आईतवार, १० जेष्ठ, २०८३

हावाहुरीले उजाडियो तिलाको ज्योति मावि, विद्यार्थीको भविष्य अन्योलमा

जुम्लाको तिला गाउँपालिका–९ राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालय शुक्रबार आएको शक्तिशाली हावाहुरीका कारण गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ। हावाहुरीले विद्यालयको छाना उडाउनुका साथै काठबाट निर्मित अधिकांश संरचना ढालेपछि विद्यालय अहिले भग्नावशेषमा परिणत भएको छ।

विद्यालयमा रहेका कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्री तथा सौर्य ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा प्रभावित भएको छ। केही घण्टाअघिसम्म विद्यार्थीको चहलपहलले भरिएको विद्यालय परिसर अहिले सुनसान बनेको छ।

विद्यालय प्रशासनका अनुसार हावाहुरीले करिब ८ देखि १० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। प्रधानाध्यापक मोतिराम बुढाले विपत्तिपछि विद्यालयको अवस्था अत्यन्त दर्दनाक बनेको बताउँदै बालबालिकाको शिक्षामाथि नै संकट आएको उल्लेख गरे।

“हिजोसम्म यही आँगनमा बालबालिका हाँस्दै पढिरहेका थिए, आज त्यही ठाउँ भग्नावशेष बनेको छ,” उनले भावुक हुँदै भने।

स्थानीयवासी हरिबहादुर थापाले ज्योति मावि गाउँका बालबालिकाको आशा र उज्यालो भविष्यको आधार भएको बताए। दुर्गम क्षेत्रका अभिभावकले अनेक दुःख र अभाव सहेर छोराछोरीलाई शिक्षा दिन खोजिरहेको अवस्थामा प्राकृतिक विपत्तिले ठूलो चोट पुर्‍याएको उनको भनाइ छ।

विद्यालयमा विद्युत् पहुँच नपुगेकाले सौर्य ऊर्जा प्रणालीमार्फत पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हावाहुरीले उक्त प्रणालीसमेत ध्वस्त बनाएपछि शैक्षिक गतिविधि सञ्चालन गर्न थप कठिनाइ उत्पन्न भएको शिक्षकहरूले बताएका छन्।

विद्यालय ध्वस्त बनेपछि कतिपय विद्यार्थी भावुक बनेका छन् भने अभिभावकहरू छोराछोरीको अध्ययन कसरी अघि बढाउने भन्ने चिन्तामा छन्। स्थानीयको श्रमदान, समुदायको सहयोग र वर्षौँको प्रयासबाट निर्माण गरिएको विद्यालय केही क्षणको प्राकृतिक विपत्तिले तहसनहस बनेपछि गाउँभर नै निराशा छाएको छ।

विद्यालय व्यवस्थापन समितिले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूसँग पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार