सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बिदाको दिनसमेत घरदैलोमै पुगेर सेवा प्रवाह गरिरहेका चन्दननाथ नगरपालिका -१० का वडा अध्यक्ष नवराज शाहीले जनप्रतिनिधि हुनुको जिम्मेवारी र जनताको अपेक्षाबीचको अन्तरसमेत खुलेर प्रस्तुत गरेका छन्। वडा नम्बर १० मा सडक, खानेपानी, सिँचाइ, कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधारका क्षेत्रमा भएका काम, उपलब्धि र चुनौतीबारे उनको मिश्रित प्रतिक्रिया छ।
विशेषगरी जुम्लाको स्याउ उत्पादनलाई बजारसँग जोड्न गरिएको पहल, कृषकले उत्पादन गरेको स्याउको उचित मूल्य सुनिश्चित गर्ने प्रयास, लिफ्ट सिँचाइ आयोजना तथा एक घर–एक धारा कार्यक्रमलाई उनी महत्वपूर्ण उपलब्धिका रूपमा मान्छन्। त्यस्तै, बजेट विनियोजनमा जनसंख्या, भूगोल र कार्यसम्पादनलाई आधार बनाउनुपर्ने आफ्नो माग, दामासाही बजेटका कारण ठूलो वडाले भोग्नुपरेको समस्या र नगर तथा वडाबीचको समन्वय अभावका विषयमा पनि उनले स्पष्ट धारणा दिएका छन्।
शिक्षामा घट्दो विद्यार्थी संख्या, स्वास्थ्य पूर्वाधारको अवस्था, संघ तथा प्रदेशबाट आउने बजेटमा देखिएको कमी र स्थानीय तहको आन्तरिक आम्दानी बढाउनुपर्ने आवश्यकताबारे हुँदाहुँदै पनि बजेट अभाव मुख्य चुनौती रहुको उनको भनाइ छ। आगामी दिनमा वडा नम्बर १० को पर्यटकीय सम्भावना बोकेको ठाकुरज्यू क्षेत्रलाई विकास गर्नुपर्ने सोच राखेका वडा अध्यक्ष नवराज शाहीसँग कुटिरोका लागि महेश नेपालीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।
तपाईं सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलोमै पुगेर सेवा दिइरहनुभएको छ। यस्तो सेवा प्रवाहको अभ्यास वडा नम्बर १० मा कसरी भइरहेको छ?
अहिले सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा बायोमेट्रिक लिनुपर्ने व्यवस्था छ। तर देशभरि नै सर्भरको समस्याका कारण कार्यालय समयमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बायोमेट्रिक लिन समस्या भइरहेको थियो। त्यसबारे हामीले पञ्जीकरण विभागमा समेत सम्पर्क गर्यौँ। त्यसपछि बिहान ९ बजेअघि वा बेलुका ५ बजेपछि बायोमेट्रिक लिन सकिने जानकारी पाएपछि कर्मचारीलाई बिदाको दिन घरघरमा पठाउनुभन्दा आफैँ जनताको घरदैलोमा पुगेर सेवा दिने निर्णय गरेँ।
मलाई निर्वाचनका बेला भोट माग्न घरदैलोमा पुग्नुभन्दा जनप्रतिनिधिका रूपमा जनतालाई सेवा दिन घरदैलोमा पुग्नु अझ महत्वपूर्ण हो भन्ने लाग्छ। त्यसैले बिदाको दिनसमेत जनताको सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक बायोमेट्रिक लिन घरघरमै पुगिरहेको हुँ।
तपाईं निर्वाचित भएको चार वर्ष पूरा भएर पाँचौँ वर्षमा प्रवेश गर्नुभएको छ। यो अवधिमा सम्झनलायक मुख्य कामहरू के–के भए?
वडा नम्बर १० पहिलेको कार्तिकस्वामी गाविसका वडा नम्बर १ देखि ९ सम्म समेटिएको ठूलो वडा हो। त्यसैले यहाँ धेरै महत्वपूर्ण काम भएका छन्। खल्ना गाउँमा करिब २० घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिएको छ। नदी कटानका कारण बग्न थालेका जमिनलाई नदी नियन्त्रणमार्फत संरक्षण गर्ने काम पनि गरेका छौँ।
त्यसैगरी विभिन्न गाउँमा दुई चार लाख रुपैयाँका भित्री सडक, अपाङ्गमैत्री बाटो तथा अन्य पूर्वाधार निर्माण भएका छन्। सिलाम गाउँमा करिब ५०० मिटर आरसीसी सडक निर्माण भएको छ। कृषि क्षेत्रमा विशेष ध्यान दिँदै सिलामा, पिपल गाउँदेखि गोठालीसम्म आवश्यक पक्की कुलो निर्माण सम्पन्न गरेका छौँ। यसबाट पहिले बाँझो रहेका जमिनमा समेत सिँचाइ सुविधा पुगेको छ।
बारकोबाढा क्षेत्रमा खानेपानीको समस्या थियो। वडा, स्थानीय तह र गैरसरकारी संस्थाको समन्वयमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरी घरघरमा खानेपानी पुर्याउने काम सम्पन्न भएको छ।
गैरसरकारी संस्था र अन्य निकायसँगको समन्वयमा पनि काम गरिरहनुभएको छ?
स्थानीय तहले मात्र सबै काम गर्न सम्भव हुँदैन। त्यसैले संघ, प्रदेश तथा गैरसरकारी संस्थासँग समन्वय गरेर धेरै काम भएका छन्। पर्यटन क्षेत्र ठाकुरज्यू जाने करिब चार किलोमिटर सडक आरसीसी गरिएको छ।
त्यसैगरी तलिबाडा गैरागाउँ क्षेत्रमा करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट सिँचाइ आयोजना निर्माण भएको छ। त्यसमा १० प्रतिशत स्थानीय सरकारको र ९० प्रतिशत संस्थाको बजेट रहेको छ। अहिले त्यो आयोजना सञ्चालनमा छ। यसबाट स्याउका बिरुवा तथा अन्य नगदेबालीमा सिँचाइ गर्न सहज भएको छ।
वडा नम्बर १० मा सडक र अन्य पूर्वाधारको अवस्था कस्तो छ?
विगतमा वडा कार्यालय जाने बाटोसमेत कठिन थियो। चुनावका बेला बुढाबुढीहरू गिट्टीमा हिँडेर मतदान गर्नुपर्ने अवस्था थियो। अहिले धेरै भित्री सडकको स्तर सुधार भएको छ र वडा कार्यालय जाने बाटो पनि व्यवस्थित भएको छ।
बोहरगाउँ विद्यालय जाने बालबालिकालाई वर्षायाममा बाढी तथा पहिरोको जोखिम थियो। त्यहाँ तटबन्ध तथा जाली निर्माण गरेर बाटोलाई सुरक्षित बनाएका छौँ। केही काम स्थानीय तहबाट र केही संघ सरकारको कार्यक्रममार्फत सम्पन्न भएको छ। बोहरगाउँ विद्यालयको गेट निर्माणलगायत शैक्षिक पूर्वाधारमा पनि सहयोग गरेका छौँ।
नगरपालिकाबाट वडाले प्राप्त गर्ने बजेट चित्तबुझ्दो छ?
ठूलो वडा भएकाले बजेट विनियोजनको विषयमा समस्या छ। कानुनअनुसार बजेट विनियोजन गर्दा जनसंख्या, भूगोल र कार्यसम्पादनलाई आधार बनाउनुपर्ने हो। तर व्यवहारमा सबै वडालाई लगभग दामासाही रूपमा बजेट दिइँदा ठूलो भूगोल र धेरै जनसंख्या भएको वडा प्रभावित हुन्छ।
सानो पुरानो गाविसको एउटा वडा र ठूलो पुरानो गाविस बराबरको वडालाई समान बजेट दिँदा जनताको अपेक्षा पूरा गर्न कठिन हुन्छ। ठूला काम गरेर जनताको चित्त बुझाउने अवस्था हुँदैन। सबैको आवश्यकता सम्बोधन गर्न खोज्दा बजेट पर्याप्त हुँदैन।

यही कारणले विगतमा वडा नम्बर १० ले बजेटसमेत नलिएको अवस्था थियो?
आर्थिक वर्ष २०७८/७९ मा हामीले करिब नौ महिनासम्म बजेट लिएनौँ। हाम्रो माग स्पष्ट थियो, जनसंख्या, भूगोल र कार्यसम्पादनका आधारमा बजेट विनियोजन हुनुपर्छ। दामासाही रूपमा बजेट बाँडिएपछि हामीले असहमति जनाएका थियौँ। पछि हिउँदे सभाबाट सूत्रमा पुनः बजेट समावेश भएपछि करिब छ महिनापछि बजेट लियौँ।
अहिले आर्थिक वर्ष २०८३/८४ मा वडा नम्बर ८, ९ र १० लाई अन्य वडाभन्दा करिब पाँच लाख रुपैयाँ थप गरिएको छ। यो सकारात्मक सुरुवात हो, तर यस्तो विधि सुरुदेखि नै लागू हुनुपर्थ्यो।
नगर प्रमुख र उपप्रमुखबाट आउने योजनासँग वडाका योजनाहरूबीच समन्वय हुन्छ?
पर्याप्त समन्वय छैन। नगर प्रमुख र उपप्रमुखले दिने कार्यक्रमका बारेमा वडा कार्यालयलाई जानकारी गराइएको भए योजना दोहोरिने समस्या हुँदैनथ्यो। एउटै ठाउँमा नगर प्रमुखको कार्यक्रम, उपप्रमुखको कार्यक्रम र वडाको कार्यक्रमसमेत पर्न सक्छ।
यदि वडा कार्यालयसँग समन्वय गरेर कार्यक्रम निर्धारण गरिने हो भने एउटै ठाउँमा दोहोरो योजना राख्नुभन्दा आवश्यक नभएको अर्को बस्तीमा कार्यक्रम लैजान सकिन्थ्यो। त्यसबाट राज्यको उपस्थिति सबै बस्तीमा अनुभूति हुन्थ्यो।
जनप्रतिनिधि भएपछि जनताका अपेक्षा र आफ्नो अनुभवमा कस्तो फरक पाउनुभयो?
निर्वाचित हुनुभन्दा अघि विगतका जनप्रतिनिधिले किन यस्तो काम गर्न सकेनन् होला भन्ने लाग्थ्यो। अहिले आफैँ जनप्रतिनिधि भएपछि थाहा भयो, काम गर्न धेरै कुराले रोक्दो रहेछ।
निर्णय प्रक्रिया, बहुमत र अल्पमत, कानुनी प्रक्रिया तथा बजेटको सीमाजस्ता कुराले प्रभाव पार्छन्। अल्पमतले जति बोले पनि बहुमतबाट निर्णय भएपछि कार्यान्वयनमा समस्या हुन्छ। त्यसैले जनप्रतिनिधिले चाहँदैमा सबै काम गर्न सक्ने अवस्था हुँदैन।
चुनावअघि तपाईंले जनतासँग मुख्य रूपमा के गर्ने प्रतिबद्धता गर्नुभएको थियो?
नेपाल कृषि प्रधान देश भएकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने मेरो प्रतिबद्धता थियो। वडा नम्बर १० स्याउ उत्पादनको महत्वपूर्ण क्षेत्र भएकाले कृषकले उत्पादन गरेको स्याउको मूल्य वृद्धि र बजारीकरण सुनिश्चित गर्नुपर्छ भन्ने मेरो धारणा थियो।
त्यसैअनुसार पहिलो वर्षमै ‘सुन्दर सुदूरपश्चिम’ नामको कम्पनीलाई वडामा ल्याएर स्याउ खरिदको वातावरण बनायौँ। त्यो कम्पनी अहिले पनि वडामै आएर स्याउ खरिद गरिरहेको छ। सुरुमा करिब ७९ रुपैयाँ प्रतिकिलोबाट खरिद सुरु भएको स्याउ अहिले ८५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। कृषकलाई नगद भुक्तानी हुने र आर्थिक रूपमा पारदर्शी कारोबार हुने भएकाले कृषकमा विश्वास बढेको छ।
अब उत्पादन गरेको स्याउ बजार नपाएर कुहिन्छ कि भन्ने चिन्ता धेरै हदसम्म हटेको छ। कृषकले उत्पादन गर्ने र बजारको व्यवस्था हुने वातावरण बनाउनु हाम्रो महत्वपूर्ण उपलब्धि हो।
पूर्वाधार विकासमा तपाईंले कस्तो अनुभव गर्नुभयो?
पूर्वाधारमा काम गर्ने क्रममा धेरै चुनौती छन्। दुई–तीन लाख रुपैयाँका साना योजनाले ठूलो गुणस्तरको काम गर्न कठिन हुन्छ। २० प्रतिशत समुदायको योगदान, होर्डिङ बोर्ड, विभिन्न कागजी प्रक्रिया र भुक्तानीका लागि पटक–पटक नगरपालिका धाउनुपर्ने अवस्थाले जनतालाई झन्झट हुन्छ।
सानो बजेटका धेरै योजना राखेर काम गर्नु भन्दा आवश्यक ठाउँमा ठूला र गुणस्तरीय योजना सञ्चालन गर्नु राम्रो हुन्छ। अहिले पनि धेरै काम जनताको चित्त बुझाउने किसिमले मात्र गर्नुपर्ने बाध्यता छ।
संघ र प्रदेशबाट आउने बजेटको अवस्था कस्तो छ?
अघिल्लो आर्थिक वर्ष वडा नम्बर १० मा संघ र प्रदेशबाट करिब छ करोड रुपैयाँ बराबरका योजना आएका थिए। तर यस वर्ष त्यस्तो बजेट आएको छैन।
संघ र प्रदेशबाट बजेट ल्याउन जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूले प्रयास गर्छन्। तर बजेट आएपछि टेन्डर प्रक्रियालगायतका कानुनी जटिलता हुन्छन्। २० लाख रुपैयाँभन्दा माथिका योजनामा टेन्डर गर्नुपर्ने व्यवस्था छ।
टेन्डर गर्दा बाहिरका ठेकेदारले पनि काम पाउन सक्छन्। त्यसो हुँदा बजेटको ठूलो हिस्सा स्थानीय समुदायमा प्रत्यक्ष रूपमा घुम्न पाउँदैन। उपभोक्ता समितिमार्फत स्थानीयले काम गर्ने अवस्था भएको भए स्थानीयको आम्दानी र जीवनस्तर सुधारमा पनि सहयोग पुग्थ्यो।

स्वास्थ्य क्षेत्रमा वडा नम्बर १० को अवस्था कस्तो छ?
वडा नम्बर १० मा आयुर्वेद स्वास्थ्य केन्द्र छ। विशेषगरी ज्येष्ठ नागरिकहरू सामान्य समस्या हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा आयुर्वेद स्वास्थ्य केन्द्रमा बढी जाने गरेको देखिन्छ।
कार्तिकस्वामी स्वास्थ्य चौकीको भवन पहिले पर्याप्त गुणस्तरीय थिएन। अहिले प्रदेश सरकारको सहयोगमा दुईतले भवन निर्माण भइरहेको छ। पहिलो तला सम्पन्न भइसकेको छ भने दोस्रो तलाको काम अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य संस्थामा ल्याब, ओपीडीलगायतका लागि पर्याप्त कोठा र पूर्वाधार आवश्यक हुन्छ। त्यसतर्फ सुधार भइरहेको छ।
शिक्षामा वडा पछाडि पर्नुको कारण के हो?
वडा नम्बर १० मा तीनवटा विद्यालय छन्। विद्यार्थी संख्या कम हुनु ठूलो चुनौती हो। अहिले गाउँमा बालबालिकाको संख्या नै घटिरहेको छ। विवाहको उमेर बढ्नु, लामो समय अध्ययन गर्नु, कम सन्तान जन्माउने प्रवृत्ति बढ्नुजस्ता कारणले विद्यालयमा विद्यार्थी संख्या घटेको छ।
जनज्योति विद्यालयमा विद्यार्थी संख्या बढाउन अर्को वडामा रहेको आश्रय तथा दीर्घकालीन संरक्षणमा रहेका बालबालिकालाई यहाँ अध्ययन गराउने गरी त्रिपक्षीय सम्झौता गरेका छौँ। अहिले केही विद्यार्थी त्यहाँबाट जनज्योतिमा आउन थालेका छन्।
गैरागाउँको कार्तिकस्वामी आधारभूत विद्यालयमा अंग्रेजी माध्यमका किताब र विद्यार्थीका लागि पोसाकको व्यवस्था गरेका छौँ। पहिले २५ जना विद्यार्थी रहेको विद्यालयमा अहिले ४६ जना पुगेका छन्। यसले विद्यालयमा केही सकारात्मक प्रभाव परेको देखिन्छ।
बजेट वितरणमुखी भयो भन्ने आलोचना पनि छ। तपाईंको धारणा के हो?
स्थानीय तहको बजेट सकेसम्म वितरणमुखी हुनु हुँदैन। वडा नम्बर १० ले पाँच वर्षको कार्यकालमा वितरणमुखी कार्यक्रमका रूपमा दुईवटा कार्यक्रम मात्र गरेको छ, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम र महिलाहरूका लागि तीज विशेष कार्यक्रम।
ज्येष्ठ नागरिकले अन्य वडामा हर्लिक्स, कम्बल वा थर्मसजस्ता सामग्री वितरण भएको देखेपछि वडा नम्बर १० मा किन हुँदैन भनेर प्रश्न उठाउनुभयो। लामो समयदेखि उहाँहरूको माग थियो। अन्तिम वर्षमा भए पनि उहाँहरूको माग सम्बोधन गर्नुपर्ने अवस्था आयो। त्यसैले यी दुई कार्यक्रम गरेका हौँ।
चालु आर्थिक वर्षको बजेटबाट मुख्य काम के गर्ने योजना छ?
अहिले वडा नम्बर १० का सडकमा रातिको समयमा अँध्यारो हुने समस्या छ। पक्की पुलदेखि बोहरगाउँ विद्यालय, आयुर्वेद गेटसम्म तथा पक्की पुलदेखि पिपलगाउँको डाँडासम्म सडक बत्ती जडान गर्ने योजना छ।
बस्तीस्तरबाट आएका योजनालाई पनि सकेसम्म सम्बोधन गर्ने प्रयास हुन्छ। सबै माग पूरा गर्न सक्ने बजेट छैन, तर सामान्य रूपमा सबै बस्तीलाई समेटेर जाने प्रयास हुनेछ। सडक बत्ती यो वर्षको मुख्य काम हुनेछ। दशैँअघि नै सडक झिलिमिली बनाउने लक्ष्य छ।
कार्यकालमा गर्न नसकेको र अहिले पनि थकथक लागेको कुनै काम छ?
धेरै काम छन्। विशेषगरी पर्यटन क्षेत्र ठाकुरज्यूलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नसकेकोमा थकथक लाग्छ।
ठाकुरज्यू निकै आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्छ। तर नगरपालिकाको पर्याप्त ध्यान त्यतातिर जान सकेन। छिमेकी तातोपानी गाउँपालिकाले आफ्नो क्षेत्रका पर्यटकीय सम्भावनाको प्रचार–प्रसारमा जुन किसिमको पहल गरेको छ, त्यस्तै सकारात्मक पहल यहाँ पनि आवश्यक छ।
ठाकुरज्यूलाई पर्यटकीय गन्तव्य बनाउन के गर्न सकिन्छ?
पालिकाको नेतृत्व सकारात्मक हुनुपर्छ। साना–साना मन्दिर वा टुक्रे योजनामा करोडौँ रुपैयाँ खर्च गर्नुभन्दा ठाकुरज्यूजस्ता पर्यटकीय क्षेत्रमा लगानी गर्न सकियो भने दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ।
ठाकुरज्यूलाई सडकबाट सहज पहुँच हुने बनाउने, पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार तयार गर्ने र दीर्घकालीन रूपमा केबलकारजस्ता संरचनाको सम्भावना अध्ययन गर्न सकिन्छ। यसो गर्न सकियो भने पर्यटनबाट ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ।
नगरपालिकाको आन्तरिक आम्दानीको अवस्था कस्तो छ?
नगरपालिकाको आन्तरिक आम्दानी बढाउने विषयमा पर्याप्त ध्यान पुगेको छैन। वर्षभरिमा करिब दुई करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अवस्थामा त्यसैबाट कर्मचारी व्यवस्थापन गर्ने कि विकास गर्ने भन्ने चुनौती हुन्छ।
स्थानीय तह संघ र प्रदेश सरकारको बजेटमा मात्र निर्भर हुनु हुँदैन। आफ्नो आन्तरिक स्रोत बढाएर आत्मनिर्भर बन्ने बाटोमा जानुपर्छ। राजस्वको स्रोत बढाउन सके मात्रै दीर्घकालीन विकास सम्भव हुन्छ।
आगामी निर्वाचनमा फेरि वडा अध्यक्षका रूपमा उठ्ने तयारी छ?
त्यो मेरो व्यक्तिगत निर्णय मात्र होइन। जनता नै जनार्दन हुन्। जनताले के चाहन्छन्, कसलाई रुचाउँछन् भन्ने महत्वपूर्ण कुरा हो। मैले गरेको कामको मूल्यांकन पनि जनताले नै गर्ने हो।
पार्टीले अवसर दिएको अवस्थामा फेरि जनतामाझ जाने हो। पार्टीले उम्मेदवार बनाएको खण्डमा जनताको बीचमा गएर पुनः अनुरोध गर्नेछु। अन्तिम निर्णय जनताको हातमा हुन्छ र पार्टीको निर्णयलाई पनि स्वीकार गर्नुपर्छ।
अन्त्यमा, तपाईंको पाँच वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ?
सीमित बजेट र विभिन्न कानुनी तथा प्रक्रियागत चुनौतीका बीचमा पनि जनताको अपेक्षा पूरा गर्ने प्रयास गरेका छौँ। सबै काम गर्न सकेनौँ, सबैको चित्त बुझाउन सकेनौँ। तर कृषि, सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधारमा सकेसम्म काम गरेका छौँ।
अब बाँकी समय पनि जनताको सेवा र आवश्यक काममा केन्द्रित हुनेछ। जनप्रतिनिधिका रूपमा मैले जनताको बीचमा रहेर काम गर्ने प्रयास गरेको छु। आगामी दिनमा पनि जनताको आवश्यकता र सुझावलाई प्राथमिकता दिनेछु।
महत्वपूर्ण समय दिएर हाम्रो कार्यक्रममा उपस्थित भई आफ्नो धारणा राखिदिनुभएकोमा यहाँलाई धेरै–धेरै धन्यवाद।
अवसर दिनु भएकोमा यहाँलाई पनि धेरैधेरै धन्यवाद।

















