बुधबार, १६ बैशाख, २०८३

दमन, वहिस्करण र विभेदप्रतिको आक्रोश नै दहाड हो

दहाडभित्रका सम्पूर्ण पात्रहरु काल्पनिक हुन्, तर उनीहरुले जुनजुन घटनाहरु, बाध्यताहरु र असरहरुको सामना गर्नुपर्ने अवस्था थियो । ति घटनाहरु यथार्थ हुन् ।

लेखक तथा सञ्चारकर्मी ननीव अभिलाषीको कथा संग्रह ‘दहाड’ सार्वजनिक भएको छ । सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको थियोे ।

नेपाली साहित्य र पत्रकारिता क्षेत्रका सक्रिय सर्जक अभिलाषी समकालीन पुस्ताका एक सशक्त कवि, लेखक तथा पत्रकारका रूपमा परिचित छन् । उनी मोफसलमै बसेर झण्डै एक दशकदेखि निरन्तर साहित्य सिर्जनामा संलग्न रहँदै आएका छन् ।

यसअघि उनका ‘ईश्वरको अस्थिपञ्जर’ र ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रह प्रकाशित भइसकेका छन् । उनका यी कृतिहरूले नेपाली समाजका यथार्थ, संघर्ष, पीडा र चेतनालाई गहिरो रूपमा अभिव्यक्त गर्छन् ।

विशेषगरी उनका रचनाहरूमा ग्रामीण जीवन, सामाजिक विभेद, मानवीय संवेदना र परिवर्तनको आकांक्षा सशक्त रूपमा प्रस्तुत हुने गर्छ । सरल, संवेदनशील र यथार्थपरक लेखन शैलीका धनी उनले शब्दमार्फत समाजका दबिएका आवाजहरूलाई उजागर गर्ने प्रयत्न गरिरहेका छन् ।

यही कारणले गर्दा उनका रचनाहरू पाठकमाझ सहजै ग्रहणीय र प्रभावशाली बन्न सफल भएका छन् । साहित्यसँगै उनी पत्रकारितामा पनि उत्तिकै सक्रिय छन् । समसामयिक विषयवस्तुहरूमा उनले निरन्तर कलम चलाउँदै समाजलाई सचेत बनाउने काम गरिरहेका छन् ।

साहित्य र पत्रकारिता दुवै क्षेत्रमा योगदान दिइरहेका उनी भिन्न दृष्टिकोण र गहिरो संवेदना बोकेका उदाउँदा प्रतिभाशाली सर्जकका रूपमा चिनिन्छन् । उनै सर्जकसँग कुटीरोका लागि महेश नेपालीले गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

१. सर्वप्रथम दहाड बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई छ ।

धन्यवाद ।

२. ‘दहाड’ शीर्षक आफैंमा शक्तिशाली र प्रतीकात्मक छ । यो शीर्षक रोज्नुलाई प्रेरणा केले दियो ?

कथा लेखनको लामो प्रकृयामा लेखक जति वेचैन बन्छ, त्यति नै नामाकरणमा अन्यौल अनुभव गर्छ । तर कहिलेकाहीँ पहिल्यै नाम जुरेपछि लेख्न थालिन्छ । समग्रमा नाम निक्यौल गर्नु निकै चुनौतिपूर्ण हुन्छ । मेरो यस कृतिभित्र समावेश बाह्र वटा कथाहरुको समान चरित्र खोज्दै जाँदा यसको अर्थसँग मेल खान्छ । यसै शिर्षकको कथा पनि समावेश छ । दमन, वहिस्करण र विभेदप्रतिको आक्रोश नै दहाड हो ।

३. तपाईंले ‘दहाड’लाई कथासंग्रह मात्रै नभई ‘समय र समाजको दस्तावेज’ भन्नुभएको छ । यसलाई दस्तावेज बनाउने मुख्य आधारहरू के हुन् ?

दहाडभित्र मूलरुपमा पञ्चायतकालिन समाज व्यवस्था, राज्य संचालनका तरिका र आम मानिसका अनेकन मनोविज्ञानहरु छन् । नेपाली कथा लेखनको परम्पराले नजरअन्दाज गरेका पात्र र प्रवृत्तिहरु अहिले खोज्ने प्रयत्न गरिएको छ । आज पर्यन्त नेपाली समाज विभिन्न वर्गमा विभाजित छ र यसका असरहरु उस्तै छन् भने पञ्चायतकालिन नेपाली समाजका दृश्यहरु कस्ता थिए होलान् ? वर्ण व्यवस्थाको सबैभन्दा कमजोर र पिँधमा पारिएका समुदायहरुले बाँचेको समय र समाजलाई ठिकठाक ढङ्गले दस्तावेशिकरण गर्नु जरुरी छ । आजको समय पुर्नमूल्याङ्कन, पुनर्व्याख्या र पुनर्लेखनको समय हो । त्यस हिसाबले नेपाली समाजको समृद्ध साहित्यमा समेत बहिस्करणमा परेका समुदायलाई मैले कथाको केन्द्रमा राख्ने कोसिस गरेको छु ।

४. पञ्चायतकालीन समाजको विभाजनलाई तपाईंले कथामा निकै सशक्त रूपमा उतार्नुभएको समिक्षाहरु आइरहेका छन् । यस विषयमा लेख्न तपाईंलाई कुन अनुभव वा अध्ययनले बढी प्रभाव पार्‍यो ?

म नेपाली साहित्यलाई केहि समयदेखि निकै नजिक राखेर अध्ययन गर्ने प्रयास गरिरहेको छु । नेपाली सामाजिक कथाहरु खोज्दै जाँदा सिमान्तकृत समुदायका प्रशस्त विषयहरु भेटिए तर एकाध बाहेक त्यसको उपयुक्त रुपमा उल्लेख गरिएको अनुभूति भएन । नेपाली समाज विकासको इतिहास बाँचेका ती श्रम, सिर्जना र सम्भावनाले भरिएका समुदायले त्यो भन्दा बढि लेखिनुपर्ने लायक थिए । तर साहित्यले त्यो हिम्मत नगरेको देखिन्छ । यी विषयहरु मभित्रका बाधाकथाहरु हुन् । मैले त्यहि घाउ देखाउने कोसिस गरेको हुँ । त्यसैले यी यस्ता कारणहरुले मलाई वर्तमानबाट पछाडि फर्किएर एक पटकका लागि ऐतिहासिक कथाहरु लेख्नुपर्‍यो ।

५. तपाईंले मधेस र तराईको गरिबीलाई कर्णालीभन्दा पनि भयावह रूपमा देखेँ भन्नुभएको छ । यो नजर तपाईंको कलम निर्धारण गरेको हो कि तथ्य पनि त्यस्तो छ ?

अहिले कर्णालीको भूगोल अभाव, गरिबी र रोगगस्त समय र समाजको प्रतिक छ । कर्णालीको भौगोलिक विकटताका प्रसस्त असर र प्रभावहरु छन्, र त्यो भन्दा बढि सम्भावना र सपनाहरु छन् भनेर प्रसस्त बहस भएको छ । वितेका पाँच सात वर्षमा मैले लुम्बिनी प्रदेशकै केहि तराईका बस्तीहरु पुग्ने अनुभव गरेँ । त्यहाँको गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, रोगको ग्रस्तताले मलाई कर्णाली बिर्साइदियो ।

आम मानिसलाई तराई समथर भएकाले सुविधासम्पन्न लाग्दो रहेछ तर वास्तविकता निकै भिन्न छ । रुपन्देहीका मर्चवारका फाँटहरु अन्न उत्पादनका भण्डारहरु हुन्, तर यहाँको वस्ती विकास, मानवीय विकासका विषयहरु कति सम्म कमजोर छ भने त्यहाँका मानिसहरु अर्को मानिस देखेर अहिले पनि भयवित बन्छन् । त्यहाँका बालिका र महिलाको अवस्थाको बारेमा उल्लेख नै नगरौँ, सचेत युवाहरु समेत सम्पूर्ण रुपले कमजोर छन् । त्यसकारण मैले उल्लेख गरेको विषय फगत आख्यान र अनुमान होइन ।

६. ‘दहाड’मा विशेषतः सीमान्तकृत समुदायहरूको कथाहरु छन् । ती समुदायसँग प्रत्यक्ष संवाद र अनुभव कत्तिको चुनौतीपूर्ण रह्यो ?

सिमान्तकृत हुनुको अधिकतम् अनुभव मभित्र छ । वर्ण-व्यवस्था, हिन्दुवादी समाज, वर्गभेद, जातीय विभेदजस्ता नेपाली समाजका तमाम क्रुरताहरुबाट म स्वयम् प्रताडित बन्नुपरेको प्रसस्त अनुभवहरु छन् । मजस्तै अर्को सिमान्तकृत र विभेदले जकडेको व्यक्तिसँग मेरा अनुभवहरु सामान्तर हुन् । यीनै विषयहरु कथामा उल्लेख गर्नु मेरा लागि चुनौतिभन्दा बढि सुविधा भए । तर यी विषयहरुको लेखन, प्रकाशन र बजारीकरण निकै चुनौतिपूर्ण छ ।

७. ‘राज्यविहीनता’को अनुभूति तपाईंका कथाहरूमा बारम्बार देखिन्छ । तपाईंको बुझाइमा अहिले पनि त्यस्ता समुदायहरू कत्तिको राज्यविहीन छन् ?

राज्यका संरचनाहरू जस्तै प्रशासन, कानुन, सेवा अहिले सबैतिर फैलिएका छन् । तर प्रश्न छ, के त्यो उपस्थिति न्यायपूर्ण र प्रभावकारी छ ? धेरै ठाउँमा, विशेषतः सीमान्तकृत, दुर्गम वा पहिचानको आधारमा पछाडि पारिएका समुदायहरूमा, राज्य अझै पनि टाढाको, पराइजस्तो अनुभूत हुन्छ । राज्यविहीनता अनुभूतिगत अर्थमा बढी सशक्त छ । नागरिकले आफ्ना आधारभूत अधिकारहरू शिक्षा, स्वास्थ्य, न्याय प्राप्त गर्न सक्दैन र उसको आवाज निर्णय प्रक्रियामा सुन्ने कोही हुँदैन, तबसम्म व्यवहारमा राज्यविहीन हुनुको अर्थ स्पष्ट हुन्छ । यस्तो अवस्था अझै पनि विद्यमान छ ।

मेरो लेखनमा त्यो पीडालाई समात्ने प्रयास छ, मान्छे र राज्यबीचको सम्बन्ध टुटेको कथा नै मेरो कथाको मियो हो ।

८. ‘एक्का’ कथाको पात्र इन्दल मार्फत तपाईंले राजनीतिक प्रयोग र शोषणको यथार्थ देखाउनुभएको पुस्तक समिक्षामा आएका छन् । राजनीति भित्रका यी सामाजिक यथार्थता कुनै वास्तविक घटनासँग पनि मेल खान्छन् कि संयोग मात्रै हुन ?

कथाकारका लागि समाज कच्चा पदार्थ हो । उसले देखेका, भोगेका, सुनेका यथार्थहरूलाई आफ्नै संवेदनशीलता र कल्पनाशीलतासँग मिसाएर कथा बनाउँछ । त्यसैले कथाभित्र देखिने सामाजिक यथार्थता प्रायः कुनै न कुनै वास्तविक अनुभव वा घटनाहरुबाट प्रभावित हुन्छन् । कथाकारले यथार्थलाई जस्ताको तस्तै नउतारेर पुनर्संरचना गर्छ, पात्रहरूलाई नयाँ सन्दर्भ दिन्छ र एउटा सत्यलाई समात्ने प्रयास गर्छ ।

त्यसैले पाठकलाई कुनै पात्र, कुनै घटना वा कुनै परिस्थिति वास्तविक जीवनसँग मिलेजस्तो लाग्नु स्वाभाविक हुन्छ । किनकि कथा र जीवनबीचको दूरी टाढा हुँदैन । दहाडभित्रका सम्पूर्ण पात्रहरु काल्पनिक हुन्, तर उनीहरुले जुनजुन घटनाहरु, बाध्यताहरु र असरहरुको सामना गर्नुपर्ने अवस्था थियो । ति घटनाहरु यथार्थ हुन् ।

९. तपाईंले ‘कसले कथा भन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ’ भन्ने धारणा राख्नुभएको छ । यसले नेपाली कथा लेखनमा कस्तो परिवर्तन ल्याउन सक्छ ?

नेपाली साहित्यको परम्परामा लामो समयसम्म कथा भन्ने अधिकार केही सीमित वर्ग, भाषा-संस्कृति र अनुभवका घेराभित्र केन्द्रित थियो । त्यही कारण धेरै कथाहरूमा समाजको एउटा मात्र अनुहार बढी देखिन्थ्यो, अरू अनुहारहरू गायब थिए । अबको समय आफ्नो कथा आफैभन्ने समय हो ।

अब कथा अरूको बारेमा लेख्नेभन्दा आफ्नो भोगाइबाट लेखिने अवस्थामा आइपुगेको छ । सीमान्तकृत समुदाय, महिलाहरू, आदिवासी, मधेसी, दलित, लैंगिक तथा यौनिक अल्पसंख्यक यी सबैले आफ्नै स्वरमा आफ्नै कथा भन्न थालेपछि, नेपाली कथा लेखन अझै बहुरंगी, बहुआयामिक र यथार्थपरक बन्छ भन्ने मलाई लाग्छ ।

यसले कथाको संवेदना बदल्छ, भाषा बदल्छ र सम्पूर्ण शक्ति-सम्बन्धहरूको पुनर्व्याख्या गर्छ । पाठकले अब आफ्नो दृष्टिकोणलाई पनि मूल्याङ्कन गर्न थाल्नेछ । त्यसैले नेपाली कथा लेखनलाई एकल स्वरबाट बहुस्वरतर्फ लैजाने शक्तिशाली मोडमा हामी छौँ ।

१०. तपाईं पत्रकारिताबाट कथा लेखनमा आउनुभएको हो । यी दुई विधाबीचको अनुभवले तपाईंको लेखन शैलीमा कस्तो फरक पारेको छ ?

कहिलेकाही मलाई एउटै नदीका दुई फरक धारहरू पार गरिरहेजस्तै अनुभव हुन्छ । पत्रकारिताले मलाई तथ्यप्रति अनुशासित बनाउँछ । त्यसका प्रशस्त आचारसंहिता छन्, प्रकृयाहरु छन्, समयका सिमितताहरु छन् । घटनालाई कसरी हेर्ने, कसरी प्रमाणित गर्ने र कसरी स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत गर्ने भन्ने सीप त्यहीँबाट आउँछ । मेरो कथामा यथार्थको जमिन मजबुत छ जस्तो लाग्छ, पात्र र परिवेश यहि समाजको हुन्छ, सामाजिक सन्दर्भहरु मेरै आसपासका हुन्छन् ।

कथा लेखनले मलाई अनेक सीमाभन्दा बाहिर लैजान्छ । कथामा म पात्रको मनभित्र पस्न सक्छु, उसको मौनता, द्वन्द्व र असुरक्षालाई अभिव्यक्त गर्न सक्छु जुन पत्रकारितामा सधैं सम्भव हुँदैन । अर्को फरक भनेको भाषा र संरचनामा छ । पत्रकारिताले मलाई सरल, सिधा र प्रभावकारी भाषा सिकाएको छ, कथा लेखनमा त्यही सरलताभित्र प्रतीक, संकेत र तहहरू थपिने ठाउँ प्राप्त गर्न सकिन्छ ।

यसैले यी दुई विधाले मेरो लेखनलाई सन्तुलित बनाएका छन्, एकातिर यथार्थसँगको इमानदारी, अर्कोतिर कल्पनाशीलता र संवेदनाको विस्तार । यही संगमले मेरो कथा लेखनलाई पृथक बनाएको हो कि जस्तो लाग्छ ।

११. अन्त्यमा, ‘दहाड’ पढेपछि पाठकले के महसुस गरोस् भन्ने तपाईंको अपेक्षा के हो ?दहाडभित्रका कथाहरुले मानवीय संवेदनालाई नराम्रो गरी झकझोर पार्छन् । एउटा कथा एकै बसाईमा सकिने लम्बाईका छन् तर पाठकले पहिलो कथा पनि निश्चित समय लिएर पढ्नुपर्छ । किनकीले त्यसले भावनात्मक रुपमा पाठकलाई हल्लाइदिन्छ । अहिले प्राप्त भएका प्रारम्भिक प्रतिक्रियाहरुले मलाई निकै उत्साहित बनाएको छ । दहाडभित्रका पात्रहरु विद्रोह गर्न नसकेको जस्तो देखिन्छन् तर यी पात्रहरु त्यस समयमा बाँच्नु नै सबैभन्दा विद्रोह हो भन्ने पाठकले बुझ्नेछन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार