धनी र गरिब दुबैले हातेमालो गरे मात्र देश समृद्ध हुन सक्छ। धनीको स्रोत र ज्ञान, गरिबको श्रम र अनुभव जोडिन सके भने त्यो नै विकासको वास्तविक सूत्र हो।
नेपालमा विगतका दशकहरूदेखि अनेकौं अतिवादहरूले हाम्रो समाजलाई भित्रभित्रै पोलिरहेका छन्। ती अतिवादहरू कहिले विचारको नाममा, कहिले वर्गको नाममा, कहिले परिवर्तनको नाममा उग्र बनेका छन्। तर आज म कुरा गर्न चाहन्छु ती सबैमध्येका दुई अतिवादबारे, जसले हाम्रो सोच, दृष्टिकोण र सम्बन्धको दिशा बिगार्दै लगेका छन्।
पहिलो अतिवाद हो, गरिबलाई नचिन्ने, तर चिनिहाल्यो भने गरिबी र गरिबकै नाममा राजनीति गर्ने। यस अतिवादले गरिबीलाई समाप्त गर्ने होइन, बरु त्यसलाई आफ्नो शक्ति र सत्ताको हतियार बनाउने काम गरेको छ।
गरिबको नाममा बोलिन्छ, गरिबको आँसु देखाएर सत्ता समातिन्छ, तर अन्ततः गरिबको जीवन फेरिँदैन। यस्तै सोचले गरिबीलाई समस्या होइन, अवसरको रूपमा हेर्ने चलन बढाएको छ, जसले समाजमा सहानुभूति होइन, निर्भरता र राजनीतिक व्यापारको बीउ रोपेको छ।
नेपालमा सुकुम्बासीका लागि भनेर धेरै राजनीतिक दलहरूले घोषणापत्रमा सुकुम्बासीहरूलाई जग्गा दिने वा जग्गाविहीन जनता नरहने खालका प्रतिबद्धता गरेका छन्। ती सबैजसो दलहरूले बोलेर भनेका पनि हुन्, तर यथार्थमा हेर्दा त्यो कुरा न त सत्यतामा बदलिएको देखिन्छ, न त समाधानको बाटोतिर हिँडेको।
उदाहरणका लागि म छ वर्षदेखि टीकापुर नगरपालिकामा बस्दै आएको छु। शिक्षण पेशाका कारण टीकापुर आइसकेपछि मैले पढाए मात्रै होइन, यो समाजलाई पनि नजिकबाट पढ्ने मौका पाएँ। यहाँ मैले देखेको समाजमा पसिना बगाउने श्रमजीवीहरूकै जग्गा छैन, थिएन पनि।
जतिखेर राजनीतिक दलहरूले आफ्ना घोषणापत्रहरूमा ‘जग्गाविहीनहरूलाई जग्गा उपलब्ध गराउँछौं’ भनेका थिए, त्यसबेलादेखि आजसम्म स्थानीय तह, प्रादेशिक तथा संघीय तहका चुनाव भइसके र धेरैवटा स्थानीय, प्रादेशिक तथा संघीय सरकारहरू पनि गठन भइसके, तर अवस्था जस्ताको तस्तै छ।
यहाँ धेरै शिविरहरू छन् जहाँ जग्गाविहीनहरूको बसोबास बढी छ। जसमध्ये शिवनगर शिविरमा म कोभिड–१९ को बेला र अर्को पटक डुबानले ल्याएको संकटको समयमा पुगेको थिएँ। त्यसबेला जमिनमाथिको स्वामित्व नहुँदाका पीडाहरू मैले सुनेँ, र जति सुनेँ, त्यति अनुभूति पनि गरेँ।
यद्यपि ती पीडाहरू पूर्ण रूपमा महसुस गर्न नसकेको होला, तर त्यहाँका पीडा भयानक र डरलाग्दा थिए। ती डरलाग्दा पीडाहरूका चोटहरू धनीहरूसँगको सहकार्यबाट मात्र तोड्न र मलम लगाउन सकिन्छ। उहाँहरूलाई जग्गाको स्वामित्व दिने कुरामा त सरकारहरू सफल भएनन्, उहाँहरूलाई सिप दिएर आफैं जग्गा आर्जन गर्ने आत्मविश्वास समेत दिन सकिएन।
टीकापुर नगरपालिकामा देखिएका यी पीडाहरू प्रतिनिधिमूलक मात्र हुन्, यस्ता पीडाहरू देशव्यापी छन्, सर्वव्यापी छन्। यसको अन्त्यले मात्र सबै जनता साँच्चै आनन्दित भएको अनुभूति गर्न सकिनेछ। तर गरिब र गरिबीलाई राजनीतिक सवाल र राजनीतिक गर्ने हतियार ठानिरहनेहरूले यसलाई समाधान गरेनन् वा गर्न सकेनन् वा चाहेनन्, यो प्रश्नको विषय हो।
अर्को अतिवाद हो, धनीलाई देख्दा जल्ने, धन देख्दा द्वेषको आगो सल्काउने र प्रत्येक सम्पन्न व्यक्तिलाई चोरको दृष्टिले हेर्ने। यस्तो दृष्टिकोणले समाजमा मेहनतको होइन, असन्तोषको खेती गर्छ। धन आर्जन गर्ने सबैलाई कुकर्मी ठान्ने यो सोचले श्रमको सम्मान नष्ट गर्छ र सिर्जनाको बाटोमा अवरोध खडा गर्छ।
तर के सबै धनीहरू भ्रष्ट हुन्छन् त? के सबै गरिबहरू चरित्रवान् र निर्मल हुन्छन्? के धन आर्जन गर्नु नै अपराध हो? होइन, मानव जीवनमा गरिबी र सम्पन्नता दुवै अवस्था हुन्, जसले व्यक्तिको आत्मा, सोच र कर्म निर्धारण गर्दैनन्। धनी र गरिबबीचको भिन्नता दोष होइन, जीवनका दुई पाटा हुन्, जहाँ सहकार्यको सम्भावना लुकेर बसेको हुन्छ।
व्यक्तिको मूल्य धन वा गरिबीले होइन, उसको आचरण, सोच र कर्मले मापन हुन्छ। जसको व्यवहार सच्चा छ, जसको सोच स्वच्छ छ, जसले श्रमको सम्मान गर्छ, त्यो नै समाजको वास्तविक सम्पत्ति हो। धनले मान्छेको मूल्य बढाउँदैन, बरु उसको मन र कर्मले बढाउँछ।
तर दुःखको कुरा के छ भने, हाम्रो समाजमा पसिनाको मूल्य घट्दै गएको छ। जसले इमानदार श्रम गर्छ, जसले पसिना बगाएर जीवन गुजारा गर्छ, उसलाई सम्मान कम र कठिनाइ बढी मिल्छ।
उल्टै, जसले छलकपट र भ्रष्टाचारको बाटो समातेका छन्, उनीहरूलाई आदर्शको रूपमा प्रस्तुत गरिन्छ। यही प्रवृत्तिले नेपाली समाजको मूल आत्मामा आघात पुऱ्याइरहेको छ।
जहाँ पसिनाप्रति विश्वास र सम्मान छैन, त्यहाँ विकासको सपना यथार्थ बन्न सक्दैन। पसिना बगाउने हातहरू नै देशका निर्माता हुन्। तिनै हातहरूको मूल्य घटाएर समृद्धिको कल्पना गर्नु अन्धकारमा उज्यालो खोजेजस्तै हो। त्यसैले अब हामीले अतिवादको ज्वालामा इन्धन थप्ने होइन, सहकार्यको दियो बाल्ने समय आएको छ।
हामीले बुझ्नैपर्छ, गरिबी अन्त्य धनको विनाशबाट होइन, श्रम र स्रोतको संयोजनबाट हुन्छ। धनी र गरिब दुबैले हातेमालो गरे मात्र देश समृद्ध हुन सक्छ। धनीको स्रोत र ज्ञान, गरिबको श्रम र अनुभव जोडिन सके भने त्यो नै विकासको वास्तविक सूत्र हो।
धन भएका र धन नभएका बीचको सहकार्यले मात्रै नेपाली माटोमा समृद्धिको बीउ रोप्न सकिन्छ। धनले शोषण होइन, सिर्जनाको बाटो देखाओस्। गरिबीले कमजोरी होइन, परिवर्तनको प्रेरणा बनोस्। त्यही हो नयाँ नेपालको सार्थक दिशा।
अब हामीले निर्णय लिनुपर्छ, गरिबीलाई राजनीतिक हतियार बनाउनेहरू र धनलाई दहन गर्नेहरू दुवैलाई समाजको चेतनाबाट बाहिर राख्ने। गरिबीलाई भाषणको विषय होइन, समाधानको कार्यक्रम बनाऔँ। धनलाई जलाउने होइन, सदुपयोग गरेर अवसरमा रूपान्तरण गर्ने सोच विकास गरौँ।
हामीलाई चाहिने समाज त्यो हो, जहाँ धनको घमण्ड होइन, मनको उदारता बोलोस्। जहाँ गरिबीको पीडा होइन, श्रमको गौरव चम्कियोस्। जहाँ इमानदार पसिनाले कमाएको सम्पत्तिले सम्मान पाओस् र कुकर्मबाट आर्जित सम्पत्ति निषेध होस्।
अबको बाटो हो, समृद्धिको, समानताको, र सहअस्तित्वको।
जहाँ अतिवादको ज्वाला निभ्छ र सहकार्यको प्रकाश फैलिन्छ।
जहाँ धनी र गरिब दुवै नेपाली नामको साझा पहिचानमा एक हुन्छन्।
र जहाँ प्रत्येक पसिनाको थोपा नेपालको भविष्य लेख्छ, आशाले, श्रमले, र प्रेमले।














