शुक्रबार, २ आश्विन, २०८३

आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाउने बाहिरै, सडकबाट बाटो काट्ने जेल !

नेपालीले आफ्नो गौरव मान्ने सिंहदरबार छोपेर राखिएको छ । तर, प्रतिपक्षी दलले यो कुरा सदनमा उठाउन सकेको छैन । को हो ती संरचना जलाउने ? जेलबाट कैदीबन्दी भगाउने को हुन् ? विपक्षी दल यी विषय उठाउँदैनन् ।

कानुनको नजरमा सबै सराबरी हुन्छन् । तर, यहाँ कोही सडकबाट बाटो काटेकै आधारमा प्रहरीको हिरासतमा पुग्छन्, कोही सरकारी सम्पत्ति जलाउँदा पनि खुलेआम हिँड्छन् । आकाशे पुलबाट सडक काट्नुपर्नेमा सडकबाट काटेपछि नयाँ बानेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो केही दिनअघि सार्वजनिक भयो ।

ती व्यक्तिलाई समातियो, म्याद थप भयो । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवनलगायत सरकारी संरचना जलाउने, ४५० भन्दा बढी जनप्रतिनिधिको घर खरानी बनाउनेहरु भने अझै बाहिरै छन् । अन्य जनप्रतिनिधिको घर जल्दा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको जोगियो ।

अन्य पार्टीका नेताको घर खरानी बनाइँदा रास्वपाका सभापति रवि लामिछानेसहितका नेताको घर बच्यो । आफ्‌नो घर जोगिएको भएकाले पनि कारबाही गर्न चासो नदेखाएका हुन् कि ? भन्ने प्रश्न उठेको छ । बुढापाकाले भन्थे,‘सानालाई ऐन, ठूलालाई चेन ।’ जेनजी विद्रोहको घटनामा कारबाही प्रक्रिया अगाडि बढाउने हो भने रास्वपाबाट मन्त्री र सांसद बनेकाहरु धेरै जेल पुग्छन् ।

आन्दोलनलाई भड्काउनमा उनीहरुको ठूलो हात छ । जेल कसको कारण तोडियो ? कैदीबन्दी कसरी भागे ? जनताले आफ्‌नो आँखाले छर्लङ्ग देखेका छन् । सिंहदरबारलगायत सरकारी सम्पत्ति जलाउने अग्रणी भूमिकामा को थिए ? यो पनि स्पष्ट जानकारी भएकै कुरा हो ।

आफै पर्ने भएपछि छानबिन प्रतिवेदन लुकाइएको भन्नेपनि प्रष्टै छ । आन्दोलनको नाममा सरकारी र निजी सम्पत्ति खरानी बनाउनेहरु सरकारमा पुगिरहँदा सडकबाट बाटो काटेको निहुँमा नागरिक जेल पुगेका छन् । कानुनी शासन र सुशासन भनेको यहीँ त होला ? सडकबाट जलेका संरचना देख्दा नागरिकको मुटु चिरिक्क हुन्छ ।

नेपालीले आफ्नो गौरव मान्ने सिंहदरबार छोपेर राखिएको छ । तर, प्रतिपक्षी दलले यो कुरा सदनमा उठाउन सकेको छैन । को हो ती संरचना जलाउने ? जेलबाट कैदीबन्दी भगाउने को हुन् ? विपक्षी दल यी विषय उठाउँदैनन् । न गौरीबहादुर कार्की र लिली थापाको नेतृत्वमा बनेको प्रतिवेदन कार्यान्वयन गर्नै सरकारलाई दबाब दिन सक्छन् ।

महिनौं लगाएर बुझाइएको प्रतिवेदन सरकारले थन्काएर राखेको छ । जेनजी आन्दोलन भएको एक वर्ष पुरा भइसकेको छ । सरकारले जेनजी दिवसको अवसरमा सरकारी बिदा दियो । देश खरानी बनाइएको खुशीयालीमा जेनजी दिवस मनाइयो । तर, जलेका संरचना अझै जस्ताको जस्तै छ ।

निजी क्षेत्रले जलेका संरचना पुनःनिर्माण गरिसकेको छ । तर, सरकारी सम्पत्तिको पुनःनिर्माण कहिले शुरु हुने ? टुंगो छैन । अहिलेका गृहमन्त्री सुधन गुरुङ्गले जेनजी आन्दोलनपछि ‘यस्ता सिंहदरबार हजारौं बनाइदिन्छौं’ भनेका थिए । एक वर्ष बित्यो, त्यही पनि पुनःनिर्माण गर्न सकिएको छैन ।

न अपराधीहरु कानुनको कठघरामा आएका छन् । के–के न गर्छौं भनेर देश जलाइयो । पछिल्लो पाँच महिनाको सरकारले काम कारबाही हेर्ने हो भने भन्नलाई एउटा पनि छैन । सुशासन कायम गर्ने बताएको सरकार कुशासनको बाटोमा हिँडेको छ । प्रधानमन्त्री बालेन्द्र साहमा जवाफदेहिताको अभाव देखिएको छ ।

मन्त्रीहरु एकपछि अर्को विवाद तानिएका छन् । काम सिन्को नभाँच्ने अनि नागरिकले विरोध गर्दा धम्क्याउने, तर्स्याउने । अरुको विरोध गरेर आएकाहरु अहिले आफ्‌नो विरोध सुन्न सक्दैन । अनि यिनीहरुमा जवाफदेहिता छ ? काम गर्ने क्षमता छ ? लोकतन्त्रले जनतालाई आफ्नो आवाज राख्ने अधिकार दिएको छ ।

जनताले सरकारको काम कारबाहीको विरोध गर्न पाउँछन् । तर, सरकारमा बस्नेहरुमा विरोध सुन्न सक्ने क्षमता छैन । विरोध नसुन्ने हो भने काम गरेर देखाउनुपर्यो । जनताले तिरेको करबाट बनाइएको संरचना खरानी बनाएर, सरकारी गाडी जलाएर, जेलबाट कैदीबन्दी भगाएर यो सरकार बनेको छ ।

रास्वपालाई सदनमा पुर्‍याउन पनि जनताले तिरेको कर नै खर्च गर्नुपरेको छ । फागुन २१ गतेको चुनावमा २० अर्ब खर्च भएको छ । तर, के उपलब्धि हासिल भयो ? रास्वपाको दुई तिहाईको बलियो सरकार भएपनि के काम गर्न सक्यो ? भाषण ठूला छन्, काम के छ ? देश बनाउँछु भनेर आएको रास्वपा सांसदले घरभाडादेखि सबै सुविधा बुझेका छन् ।

सांसदहरु मासिक लाखौं तलबभत्ता बुझ्‌ने, नागरिक पैसा नभएर सडकमै सुत्केरी हुने । योभन्दा विडम्बनापूर्ण कुरा के होला ? पुराना सरकारमा पनि नागरिकले यसरी सडकमा बच्चा जन्माउनुपरेको थिएन होला । जेनजी आन्दोलनलाई भड्काउन सामाजिक सञ्जालबाट को कोले कस्तो रोल खेले ?

छर्लङ्ग छ । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा थियो । आन्दोलनको मौका छोपेर उनी निस्किए । अहिले उनले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाबाट छुट्कारा पाइसके । काठमाडौं महानगरको मेयरबाट बालेन सिँधै प्रधानमन्त्री भए ।

एनजिओ चलाउने गृहमन्त्री बनेका छन् । महानगरका मेयरका सल्लाहकारहरु अहिले देशको मन्त्री छन् । विभिन्न आरोप लागेकाहरु प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार छन्, त्योपनि राज्यमन्त्री सरहको सुविधा खाएर । योभन्दा बढी सुशासन के कायम होला र ? सुशासनको नारा दिएर जनतालाई भ्रममा पारियो ।

सरकारले कस्तो सुशासन कायम गरेको छ ? देखिँदैछ । सरकार पनि शासक, सरकारी कर्मचारी पनि । राजतन्त्र हटेपनि जनतालाई दास देख्ने प्रवृत्ति अझै छ । यहीँ कारणले जेनजी आन्दोलनमा आए । स्वार्थ समूहले त्यसमा आफ्‌नो रोटी सेके । फेरि पनि इतिहास नदोहोरिएला भन्न सकिन्न ।

२०८० भदौ १६ गते शनिबार बालेनकी श्रीमती सवाररत सरकारी गाडी ट्राफिक प्रहरीले रोके । उनले सिंहदरबार जलाइदिने चेतावनी दिए । सिंहदरबार वास्तवमै जल्यो । जेनजी आन्दोलनअघि सेतो देखिने सिंहदरबारमा खरानीबाहेक केही छैन । त्यसपछि बालेनले स्पष्टीकरणमा गाडीमा आफ्‌नी सुत्केरी श्रीमती रहेको बताए ।

अस्ति सडकमा बच्चा जन्माउने पनि महिला नै थिइन् । उनकी श्रीमती र ती महिलामा के फरक थियो ? आर्थिक हैसियत ? पहुँच ? मेयरकी श्रीमतीलाई रोक्दा सिंहदरबार जलाउने चेतावनी आयो । तर, एउटा नागरिकले सडकमा बच्चा जन्माउँदा सरकार मौन छ । देश बनाउने, गरिबलाई न्याय दिने नाममा देशमा पटकपटक आन्दोलन भए ।

त्यो आन्दोलनबाट जनताले के पाए ? पैसा नहुँदा सडकमा बच्चा जन्माउनुपर्ने बाध्यता ? देशमा परिवर्तनका लागि सँधै लड्ने, अगाडि आउने जनता हुन्छन् । तर, फाइदा लिने अहिले सरकार र सदनमा भएकाजस्तै व्यक्तिहरु । देशमा परिवर्तन आउँला, जनताले सुःखको सास फेर्न पाउँलान् भनेर आन्दोलन गरिन्छ ।

तर, सधै जनताको आशामा पानी फेरिन्छ । सडकबाट बाटो काट्दा जेल जानुपर्ने देशमा जनताले कहिले न्याय पाउँछन् ? कानुन जनताका लागि हो । तर, कानुनको दुरुपयोग भयो । आफ्‌नो बचाउने र अरुलाई फसाउनेमा कानुनको प्रयोग भयो ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार