अतलका गजल गजलभन्दा बेसी कविता जस्ता लाग्छन्। गजलका हरेक अक्षरले मनभित्रको सुसेलीलाई उनेर अनौठो लय बनाउन खोजेका छन्। गीतै जस्तो नभए पनि यस लयले पाठकलाई छुट्टै गतिमयताको प्रवाहले बाँधेर बगाइरहन्छ।
‘यो अवस्थामा यति शान्त को हुन सक्छ?
जसले निल्न जानेको आगो हुन सक्छ
पुग्न त हामी त्यहाँ अवश्य पुग्ने छौँ
बस् यत्ति हो अलि ढिलो हुन सक्छ
मिल्नुको विकल्प नै छैन नियममा
फेरिफेरि पनि मन अमिलो हुन सक्छ
म सँगसंगै रुँदै यही सोध्यो उसले
ढुङ्गा कतिसम्म कमलो हुनसक्छ ?
जे पढेँ यो आफ्नै कथा पढेँ
लेख्ने को होला? मजस्तो हुन सक्छ !
……………..
‘एमपी केयरलेस’को ‘एक’ पढेको थिएँ धेरै वर्षअघि। पर्खिँदा पर्खिँदा अतलको ‘दुई’ पढ्न पाएँ, धेरै वर्षपछि। रचनाकार भने एउटै मान्छे हुन्, दुबै पुस्तकका। उहिले ‘एमपी केयरलेस’ थिए। पछि ‘महेन्द्र उपाध्याय’ भए। ‘अतल’ पो भैसकेका रहेछन् अचेल उनी।
नाम फेरिरहे पनि उहिलेको ‘एक’ र अहिलेको ‘दुई’ दुबै पुस्तकको विधा भने एउटै हो ‘गजल’। दुबै गजलसङ्ग्रहमा आवद्ध गजलको सौन्दर्य, संसार र सार एउटैएउटै छ। मानौँ ‘एक’ सगरमाथाको आधारशिविर थियो| ‘दुई’ सगरमाथाको चुचुरो हो र अतल तेन्जिङ शेर्पा हुन्।
अतलले आफ्नो आगमनलाई यसरी प्रष्ट्याएका छन् :—
यसरी दौडिएँ होइन कि ठिक म पनि !
के अझैँ चाहन्छु र जीत म पनि ?
अतलका गजल सुन्न र उनको गजलसङ्ग्रह पर्खिने म मात्र छैन यहाँ। थुप्रै छन् उनका गजलका अनुरागि र बाटो कुरिबसेका आशकहरु, भावकहरु, प्रेमीहरु। पाठक र श्रोताभित्र हुट्हुटी जगाएर पर्खाइरहने अतलजस्ता गजलकार कहाँ पाउनु अचेल। दुई दशकनै पर्खाएर ‘एक’ ले बल्ल जन्माएको हो ‘दुई’लाई। यो ढिलाईको कारण उनले आफै भनेका छन् :—
चाहिएकै छैन तँलाई दुःख नगरी
मर्नु पनि छैन तैले अदभूत नगरी
…………………….
भो भो पर्दैन म यहीँ ठिक छु
न सानो, न बन्नु छ ठूलो मलाई
‘म सुन्दै हिडेको हुँ शून्यको गीत। शून्यको गीत गुन्गुनाउँदै सकिजान्छ जिन्दगानी। मैले त्यही चौतारोमा गम खाएको हुँ। हो मैले त्यही धाराको पानीले गलो रुझाएको हुँ।’ गजल लेख्दालेख्दै भनेका छन् अतलले। उनका गजलका स्रोत, सामाग्रि, विषयबस्तु र धरातल यही परिवेश हो। यहाँ कै परिस्थिति हो। जीवन बिताउने उपक्रम गर्दागर्दा जीवनबाटै टाढिएका मनहरुको उच्छवास र सुस्केराजस्ता लाग्छन् अतलका गजल। यो प्रश्नमा हामी पाठकहरु पनि मिसिएका छैनौँ र :—
छाडि जाने मान्छे को थियो र मेरो?
किन भएँ अतल खालीखाली म ?
‘मुस्कुराउँदै गरेका ओठको साझा महसुस हुँ म। म छटपटिमा पनि साथमैँ हुन्छु। म बेचैनीमा पनि साथ मैँ हुन्छु’ यो अतलको नभएर उनका गजलको स्वीकारोक्ति हो। उनले गजललाई गुनासो र आर्तनाद गर्ने मेसो मात्रै बनाएका छैनन्। जीवनलाई अन्तरचेतनाको कोणबाट नियालेर जीवनभित्र भेटिने सुषुप्त सौन्दर्य र जीवनबाटै उडेर गएका रङहरुलाई टिपेर बुट्टा भर्ने चेष्टा पनि गरेका छन्, उनले। उनी नलुकाएर भनिरहन्छन् आफ्नो कुरा :—
तिम्रो विरुद्धमा हुँदै होइन साथी म
आफ्नै विरुद्धमा थिएँ कतिचोटी म
अतलका गजल गजलभन्दा बेसी कविता जस्ता लाग्छन्। गजलका हरेक अक्षरले मनभित्रको सुसेलीलाई उनेर अनौठो लय बनाउन खोजेका छन्। गीतै जस्तो नभए पनि यस लयले पाठकलाई छुट्टै गतिमयताको प्रवाहले बाँधेर बगाइरहन्छ। उनका गजलमा डुबुल्की लाउने पाठकलाई गजलको रमरम अनुभूत गर्दा नगर्दै पल्लो तटमा पुर्याइ सक्छ। त्यही तटमा उभिदै आफ्ना पाठकलाई उनी फेरि सुनाइहाल्छन् :—
तिमीले छोएको आज हो र मलाई ?
कहिलेकाहीँ कसो हुँदिन बिरामी म !
गजलको लय र पारम्परिक संकुचनबाट टाढा बसेर कविताको गुञ्जन समेटेर उभिएका छन्, अतलका गजल। तर गजलको मुख्य ढाँचा भने उनले समातेकै छन्। नदीमा निर्बन्ध पौडेर पनि पौडिँदा हात खुट्टा चलाएर नाकमा पानी जान नदिएजत्तिको मात्रै हुन्छ उनका गजलमा गजलको अनुशासन। तैपनि अचम्मको सम्मोहन र शब्दातीत आकर्षण छ, उनका गजलमा। गजलजस्ता नभएर पनि गजलभन्दा राम्रा छन् यी गजल। मानौँ उधारेर पनि सिलाइरहेका हुन्छन् उनी :—
सिउन भन्दा परबाट उधारे तँलाई
सके आफ्नाले नै बिगारे तँलाई
अब तँ पनि आफ्नै इच्छाले लड्नू
निहत्था मैदानमा उतारे तँलाई
यो जय पराजय यहीँ छुट्छ अर्जुन
के नै फरक पर्ने हो र हारे तँलाई ?
एउटा कुरा तँलाई भन्न मन छ सारै
क्यै गरे भन्न सक्दिन प्यारे तँलाई
भेटियो भने कोही तँभन्दा सिपालु
गजब बन्नेछस् जान्नेले निखारे तँलाई
‘उला’ र ‘सानी’ को संरचनात्मक एकत्वले सङ्ग्रहको नामकरण ‘दुई’ गरेको सार्थक हुन पुगेको छ। केही बिग्रिनु पनि कहिलेकाही अमूर्त कला बनिदिन्छ। अतलका गजलमा दृष्टिगोचर अमूर्त र मूर्त कलाका बान्की पनि अनुपम सौन्दर्यको अवर्णनीय अनाम रङ बनिदिएका छन्। उनको यो युग्मपङ्क्ति कतै आफ्नै लागि लेखेका त हैनन् जस्तो पनि लाग्छ :—
भरि टम्म भएका अहिले हुन् र आँखा!
आज त डुब्दै डुब्दैन घाम हेर्न !
कुनै सुकुमार युवकको निधारमा थपक्क टाँसिएका अक्षता जस्ता प्रतीत हुन्छन् अतलका अधिकांश गजलका युग्म पङ्क्ति। अथवा कुनै भर्खरै अन्नप्राशन गरेको बालकको घाँटीमा लाइदिएको दुबोको माला हो अतलको कुनै गजल। उक्तिवैचित्र्य र अभिव्यक्तिय कौशलताको श्रृङ्गारले अतलका गजलबाट उछिट्टिने बियाँमा पाठकको ध्यान नै जान दिन्न। यी गजल उनकै काखे छोरीको आँखा वरिपरि लतपतिएको गाजल भैदिएका छन्। गजलको बाह्यान्तर श्रृङ्गार भन्दा अभ्यान्तर श्रृङ्गार अतुलनीय छ। उनले प्रतीकात्मक प्रश्न गरेका छन्, पटकपटक आफैप्रति :—
मेरालागि म मेरै पनि होइन !
थाह छैन को हुँ कसका लागि म ?
अतलका गजलमा केवल व्यञ्जना र लालित्य मात्र छैन। जसलाई बुझ्नको लागि जतिखेर पनि साहित्यशास्त्रको शब्दकोश पल्टाइरहनु परिरहोस्। कविले घुमाएर प्रतीकात्मक ढङ्गले मात्रै बोल्नु पर्छ भन्ने मान्यतालाई समातेर मात्रै बसेका छैनन्, उनी। उनी त सोझै पनि भनिदिन्छन् कतिपय कुरा। त्यो सोझै भनिएको कुरो पनि गहकिलो र चोटिलो बनिदिएको हुन्छ। यो उनको दोष नभएर काव्यिक कलाको उच्चतम नमूना हो। व्यञ्जनाको राग बन्न पुगेका उनका केही अभिधा हेरौँ :—
घरपट्टि दाइलाई यत्ति भनेँ आज
हजुरको मन जत्रो हाम्रो त आँगन छ !
———————————
म भन्दा अघि सुत्छ उठ्छ पनि ढिलो
मन मरेर हुक्क भयो घामको कुरामा
————————————
फेरि पनि स्वर बस्यो हजुरको कारणले
हजुर सुन्दै सुन्नु हुन्न सुस्तरी भनेको
————————————
हेलिकप्टर राहत बाँड्दै आउने कुरा छ
तिम्रो पेटमा च्युरा, मेरोमा पानी पर्न सक्छ
…………..
साहित्यमा भाषाको शुद्धता, व्याकरणको आचारसंहिता र कथ्यको शिष्टताको माग पनि हुने गर्छ। यो एकप्रकारले अनिवार्य आग्रह नै हो। यो कोणबाट हेर्दा अतलका गजल धेरैलाई गजलजस्ता नलाग्न पनि सक्छन्। उनलाई बुझ्न र उनका गजलको आनन्द लिन गजललाई कविताको कोणबाट नियाल्नै पर्छ।
नेपालका मौलिक शब्दभन्दा उर्दूका आयातीत शब्दप्रति उनमा अत्यधिक मोह देखियो। साहित्यको मौलिक छटाले उनीसित गुनासो गर्यो भने अन्यथा हुने छैन। मैले जे लेखे पनि साहित्य हुन्छ भन्ने हलुङ्गा कविले गरिरहने ढिपीले उनलाई पनि तान्न खाजेको छ बेलाबेला। तैपनि अनुभूति र संवेदनाको मौन गुञ्जनलाई उनले यसरी गजलको आवरणभित्र सिंगारेर राखेका छन् कि उनको यो सिर्जनात्मक विद्रोह पनि मीठो भैदिएको छ । उनी आफ्नै हेराई र आफ्नै बुझाईको उद्घोष गरिरहेका छन् ढुक्कले :—
आज नौलोनौलो छ भन्ने तरिका
तिमी बोलिरहका छौ कसको बोली
———————————
लुक्न आयौँ परालमूनि हामी पनि है
कस्तो हुन्छ देख्ने छन् आगो परालको
दोषरहित त यो संसारमा के पो छ र ? को पो हुन्छ र ? अतलले आदि शंकराचार्यले लेख्नु भएको ‘मठाम्नाय’ जस्तै कुनै ‘गजलाम्नाय’ लेखेका त हैनन् नि ! जहाँ त्रुटिलाई कुनै स्थान नै नहोस्। साहित्यमा त त्रुटी पनि यदाकदा कला बनिदिन सक्छन्।
अतलको गजलसङ्ग्रह ‘दुई’ पनि दोषरहित छैन। साहित्यिक पुस्तकमा प्रायः दोष दुई प्रकारका देखिने गर्छन्। एउटा सिर्जनात्मक, अर्को प्राबिधिक। सचेत र चेतनासम्पन्न कविले आफ्नो सिर्जनात्मक दोषलाई कविको स्वतन्त्रता, काव्यिक प्रयोग वा सिर्जनाको नयाँपन भनेर पुष्टि गरिदिन सक्छ, पाउँछ। अतल पनि त्यो गर्न सक्षम नै भएका छन्।
तर साहित्यिक पुस्तकमा प्राबिधिक दोषहरु भने क्षम्य हुँदैनन्। भाषा, व्याकरण र छपाई नै बिगारेर कुनै पनि कविलाई हतारमा पुस्तक छापेर पाठकलाई दिक्क लाउने अधिकार हुन्न। खिर खानेबेलामा दाँतमा ढुङ्गा लागेजस्तै गरेर ठाउँठाउँमा मुद्राराक्षसका त्रुटीहरुले ‘दुई’ मा पनि पाठकलाई दिक्क पारेकै रहेछन्। अतलजस्तो सचेत कविले नैवेद्य ख्वाउँदाख्वाउँदै बेलाबेला दाँतमा ढुङ्गा लाइदिएर पाठकलाई दिक्क किन पारे होलन्? मैले गम खाइरहेँ।
‘दुई’ को प्रकाशन हास्यव्यङ्ग साहित्यको संस्था भनेर चिनिएको ‘फित्कौली’ ले गरेको हो। मैले मुद्राराक्षसका त्रुटीहरुलाई फित्कौलीको हेलचेक्र्याइँ नठानेर रमाइलो गर्ने शैली नै ठानिदिएँ। अरु पाठकले यस्तो नठानिदिए भने क्षति त अतलकै हुने हो। यस्तो कुरामा धेरै नअलमलिएर म त केलाउन थालेँ यी युग्मपङ्क्तिका कटाक्ष र तात्पर्य :—
ज्ञान भोको छ विज्ञान साँचो बोल्दैन।
दलालको हुने भयो चलखेल यसपाली।
————————————
यसभन्दा पछि केही भन्न सकिन्न।
मैदानमा उत्रिएको छ श्रीपेच यसपाली।
पुदिनाको चटनी देख्यो भने त मान्छेको जिब्रो रसाइहाल्छ। आँपको अचारको सुगन्धले नै मान्छेको आँतभित्र हरहर गराइहाल्छ भने यी त अतलका गजल हुन्। कसैले नदेखेका र नछोएका कुरालाई टिपेर साहित्यको स्वरमा अनुदित गर्दै छमछम गरिरहेका अतलले पनि पाठकलाई त्यस्तै गराएका छन्। केही झिनामसिना त्रुटीलाई दृष्टिअनुमान (नजरअन्दाज) गरेर यी गजल पढ्ने हो भने गजलको रमरमले जसलाई पनि आल्हादित पार्ने सामर्थ्य राख्छन्।
१७२ पृष्ठको ‘दुई’ मा सय वटा लामाछोटा गजल छन्। गजलको प्राक्कथनको रुपमा राखिएका १० वटा कविताले ‘दुई’ लाई थप गहकिलो बनाएका छन्। प्राबिधिक रुपमा गजलको आकारमा भिन्नता भए पनि ती गजलको आयतन भने सबैको वजनदार छ। गजलसङ्ग्रहमा जीवनपानीको १७ पृष्ठ लामो भूमिका पनि रहेछ। अरु पुस्तकका भूमिका छुँदै नछोएजस्तो, पढ्दै नपढेजस्तो मैले पढिनँ यो भूमिका पनि। किन कि मलाई अतलको यस गजलले छमछम गर्दै एकोहोरो रमरम गराइरह्यो :-
भन्न त यहाँ क्या क्या भन्छन्
सब आफ्नै पक्षको कथा भन्छन्
कसैले भनेन आफ्नै कथा यसरी
भन्न त भन्छन् तर आधा भन्छन्
जानु पर्ने यही प्रेमको बाटो हो
जान मन छ कता कता भन्छन्
रोकियोस् एकैछिन महाभारत अब
‘पाउजु फुत्कियो’ भनी राधा भन्छन्
















