उत्तेजनाले क्षणिक हलचल त ल्याउँछ, तर दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन। यही कारण इतिहासमा धेरै चर्का आन्दोलनहरू समयसँगै हराए, तर संरचना नछोएर गएका आन्दोलनहरू असफल भए।
समाज आफैँ चल्दैन। समाजलाई चलाउने शक्ति मानिसको श्रम, उत्पादनको तरिका र त्यसबाट बनेको आर्थिक सम्बन्ध हो। खेतमा पसिना झार्ने किसान, निर्माणमा काम गर्ने मजदुर, सहरमा सेवा बेच्ने युवा, रोजगारीको खोजीमा भौँतारिएको पुस्ता यी सबैको जीवन एउटै आधारमा टेकेको छ।
त्यो आधार अर्थ हो। अर्थ कमजोर हुँदा राजनीति कठोर बन्छ, अर्थ असमान हुँदा राजनीति छलछाममा बदलिन्छ। यही कारण राजनीति बुझ्न चाहनेले पहिले आर्थिक संरचना बुझ्नुपर्छ।
लामो समयदेखि देशको बहुसंख्यक जनताको जीवन उस्तै छ। काम बढेको छ, आम्दानी बढेको छैन। खर्च बढेको छ, सुरक्षा घटेको छ। श्रमको मूल्य सस्तो हुँदै गएको छ, तर श्रमबाट नाफा लिनेहरूको हैसियत बलियो हुँदै गएको छ।
यही असन्तुलनले समाजमा आक्रोश जन्मायो। आक्रोशले परिवर्तन खोज्यो। परिवर्तनको खोजीमा मानिस भावनात्मक भयो। यही भावनात्मक अवस्थाबाट उत्तेजनाको राजनीति जन्मियो।
राष्ट्रिय स्वतन्त्र पार्टी यही सामाजिक अवस्थाको उपज हो। यो पार्टी कुनै लामो वर्गीय संघर्ष, उत्पादन सम्बन्धको गहिरो अध्ययन वा सैद्धान्तिक परिपक्वताबाट जन्मिएको शक्ति होइन।
यो निरन्तरको असन्तुष्टि, मिडियाको प्रभाव र तत्कालको जनआक्रोशबाट बनेको देखिन्छ। यसले पुराना दलहरूप्रतिको वितृष्णालाई बोकेको छ, तर त्यो वितृष्णालाई व्यवस्थित वैचारिक दिशामा रूपान्तरण गर्ने स्पष्ट मार्ग देखिँदैन।
यहाँ समस्या व्यक्तिमा केन्द्रित राजनीतिक चेतनाबाट सुरु हुन्छ। को कति बोल्छ, को कति कराउँछ, को कति लोकप्रिय छ, यी कुरा मुख्य बनाइन्छन्। तर समाज चलाउने कुरा व्यक्तिको प्रस्तुति होइन।
समाज चलाउने कुरा संरचना हो। संरचना भनेको उत्पादनको स्वामित्व, श्रमको उपयोग र नाफाको वितरण हो। जब यी आधारभूत कुरा उस्तै रहन्छन्, तब नयाँ अनुहार आए पनि समाज उस्तै रहन्छ।
राजनीति भावनाबाट सुरु हुन सक्छ, तर भावनामै अड्कियो भने त्यो टिक्दैन। भावनालाई चेतनाले मार्गदर्शन गर्नुपर्छ। चेतना बिना आन्दोलन उत्तेजना बन्छ।
उत्तेजनाले क्षणिक हलचल त ल्याउँछ, तर दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन। यही कारण इतिहासमा धेरै चर्का आन्दोलनहरू समयसँगै हराए, तर संरचना नछोएर गएका आन्दोलनहरू असफल भए।
राज्य कुनै तटस्थ संस्था होइन। राज्य सधैँ कुनै न कुनै वर्गको हितमा उभिन्छ। जब राज्यले खुला बजार, निजीकरण र आर्थिक उदारीकरणलाई समाधानका रूपमा प्रस्तुत गर्छ, तब उसले स्वाभाविक रूपमा पुँजीको पक्ष लिन्छ।
यसले उत्पादनका साधन थोरै व्यक्तिको हातमा केन्द्रित गर्छ। श्रम गर्ने मान्छे आफ्नो श्रम बेच्न बाध्य हुन्छ। श्रमबाट पैदा भएको अतिरिक्त मूल्य श्रम गर्नेले होइन, स्वामित्व राख्नेले लिन्छ।
यही संरचनात्मक असमानताको प्रभाव सहकारीजस्ता संस्थामा पनि देखिन्छ। सहकारी सामूहिक विश्वासको आधारमा चलेको संस्था हो। गाउँघरका सामान्य मान्छेले भविष्य सुरक्षित गर्न जम्मा गरेको थोरै पूँजी हो।
जब त्यो पूँजी व्यक्तिगत संकट टार्ने साधन बन्छ, तब समस्या व्यक्ति मात्रको हुँदैन। त्यो प्रणालीको समस्या हुन्छ। पुँजी संकटमा पर्दा नैतिकता खोज्दैन। उसले नयाँ आधार खोज्छ, र त्यो आधार सधैँ कमजोर वर्ग हुन्छ।
संसदीय व्यवस्थाभित्र बसेर यी संरचनागत समस्यालाई उल्ट्याउन गाह्रो हुन्छ। यो व्यवस्था स्वयं निजी स्वामित्वको आधारमा उभिएको छ। यहाँ नयाँ दल आए पनि, अन्ततः पुरानै शक्तिसँग सम्झौता गर्नुपर्छ।
सत्ता गणितले विचारलाई दबाउँछ। विचारभन्दा कुर्सी बलियो बन्छ। यही कारण चर्को आलोचना गर्नेहरू पनि सत्ता नजिकिँदा मौन हुन्छन्। यो व्यक्तिगत असफलता होइन, संरचनाको चरित्र हो।
यही ठाउँमा दार्शनिक स्पष्टता आवश्यक हुन्छ। समाज किन यस्तो छ भन्ने प्रश्न नगरी समाज बदल्न सकिँदैन। समाज प्राकृतिक रूपमा असमान बनेको होइन। यो ऐतिहासिक रूपमा बनेको संरचना हो।
उत्पादनका साधन निजी स्वामित्वमा गएपछि समाज वर्गमा विभाजित भयो। एक वर्गले श्रम गर्छ, अर्को वर्गले निर्णय गर्छ। राज्य, कानुन र संस्कृतिले यही विभाजनलाई वैधता दिए।
वास्तविक विकल्प यही विभाजनलाई चुनौती दिनु हो। उत्पादनका साधन सामूहिक हितमा प्रयोग हुने व्यवस्था बिना समानता सम्भव हुँदैन।
श्रम गर्ने मान्छेले आफ्नो श्रमको मूल्य र नियन्त्रण पाउनुपर्छ। शिक्षा, स्वास्थ्य, पानी, ऊर्जा जस्ता कुरा अधिकार बन्नुपर्छ, व्यापार होइन। बिचौलिया र दलालको भूमिका साँघुरो हुनुपर्छ।
यही सोच वैज्ञानिक समाजवादी चेतनाको आधार हो। यो भावना होइन, अध्ययन र अनुभवबाट निस्किएको निष्कर्ष हो। यो कुनै एक देशको नक्कल होइन।
यो श्रम र उत्पादनका सार्वभौमिक नियमबाट विकसित भएको विचार हो। समाजको आवश्यकता अनुसार यसको रूप फरक हुन सक्छ, तर आत्मा एउटै हुन्छ, बहुसंख्यक जनताको हित।
आज विकल्पको नाममा प्रस्तुत गरिएको राजनीति संरचनालाई छुँदैन। यसले पुराना अनुहारलाई गाली गर्छ, तर पुरानो अर्थनीतिलाई स्वीकार गर्छ। यही विरोधाभास यसको सीमितता हो। वैकल्पिक शक्ति तब मात्र वास्तविक हुन्छ, जब उसले उत्पादन, स्वामित्व र वितरणको नयाँ ढाँचा प्रस्ताव गर्छ।
चर्चित अनुहार, कलाकार वा लोकप्रिय व्यक्तिलाई राजनीतिमा भित्र्याएर समाज बदलिँदैन। परिवर्तन तब आउँछ, जब श्रम गर्ने मान्छेले आफ्नो शक्ति चिन्छ। चेतना गीत, नाराबाट होइन, जीवनको अनुभवबाट आउँछ। त्यो चेतनालाई संगठित गर्नुपर्छ। संगठन बिना विचार कमजोर हुन्छ।
उत्तेजनाको राजनीति छोटो समय टिक्छ। तर वैज्ञानिक चेतनाले निर्देशित राजनीति मात्र दीर्घकालीन हुन्छ। नयाँ अनुहार होइन, नयाँ सामाजिक सम्बन्ध चाहिएको छ। यही सम्बन्ध बदल्न सक्ने राजनीति नै वास्तविक विकल्प हो। यही बाटोले मात्र यो देशको बहुसंख्यक मान्छेको जीवनमा उज्यालो ल्याउन सक्छ।















