जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्षभरिमा ४४ लाख ४७ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको छ। गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा योजना शाखा प्रमुख ओमबहादुर चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा गाउँपालिकाको राजस्व सङ्कलनको अवस्था सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार गाउँपालिकाले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउँदै स्थानीय आय वृद्धि गर्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ। सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा बढी राजस्व गाउँपालिका केन्द्रबाट सङ्कलन भएको छ।
गाउँपालिका कार्यालयबाट मात्रै २५ लाख ९२ हजार २४१ रुपैयाँ राजस्व उठेको छ, जुन कुल सङ्कलित राजस्वको सबैभन्दा ठूलो हिस्सा रहेको योजना शाखा प्रमुख चन्दले बताए।
उनका अनुसार वडागत रूपमा भने वडा नं ७ ले सबैभन्दा बढी ३ लाख १६ हजार ६४३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। वडा नं ६ बाट ३ लाख ३९ हजार ७२७ रुपैयाँ, वडा नं १ बाट २ लाख २२ हजार ८१८ रुपैयाँ, वडा नं २ बाट २ लाख ३ हजार ४१८ रुपैयाँ, वडा नं ५ बाट १ लाख ७६ हजार ६४७ रुपैयाँ, वडा नं ४ बाट १ लाख ७४ हजार ९५६ रुपैयाँ र वडा नं ३ बाट १ लाख १८ हजार ११ रुपैयाँ राजस्व सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ। वडा नं ८ बाट भने ५४ हजार ३१८ रुपैयाँ मात्र राजस्व उठेको छ।
शाखागत राजस्व सङ्कलनतर्फ पशु विकास शाखाले ६४ हजार ५०० रुपैयाँ, उद्यम विकास शाखाले ५९ हजार ९७० रुपैयाँ तथा कृषि विकास शाखाले १२ हजार ३६७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। प्रस्तुत विवरणअनुसार कृषि विकास शाखाबाट सबैभन्दा कम राजस्व सङ्कलन भएको देखिएको छ।
वार्षिक समीक्षा कार्यक्रममा योजना शाखा प्रमुख चन्दले गाउँपालिकाले “प्राकृतिक स्रोत र सम्पदाको खानी, सुखी र समृद्ध हाम्रो तातोपानी” भन्ने मूल नारालाई आत्मसात गर्दै आन्तरिक आयका स्रोत विस्तार, राजस्व सङ्कलन प्रणालीलाई थप प्रभावकारी बनाउने तथा स्थानीय विकासका कार्यक्रमलाई दिगो बनाउने दिशामा काम गरिरहेको जानकारी दिए।
















