सोमबार, १ असार, २०८३

​१२ अगुवा कृषकलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक तालिम जुम्लाको चन्दननाथ र पातारासीमा सम्पन्न

अगुवा कृषकहरूलाई परागसेचकमैत्री कृषिमा आधारित सात दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ। जुम्लाका दुई स्थानीय तह चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाका १२ अगुवा कृषकलाई २५ देखि ३१ जेठसम्म प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो।

​उक्त तालिम हर्ड इन्टरनेसनल अन्तर्गत सञ्चालित नेपाल परागसेचन परियोजनाको आयोजनामा चन्दननाथमा सम्पन्न भएको हो। तालिमको मुख्य उद्देश्य परागसेचन सम्बन्धी सचेतना अभिवृद्धि, जैविक विविधताको संरक्षण, दिगो तथा वातावरणमैत्री कृषि अभ्यासलाई प्रवर्द्धन तथा कृषि अनुसन्धान क्षमता सुदृढ गर्नु रहेको छ।

​कृषि क्षेत्रमा परागसेचकहरूको महत्त्वबारे कृषकहरूलाई जानकारी गराउँदै दिगो कृषि प्रणालीको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। तालिमको सहजीकरण हर्ड इन्टरनेसनलका कृषि अधिकृत धिरेन्द्र कार्कीले गरेका थिए।

उनले कृषकहरूलाई परागसेचक कीराहरूको संरक्षण र कृषिको उत्पादकत्व बढाउन आधुनिक तथा वातावरणमैत्री प्रविधिहरूका बारेमा विस्तृत प्रशिक्षण दिएका थिए।

​तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले परागसेचक मैत्री कृषि प्रणाली वर्तमान समयको आवश्यकता भएको उल्लेख गरे।

उनले परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जैविक विविधताको रक्षा नगरेसम्म उत्पादनमा दिगोपन ल्याउन नसकिने भन्दै तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न कृषकहरूलाई आग्रह गरे।

​साथै, कर्णाली प्रदेश अन्तर्गत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आमन्त्रित विषय विज्ञ प्रशिक्षकहरूले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

परियोजनाअन्तर्गत दिगो कृषि तथा जैविक विविधता संरक्षणका लागि परागसेचकहरूको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

​हाल जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा प्रारम्भिक चरणमा पालिका अभिमुखीकरण, छनौट गरिएका कृषि बाली वस्तुहरूको उत्पादन योजना निर्माण तथा कार्यान्वयन रणनीति तयार गर्ने कार्यहरू अगाडि बढ़ाइएको आयोजकले जनाएको छ।

तालिमबाट स्थानीय कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि हुनका साथै परागसेचक संरक्षण र दिगो कृषि प्रणालीको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने चन्दननाथ नगरपालिकाका कृषि शाखा प्रमुख शरद पोखरेलले बताए।

उनका अनुसार तालिममार्फत नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउँदै राष्ट्रियस्तरको परागसेचन रणनीतिलाई सहयोग पुग्नेछ। जैविक विविधता संरक्षण, बाली उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा खाद्य एवं पोषण सुरक्षामा टेवा पुग्नेछ।

परियोजनाका साझेदार संस्थाहरूमा नेपाल सरकार, डार्विन इनिसिएटिभ, ब्रिस्टल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा स्थानीय पहल जैविक विविधता, अनुसन्धान तथा विकास संस्था रहेको अर्जुन सुनारले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार