छ। त्यसैले उनीहरू घरधनीको अत्याचार र ठगीधन्दाबारे केही बोल्दैनन्। देशमा थुप्रै पार्टी छन्। तर, एउटै पार्टी पनि घरधनीको विरोधमा बोलेको पाइँदैन। किनभने घरधनीसँग उनीहरूको स्वार्थ जोडिएको छ, त्यो हो भोटको।
डेरावाललाई घरधनीले त मानिस नै ठान्दैनन्, तर सरकारले समेत उनीहरूलाई नेपाली ठानेन। सरकार जनताको अभिभावक हो। दुर्भाग्य, यहाँ त सरकार आफैं आफ्ना नागरिकबीच विभेद गरिरहेको छ। सरकार नै असमानतामा लागेपछि कसको के लाग्छ? अहिले डेरावालले भाडा तिर्न सकिरहेका छैनन्। तिरून् पनि कसरी? व्यापार–व्यवसाय ठप्प छ। बेरोजगारी छ। काम गरेको ठाउँबाट तलब पाइँदैन।
यस्तो अवस्थामा घरधनीले भाडा घटाइदिनुपर्ने हो। डेरावाललाई राहत दिनुपर्ने हो। तर, घरधनी लुट्न र ठग्नमै व्यस्त छन्। लुट्न पाएसम्म डेरावाललाई आफ्नो घरमा राख्छन्, अनि भाडा तिर्न नसकेपछि निकालिदिन्छन्। घरधनीका लागि डेरावाल दुहुनो गाईझैं बनेका छन्– दूध दिँदासम्म राम्रो, दूध सुकेपछि जंगलमा छोडिदिने। यसतर्फ राज्यको ध्यान जाओस्। घरधनीको अत्याचार बन्द गरियोस्। सरकार अब आँखा खोलोस्।
















