सोमबार, २४ कार्तिक, २०८२

घरभित्र पसल, पसलभित्र बालकृष्ण र लक्ष्मीका सपना

बालकृष्णको यो सफलताको कथा केवल व्यापारको उतारचढाव होइन, यो हो, विश्वास, श्रम, प्रतिबद्धता र परिवारको सामूहिक यात्राको फेहरिस्त। उनकी जीवनसंगिनी लक्ष्मी कुमारी बुढा पनि यही यात्राकी सहयात्री हुन्, जसले साथ मात्र होइन, समर्पणले सफलताको गाथा लेख्न सघाइन्।

कुनै बेला जुम्लाको चिसो साँझमा मान्छेका हातमा रेडियो, वाक्म्यान, क्यासेट र चक्का हुन्थे। त्यसबेला बालकृष्णको हातमा पनि थिए ती सामान। बालकृष्ण अर्थात् बालकृष्ण बुढा। तर उनले उमेरसँगै अर्को हातमा सपनाको नक्सा पनि बोकेका थिए।

त्यही सपनालाई पछ्याउँदै उनले बजारको कुनामा एउटा सानो इलेक्ट्रोनिक पसल खोलेका थिए। यो आजभन्दा १५ वर्ष अगाडिको कुरा हो। भुइँचौर जस्तै सपनामा गोडा राख्दै, उनले एक लाख रुपैयाँ लगानीबाट सुरु गरेको त्यो इलेक्ट्रोनिक्स पसल आज सात करोड बढीको ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउस’मा रूपान्तरण भएको छ।

बालकृष्णको यो सफलताको कथा केवल व्यापारको उतारचढाव होइन, यो हो, विश्वास, श्रम, प्रतिबद्धता र परिवारको सामूहिक यात्राको फेहरिस्त। उनकी जीवनसंगिनी लक्ष्मी कुमारी बुढा पनि यही यात्राकी सहयात्री हुन्, जसले साथ मात्र होइन, समर्पणले सफलताको गाथा लेख्न सघाइन्।

बुधबारको बिहान जुम्ला खलंगा कृष्ण मन्दिरको पश्चिमपट्टि, चन्दननाथ–५ मा अवस्थित आफ्नै पाँच तले घरभित्र बालकृष्ण र लक्ष्मी अतिथिहरूलाई खुलेर स्वागत गरिरहेका थिए। आँखा मुस्कुराइरहेका थिए, अनुहारमा सन्तुष्टिको छाया थियो।

घरको पहिलो तलाबाट चौथो तलासम्म फैलिएको पसल, जसमा मोबाइल, इलेक्ट्रोनिक्स र आइटीका सम्पूर्ण सामग्री सजिएका छन्। हेर्दा लाथ्यो त्यो त्यो कुनै पसल मात्र थिएन, त्यो त जीवनको पूरै यात्राको एक भौतिक रूप थियो।

कार्यक्रम भव्य भयो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र न्यौपाने, निर्माण व्यवसायी संघका अध्यक्ष गगन बुढथापाजस्ता विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

औपचारिक उद्घोषण भयो, ‘सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउस’ अब आफ्नै अत्याधुनिक घरबाट सञ्चालनमा आयो। जिल्ला समन्वय समितिका प्रमुखले रिवन काटे, अन्य विशिष्ट व्यक्तित्वले केक।

१५ वर्ष अगाडि, जब बालकृष्णले व्यापार सुरु गरे, त्यो बेला न बजारमा अत्याधुनिक मोबाइलहरू थिए, न ग्राहकहरूका चाहना यति विविध। सामान्य इलेक्ट्रोनिक्स सामग्रीको सानो स्टक लिएर यात्रा सुरु गरे।

किप्याड मोबाइल बेचेर ग्राहकको विश्वास जिते। अनि बिस्तारै नयाँ प्रविधि, नयाँ शैली र नयाँ सोचसँग आफूलाई ढाल्दै लगे।

एक लाखको लगानी, त्यो पनि जुम्लाको सन्दर्भमा निकै ठूलो जोखिम थियो। तर बालकृष्णको आत्मबल सानो थिएन। उनले आफूले बेच्ने सामानमा विश्वास दिलाउने शैली सिके। ग्राहकसँग बोल्ने भाषामा भरोसा मिसाए। व्यापारको मूल मन्त्र बने, “मूल्यमा इमान, व्यवहारमा सम्मान।”

बालकृष्णका पिता साविक बुम्रमाडीचौर गाउँबाट आएका थिए। त्यो विकट ठाउँ जहाँ जीवन आफैं एक चुनौती हो। तर बालकृष्णको जन्म चन्दननाथ–३ मा भयो। त्यहीँ उनले बाल्यकालको संघर्ष र जीवनको मूल्य बुझे।

पढाइमा पनि उत्कृष्ट रहे। स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेपछि उनले जागिरको सपना देखेनन्। बरु, केही आफ्नै बनाउने हुटहुटीले उनलाई पसलतिर डोर्‍यायो।

त्यही यात्रामा साथ दिइन् लक्ष्मीले। उनी बालकृष्णकी जीवनसंगिनी मात्र होइनन्, व्यवसायकी सह–निर्मात्री हुन्। घर, पसल, स्टाफ, सामान, ग्राहक—सबैमा उनी आफूलाई सक्रिय रुपमा समावेश गरिरहेकी छन्।

अहिले चार जना स्टाफ छन्, तर बालकृष्ण र लक्ष्मी आफैं पूरा समय पसलमा खटिन्छन्। सफलताको मूल मन्त्र यही हो, ‘स्वयम् खटिनु।’

चार तले पसल—जसको पहिलो तलामा मोबाइल र साना इलेक्ट्रोनिक्स सामानहरू, दोस्रो तलामा होम एप्लायन्स, तेस्रो तलामा कम्प्युटर र आइटी उपकरणहरू, चौथो तलामा भविष्यको तयारी, सपिङ्ग कम्प्लेक्सको योजना।

ग्राहक पसल पस्नेबित्तिकै त्यो आधुनिक इन्टेरियर, व्यवस्थित डिस्प्ले र सेवाको शिष्टता महसुस गर्छन्। बालकृष्ण भन्छन्, “ग्राहकले सामान मात्र होइन, भरोसा किन्छ।”

त्यो पहिलो एक लाख कहाँबाट आयो ? उनले ऋण गरे वा जोहो गरे! त्यो भन्दा ठूलो कुरा उनले लगानीमा देखाएको साहस हो। उनको कथा हरेक गाउँ, शहरका युवालाई भन्ने सन्देश हो, “सुरुवात सानो हुन्छ, तर सपना ठूलो हुनुपर्छ।”

उनी भन्छन्, “मैले हालको जत्तिको लगानी बढ्ला भनेर व्यवसाय सुरु गरेको थिइनँ। बरु हरेक दिन इमानदारी, लगनशीलता र राम्रो सेवा दिने लक्ष्य राखेँ। समयले बाँकी काम गर्‍यो।”

बालकृष्ण अहिलेको सफलताबाट मात्र सन्तुष्ट छैनन्। उनी नयाँ योजना बुन्दै छन्, जुम्लामै अत्याधुनिक सपिङ्ग कम्प्लेक्स बनाउने, स्थानिय युवालाई रोजगारी दिने र डिजिटल सेवा विस्तार गर्ने।

उनी भन्छन्, “जुम्लामा किन काठमाडौंजस्तो सुविधा नहुनु? हामी सक्दो प्रयास गरिरहेछौं।”

बालकृष्णको कथा एउटा सानो बीउजस्तै हो, जसलाई माटो, घाम, पानी र समयले रूख बनाएको हो।

त्यो बीउमा साहस थियो, व्यवहारमा नैतिकता थियो र यात्रामा साथ थियो, लक्ष्मी जस्ती एक समर्पित सहयात्रीको। अहिले त्यो बीउ फलिफूलाएको छ, जसले जुम्लाको हिमालमै प्राविधिक उज्यालो बालेको छ।

‘सनलाइट’ नाम मात्रै होइन, अब त्यो विश्वास, श्रम र सफलताको उज्यालो बनेको छ। त्यसैले बालकृष्णहरू हरेक ठाउँमा चाहिन्छन्। जो सपना देख्न मात्र होइन, तिनलाई धरातलमा टेकी सफल बनाउने आँट गर्छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार