कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे उठेका प्रश्नहरूलाई लिएर उपेन्द्र बुढथापाले नरेश भण्डारीलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्।
बुढथापाले प्रतिष्ठानमा सीप र क्षमताभन्दा राजनीतिक भागबण्डाका आधारमा भर्ना भएका कर्मचारीहरूको दम्भ र गैरजिम्मेवारीका कारण संस्थाको साख खस्किएको आरोप लगाए।
उनका अनुसार यस्ता कर्मचारीहरू नेताको आडमा संस्थागत नियम र अनुशासनलाई बेवास्ता गर्दै आएका छन्।
‘कार्यालय समयमा जिम्मेवारी पूरा गर्नुको सट्टा लुडो खेल्ने र राजनीतिक गफमा समय बिताउने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘यसले इमान्दार र कर्मठ कर्मचारीहरूलाई समेत निराश बनाएको छ।’
बुढथापाले वर्षौँदेखि भइरहेको यस्तो विकृतिप्रति ध्यान नदिई हालका युवाहरूका प्रयासमाथि मात्र प्रश्न उठाउनु उचित नभएको बताए।
उनले युवाहरूको सकारात्मक पहललाई समर्थन गर्नुपर्नेमा जोड दिँदै निरुत्साहित नगर्न आग्रह गरे।
‘अब समय युवाहरूको हो, उनीहरूले नै यस्ता विकृतिहरूको अन्त्य गर्नेछन्,’ उनले भने।
उनले भण्डारीलाई वर्तमान परिस्थितिमा प्रत्यक्ष आलोचनाभन्दा मार्गदर्शन र सल्लाह दिने भूमिकामा रहन सुझाव दिएका छन्।
उनले अन्त्यमा प्रतिष्ठानलाई सुधार्न स्पष्ट दृष्टिकोण र निष्पक्ष विश्लेषण आवश्यक रहेको उल्लेख गरे।
















