बुधबार, ३ भाद्र, २०८३

पाटनको हरियो कक्षामा एक दिन

कसैको रोटीमा अचार थपियो, कसैले साथीको काँक्रा माग्यो, कसैले स्याउ बाँड्यो। त्यहाँ ठूलो सानो, शिक्षक विद्यार्थीको दूरीभन्दा पनि सहयात्रा र आत्मीयताको अनुभूति थियो।

अफिसको कोठामा बसेर इमिसको काम गरिरहेको थिएँ। घडीमा बिहानको ११ बजेको थियो। त्यही बेला ढोकाबाट एउटा मधुरो आवाज आयो, “सर, भित्र आउन सक्छु?” ढोकातिर हेरेँ। एक जना छात्र हातमा एउटा पाना बोकेर उभिएको थियो। “हुन्छ, भित्र आऊ,” भनेपछि ऊ बिस्तारै कोठाभित्र पस्यो। उसको हातमा केही लेखिएको निवेदन थियो। ऊ केही बोल्न सकिरहेको थिएन। मैले मुस्कुराउँदै सोधेँ, “किन आयौ? अनि हातमा के लेखेर ल्याएका छौ?” ऊ केही धक मान्दै बिस्तारै बोल्यो, “सर… यो निवेदन ल्याएको छु।” मैले निवेदन लिएर हेरेँ। सबै विद्यार्थीको सामूहिक निर्णय रहेछ, शैक्षिक भ्रमण तथा अवलोकनमा जाने।

निवेदन बाल क्लबका अध्यक्षमार्फत आएको रहेछ। साना बालबालिकाले सामूहिक रूपमा गरेको त्यो ठूलो र अर्थपूर्ण निर्णयले मलाई निकै खुसी बनायो। वास्तवमा, उनीहरूलाई घुमाउन र अवलोकन गराउन लैजाने कुरा पहिलेदेखि नै पटक–पटक उठ्दै आएको थियो। हामी शिक्षकहरू पनि उपयुक्त समयको पर्खाइमा थियौँ। आज ठीक त्यही समय आएर त्यो निवेदन मेरो हातमा परेको अनुभूति भयो। सानी नानीको सुन्दर हस्तलेखनले सजिएको निवेदनलाई ध्यानपूर्वक पढेर फाइलमा राखेँ र उसलाई भनेँ, “तिमी जाऊ, यसको निर्णय बेलुका सबै विद्यार्थीको अगाडि सुनाउँछु।” ऊ मुसुक्क हाँस्यो। उसको अनुहारमा आशाको उज्यालो देखिन्थ्यो। खुसी हुँदै बाहिर निस्कियो। म भने फेरि आफ्नै काममा लागेँ।

दिनभरिका शिक्षण सिकाइ क्रियाकलाप सकिँदा घडीमा ३ बजेर ४५ मिनेट भइसकेको थियो। सबै शिक्षकहरू अफिसको कोठामा जम्मा भयौँ। भ्रमण तथा अवलोकनका विषयमा छलफल सुरु भयो। धेरै कुरा सोचियो, सम्भावित ठाउँ र समयबारे विचार गरियो। अन्ततः छलफलको निष्कर्ष एउटै रह्यो, “विद्यार्थीले इच्छा गरिसके, अब उनीहरूलाई एक दिन फरक वातावरणमा पुगेर सिक्ने अवसर दिऔँ।” एक जना शिक्षकले भन्नुभयो, “दिनभरि विद्यालयमा बसेर पढ्दा उनीहरूलाई पनि कहिलेकाहीँ फरक वातावरण चाहिन्छ। एक दिन रमाइलो वातावरणमा सिक्ने अवसर पाउँछन् भने जाऔँ।” सबै शिक्षकको सहमति भयो। निर्णय भइसकेपछि विद्यार्थीलाई त्यो खुसीको खबर सुनाउन हामी सबै उत्साहित भयौँ।

विद्यालय छुट्टी हुने बेला सबै विद्यार्थी आफ्नो आफ्नो कक्षाबाट निस्केर लाइनमा आए। घर जान उनीहरू निकै हतारमा देखिन्थे। म लाइनको अगाडि उभिएँ र भनेँ, “अब एकछिन चुप लाग है, म केही भन्छु।” वातावरण एकाएक शान्त भयो। मैले सोधेँ, “घुम्न जाने मन छ?” सबै विद्यार्थी केही क्षण चुप लागे। मैले फेरि सोधेँ, “घुम्न जाने मन छ कि छैन?” यसपटक उनीहरूले मन खोलेर एउटै स्वरमा भने, “जाने! जाने!” उनीहरूको आवाजसँगै अनुहारमा खुसी छचल्किरहेको थियो।

मैले फेरि सोधेँ, “कहाँ जाने?” सबै विद्यार्थीले एकै स्वरमा भने, “पाटन, सर!” मैले भनेँ, “ल, त्यसो भए भोलि बिहान साढे सात बजे विद्यालयमा उपस्थित हुनु है।” “हुन्छ सर! हुन्छ सर!” भन्दै विद्यार्थीहरू खुसीले ताली बजाउन थाले। उनीहरूको उत्साहले विद्यालयको वातावरण नै रमाइलो बन्यो। मैले थपेँ, “भोलि आउँदा सबैले झोला, कापी, कलम, तीन–तीन वटा रोटी, मीठो नुन, प्याज, काँक्रा, हरियो खुर्सानी र टमाटर दुई–दुई वटा लिएर आउनू। बाँकी मासु, चामल र जुस म आफैँ ल्याएर आउँछु।” लाइनमा उभिएका विद्यार्थीहरूको उत्साह हेर्न लायक थियो। सायद उनीहरू एउटा नयाँ र सुन्दर ठाउँमा पुगेर नयाँ कुरा देख्न, जान्न र सिक्न पाउने कल्पनाले नै यति खुसी भएका थिए। सबै विद्यार्थीलाई घर पठायौँ। हामी शिक्षकहरू भने भोलिको भ्रमणका लागि आवश्यक तयारीमा लाग्यौँ।

पाटनतर्फको यात्रा
भोलिपल्ट बिहान निर्धारित समयभन्दा केही ढिलो भए पनि सबै विद्यार्थी विद्यालयमा उपस्थित भइसकेका थिए। सबैको पिठ्युँमा झोला थियो। कसैको झोलामा रोटी थियो, कसैकोमा काँक्रा, प्याज र खुर्सानी। कसैको हातमा पानीको बोतल थियो। उनीहरूको अनुहारमा यात्राको उत्साह प्रस्ट देखिन्थ्यो। शिक्षकहरू पनि विद्यालयमा जम्मा भयौँ। मैले हरी सरलाई पसलबाट आवश्यक सामान ल्याउन पठाएँ।

त्यसपछि विद्यार्थीहरूलाई लाइनमा आउन आग्रह गरेँ। सबै जना अनुशासित भएर लाइनमा उभिए। मैले उनीहरूलाई सम्झाउँदै भनेँ, “आज हामी अवलोकन गर्न पाटनतिर जाँदै छौँ। बाटोभरि अनुशासित भएर हिँड्नुपर्छ। सबैले कापी र कलम निकाल्ने र आफूले देखेका महत्वपूर्ण कुराहरू टिपोट गर्ने। थाहा नभएको कुरा शिक्षकलाई सोध्ने। बिस्तारै हिँड्ने र अरूको सामान वा कुनै पनि वस्तु नचोर्ने।” विद्यार्थीहरूले ध्यानपूर्वक मेरा कुरा सुने। त्यति नै बेला हरी सर पनि आवश्यक सामान लिएर आइपुग्नुभयो। ल्याएका सामान विद्यार्थीका झोलामा राख्यौँ। मेरो झोलामा कागज, स्केल, टेप र एउटा रजिस्टर राखेँ। सबै तयारी पूरा भएपछि हाम्रो यात्रा सुरु भयो।

हाम्रो बाटो उकालो थियो। चारैतिर हरियाली फैलिएको थियो। त्यसमाथि रातो हरियो पोसाकमा सजिएका साना विद्यार्थीहरू नाच्दै, गाउँदै र रमाउँदै अगाडि बढिरहेका थिए। बाटोमा भेटिएका गाउँका मानिसहरू र अभिभावकहरू मीठो मुस्कानका साथ हात हल्लाउँदै आफ्ना नानीबाबुलाई बिदाइ गरिरहेका थिए, “राम्रोसँग जानू है!” माथिल्लो बाटोबाट तल नियाल्दा निकै सुन्दर कोईरेली बजार, त्यससँगै फैलिएको धानको हरियो जिउलो र हाम्रो विद्यालयको दृश्यसमेत देखिन्थ्यो। त्यो दृश्य आफैँमा एउटा सुन्दर पाठजस्तो लाग्थ्यो।

कक्षाकोठामा बसेर किताबमा पढेको गाउँ, बजार, खेत र प्रकृतिलाई आज विद्यार्थीहरूले आफ्नै आँखाले नियालिरहेका थिए। केही माथि जङ्गलको छेउमा पुग्दा गजेङकिरीको आवाजले पूरै जङ्गल गुञ्जायमान भएको थियो। हाम्रो हल्ला त उनीहरूको आवाजका अगाडि निकै सानो सुनिन्थ्यो। बाटोमा गोठालाहरू भेटिन्थे। कतिपय अभिभावकहरू पनि भेटिन्थे। कतिपयले आफ्ना नानीबाबुलाई स्याउसमेत दिए। बाटोमा देखिएका स्याउका बगैँचा पनि निकै मनमोहक थिए। लटरम्म फलेका स्याउका रुखहरू कतै राताम्मे, कतै हरियाम्मे देखिन्थे। आफ्नै बगैँचामा फलेका स्याउ हेर्दा कृषकहरूका अनुहारमा पनि छुट्टै खुसी देखिन्थ्यो। आफ्नो दुःख, थकान र चिन्ता केही समयका लागि बिर्सेर उनीहरू आफ्ना बगैँचालाई नियालिरहेका जस्ता लाग्थे।

बाटोमा एसेलु र गुयँलो भेटियो। विद्यार्थीहरू किरामा झुम्मिएझैँ फल लागेका ती रुखमा झुम्मिए। हाम्रो मन पनि कहाँ थामिन्थ्यो र! हामी पनि उनीहरूसँगै झुम्मियौँ। मिठो एसेलु र गुयँलो टिपेर खायौँ। विद्यार्थीहरूले टिपेर ल्याउँथे र हामीलाई पनि दिन्थे। हामी भने खाएको खायै! त्यो क्षणमा शिक्षक र विद्यार्थीबीचको औपचारिक दूरी कतै हराएको थियो। हामी सबै एउटै यात्राका सहयात्री बनेका थियौँ—प्रकृतिसँग रमाउने, नयाँ कुरा खोज्ने र बाल्यकालका सरल खुसीहरूमा रमाउने सहयात्री।

जङ्गलभन्दा केही माथि पुगेपछि पाटनको तल्लो छेउमा आइपुग्यौँ। सबै जना केहीबेर रोकियौँ। मैले बोकेको नुनिलो टफी निकालेर विद्यार्थीहरूलाई बाँडेँ। कसैले स्याउ खाए, कसैले रोटी, कसैले पानी पिए। थकान केही कम भयो। केही समय आराम गरेपछि मैले टाढा देखाउँदै भनेँ, “ल, हामी पुग्ने ठाउँ उही हो।” पाटनको विशाल हरियाली आँखैअगाडि फैलिएको देखेर विद्यार्थीहरूको पाइला झन् छिटो हुन थाले। उनीहरूमा नयाँ उत्साह थपियो। अब हाम्रो यात्रा केवल गन्तव्यतिरको यात्रा थिएन; हामी एउटा खुला कक्षातिर अघि बढिरहेका थियौँ।

हरियो पाटन हाम्रो खुला कक्षा
फरक फरक रङका फूलहरूले सजिएको सुन्दर बाटो हुँदै हामी हरियो पाटनतिर लाग्यौँ। रातो हरियो पोसाकमा सजिएका साना विद्यार्थीहरू आफ्नै सुरमा रमाउँदै, नाच्दै, गाउँदै र पाटनको आनन्द लिँदै अगाडि बढिरहेका थिए। केही समयपछि हामी मस्टोको थान नजिक पुग्यौँ। त्यहाँ हरेक वर्ष साउने पूर्णिमामा मेला लाग्ने र ठूलो भीडभाड हुने कुरा विद्यार्थीहरूलाई बताएँ। त्यस स्थानसँग जोडिएको स्थानीय इतिहास, संस्कृति र परम्पराबारे पनि उनीहरूलाई सुनाएँ।

कक्षाकोठामा किताबमा पढाइने विषयलाई आज उनीहरूले आफ्नै वरिपरि देखिरहेका थिए। विद्यार्थीहरूले निकै ध्यान दिएर सुने। उनीहरूको आँखामा जिज्ञासा थियो, मनमा प्रश्न थिए र वातावरणसँग जोडिँदै जाने उत्सुकता थियो। त्यस क्षण मलाई लाग्यो—सिकाइ त्यतिबेला अझ जीवन्त हुन्छ, जब विद्यार्थीले विषयलाई केवल सुन्दैन, देख्छ, महसुस गर्छ र आफ्नै अनुभवसँग जोड्छ।

त्यहाँबाट केही अगाडि बढेपछि एउटा सम्म परेको थुम्कोमाथिको सुन्दर हरियाली चौर भेटियो। हामीले त्यहीँ बस्ने निधो गर्यौँ। सबैले आफूसँग ल्याएका सामानहरू जम्मा गरे, रोटी, अचार, चिउरा, मासु, काँक्रा, स्याउ, आरु, जुस आदि। कोही आराम गर्न थाले, कोही पाटनमा दौडिन थाले, कोही नाच्न थाले, कोही खेल्न थाले। चारैतिर खुसी नै खुसी थियो। म त्यो दृश्य हेरिरहेको थिएँ। साना बालबालिकाहरू पुतलीझैँ स्वतन्त्र भएर नाचिरहेका जस्ता लाग्थे। आज उनीहरू खुला थिए, आजको कक्षा पनि खुला थियो। न चार पर्खाल, न बन्देज, न घण्टीको हतार। उनीहरू पाटनको विशाल मैदानमा स्वतन्त्र रूपमा उडिरहेका थिए। न गृहकार्यको तनाव थियो, न पढाइको बोझ; केवल रमाउँदै सिक्ने उत्साह थियो। त्यो हरियो पाटन आज उनीहरूका लागि खेल्ने मैदान मात्र थिएन, एउटा विशाल खुला कक्षा बनेको थियो।

अब खाजा बनाउने बेला भइसकेको थियो। केही विद्यार्थीलाई नजिकैबाट पानी ल्याउन पठायौँ। हामी शिक्षकहरू भने खाजा तयार गर्न लाग्यौँ। त्यसैबीच मैले विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यमा सहभागी गराएँ। कसैलाई चित्र बनाउन लगाएँ, कसैलाई आफूले देखेका महत्वपूर्ण कुरा टिपोट गर्न लगाए, कसैलाई गीत, कथा र कविता लेख्न तथा सुनाउन लगाए। केही विद्यार्थीले विभिन्न बिरुवाका पात टाँसेर सुन्दर चित्रसमेत बनाए।

कोही वरिपरिको वनस्पति नियालिरहेका थिए, कोही फूलका रङ टिपोट गरिरहेका थिए, कोही चराको आवाज सुन्दै त्यसबारे प्रश्न गरिरहेका थिए। आज विद्यार्थीहरू निकै उत्साहका साथ सहभागी भएका थिए। न “हल्ला नगर” भन्नुपर्यो, न “झगडा नगर” भन्नुपर्यो, न कुनै सजाय दिनुपर्यो। उनीहरू आफ्नै खुसीले कुनै न कुनै सिर्जनात्मक काममा व्यस्त थिए। शिक्षकले निर्देशन मात्र दिइरहनुपरेको थिएन; वातावरण आफैँले विद्यार्थीलाई सिकाइतर्फ तानिरहेको थियो।

एउटै घेरामा खाजा, एउटै घेरामा सिकाइ

केही समयपछि खाजा तयार भयो। सबै विद्यार्थीलाई गोलो घेरामा बसाल्यौँ। शिक्षकहरूले सबैलाई खाजा वितरण गरे। हामी पनि उनीहरूसँगै बसेर खायौँ। सुन्दर पाटनको हरियो थुम्कामा सबैजना सँगै बसेर खाजा खानुको आनन्द नै बेग्लै थियो। कसैको रोटीमा अचार थपियो, कसैले साथीको काँक्रा माग्यो, कसैले स्याउ बाँड्यो। त्यहाँ ठूलो सानो, शिक्षक विद्यार्थीको दूरीभन्दा पनि सहयात्रा र आत्मीयताको अनुभूति थियो। त्यो क्षणले एउटा महत्वपूर्ण कुरा सिकाइरहेको थियो, सिकाइ किताबभित्र मात्र हुँदैन, जीवनका यिनै सुन्दर क्षणहरूमा पनि हुन्छ। सहकार्य, बाँडचुँड, आत्मीयता, अनुशासन र सामाजिक व्यवहारका पाठहरू कुनै पाठ्यपुस्तक नखोली पनि सिक्न सकिन्छ।

खाजा खाइसकेपछि फेरि रमाइलो सुरु भयो। कोही नाच्न थाले, कोही गाउँदै थिए, कोही तस्बिर खिच्न र चलदृश्य बनाउन व्यस्त थिए। केही विद्यार्थी आफ्ना मोबाइलमा छोटा चलदृश्यसमेत बनाइरहेका थिए। करिब एक घण्टा यसरी नै रमाइलोमा बित्यो। हाँसो, गीत, नृत्य र कुराकानीले पाटनको वातावरण अझ जीवन्त बनेको थियो। तर समय आफ्नै गतिमा अघि बढिरहेको थियो। विद्यार्थीहरू पनि विस्तारै थाक्न थालेका थिए। आकाशमा बादल लाग्दै थियो, पानी पर्ला–पर्ला जस्तो देखिन्थ्यो। घडीमा करिब ५ बजिसकेको थियो। त्यसैले आजको रमाइलोलाई यहीँ बिट मार्ने निर्णय गर्यौँ।

सबै विद्यार्थीलाई एकै ठाउँमा जम्मा गर्‍यौं। फर्किनुअघि मैले उनीहरूलाई एउटा महत्वपूर्ण काम दिएँ, “आफूले सिर्जना गरेको फोहोर आफैँ व्यवस्थापन गर्ने।” विद्यार्थीहरूले वरिपरि छरिएका कागज, प्लास्टिक र अन्य फोहोर टिप्न थाले। सबै मिलेर ठाउँ सफा गर्यौँ। पाटनमा जाँदा हामीले प्रकृतिबाट धेरै कुरा लिएका थियौँ; फर्किँदा त्यसलाई सफा र सुन्दर अवस्थामा छोड्नु हाम्रो कर्तव्य थियो। विद्यार्थीहरूले पनि त्यो कुरा व्यवहारमै बुझे। हामीले पाटनलाई जस्ताको तस्तै छोडेर फर्किन थाल्यौँ।

फर्किंदा बोकेको सिकाइ
हामी उत्साहका साथ पाटन पुगेका थियौँ। फर्किंदा पनि उस्तै उत्साह थियो, तर यसपटक हाम्रो झोलामा केवल खानेकुरा र सामान मात्र थिएनन्; नयाँ अनुभव, नयाँ ज्ञान, सुन्दर सम्झना र सिकाइका असंख्य क्षणहरू पनि थिए। कक्षाकोठाभन्दा बाहिरको त्यो एक दिनले हामीलाई धेरै कुरा सिकाएको थियो। हामीले प्रकृतिलाई नजिकबाट नियाल्यौँ, स्थानीय वनस्पति र फलफूल चिन्यौँ, स्थानीय संस्कृति र परम्पराबारे जान्यौँ, गाउँको जीवनशैलीलाई नजिकबाट बुझ्यौँ। त्यससँगै सहकार्य, अनुशासन, सरसफाइ, सामाजिक व्यवहार र जिम्मेवारीका पाठ पनि व्यवहारमै सिक्यौँ। सबैभन्दा ठूलो कुरा, विद्यार्थीहरूले रमाउँदै पनि सिक्न सकिन्छ भन्ने अनुभव गरे।

त्यो दिन मैले शिक्षकको भूमिकालाई पनि फरक ढङ्गले अनुभूति गरेँ। कहिलेकाहीँ शिक्षकले पाठ पढाउनुभन्दा वातावरण सिर्जना गरिदिनु महत्वपूर्ण हुँदो रहेछ। विद्यार्थीलाई प्रकृतिसँग जोडिदिनु, प्रश्न गर्न प्रेरित गर्नु, आफूले देखेको कुरा व्यक्त गर्न दिनु र आफ्नै अनुभवबाट निष्कर्ष निकाल्ने अवसर दिनु पनि शिक्षणकै महत्वपूर्ण पक्ष रहेछ। पाटनको हरियालीमा बसेर विद्यार्थीहरूलाई हेर्दा लाग्यो, हामीले उनीहरूलाई केवल एक दिन घुमाउन ल्याएका थिएनौँ; उनीहरूलाई जीवनको एउटा सुन्दर पाना पढाउन ल्याएका रहेछौँ।

यसरी हाम्रो शैक्षिक अवलोकन तथा भ्रमण सम्पन्न भयो। साँझ विद्यालयमा पुगेर सबै विद्यार्थी र शिक्षकहरू आ–आफ्नो घरतिर लाग्यौँ। शरीर थाकेको थियो, तर मन भने निकै हलुका र खुसी थियो। विद्यालयको नियमित कक्षामा फर्किएपछि पनि त्यो दिनको सम्झना लामो समयसम्म मनमा रहिरहने निश्चित थियो। किनकि त्यो केवल एउटा भ्रमण थिएन, त्यो प्रकृतिको काखमा बसेर गरिएको एउटा जीवन्त पाठ थियो; बालबालिकाको हाँसो, उत्साह र जिज्ञासासँगै अघि बढेको एउटा अविस्मरणीय शैक्षिक यात्रा थियो।

तर त्यो दिनको यात्रा त्यत्तिमै सकिएको थिएन। हाम्रो साथमा फर्किएको थियो पाटनको हरियाली, बालबालिकाको निश्चल हाँसो, चराचुरुङ्गीको आवाज, फूलहरूको सुगन्ध, स्याउका बगैँचाको सौन्दर्य, एसेलु र गुयँलोको स्वाद, स्थानीय संस्कृति र प्रकृतिसँग जोडिएका अनेकौँ अनुभव। सबैभन्दा ठूलो कुरा, हामीसँग फर्किएको थियो एउटा अविस्मरणीय खुला कक्षाको मीठो सम्झना, जहाँ चार पर्खाल थिएनन्, कालोपाटी थिएन, पाठ्यपुस्तक थिएन; तर सिकाइ थियो, जिज्ञासा थियो, स्वतन्त्रता थियो र जीवनलाई नजिकबाट बुझ्ने अवसर थियो। सायद यही नै शिक्षाको सबैभन्दा सुन्दर रूप हो—जहाँ विद्यार्थी रमाउँछन्, त्यहीँ सिक्छन्; जहाँ प्रकृति बोल्छ, त्यहीँ कक्षा सुरु हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार