मंगलवार, १३ माघ, २०८२

समाज सुधार र पेन्सिलको प्रतीकात्मक शक्ति

पेन्सिलले लेखेको अक्षर इरेजरले मेटाएजस्तै, केही मानिसहरूले योगदानलाई नदेखाउने प्रयास गर्छन्। तर सत्य यो हो कि, इमानदारीले छोडिएको छाप कहिल्यै हराउँदैन। समयसँगै त्यो छाप अझ बलियो भएर देखा पर्छ।

मानव जीवन केवल जन्म, बाँच्ने र मर्ने चक्रमा सीमित छैन। जीवनलाई सार्थक बनाउने तत्व हो—समाजप्रतिको जिम्मेवारी र योगदान। यदि प्रत्येक व्यक्ति केवल आफ्नो व्यक्तिगत सुख-सुविधा र स्वार्थमा सीमित रहन्छ भने समाजमा अन्धकार मात्र फैलिन्छ।

तर जब मानिसहरू अरूको पीडा बुझ्न, सामाजिक समस्याको समाधान खोज्न, र सकारात्मक परिवर्तन ल्याउन अघि सर्छन्। त्यही नै जीवनको साँचो मूल्य हो।

मैले जीवनलाई बुझ्ने क्रममा आफूलाई एउटा पेन्सिलको रूपमा हेर्न थालेको छु। पेन्सिल साधारण देखिए पनि यसमा गहिरो प्रतीकात्मक शक्ति हुन्छ। पेन्सिल लेख्छ, गल्ती सुधार्छ, फेरि लेख्छ र अन्ततः स्पष्ट छाप छोड्छ।

यसरी नै समाजलाई पनि यस्ता व्यक्तिहरू चाहिन्छ, जो निरन्तर योगदान गर्छन्, गल्ती सुधार्छन् र अन्ततः समाजमा सकारात्मक छाप छोड्छन्।

आज हाम्रो समाज अनेकौं समस्याले घेरिएको छ, असमानता, बेरोजगारी, अशिक्षा, स्वास्थ्य सेवा अभाव, भ्रष्टाचार, र सामाजिक निराशा। गाउँमा खानेपानीको संकट छ, सहरमा वायु प्रदूषण।

युवा बेरोजगार छन्, किसान उत्पीडित। यस्ता घाउहरू निको पार्न सरकारले मात्र हैन, प्रत्येक सचेत नागरिकले पनि भूमिका खेल्न आवश्यक छ। सानो प्रयासले पनि ठूलो परिणाम ल्याउन सक्छ। जसरी पेन्सिलको सानो अक्षरले ठूलो सन्देश दिन सक्छ।

तर समाज सुधारको बाटो सजिलो छैन। यहाँ आलोचना गर्ने, रोक्ने, नकारात्मक टिप्पणी गर्ने, अपमान गर्नेहरू पनि भेटिन्छन्। तर म चाहन्छु, समाजले मलाई काटोस्, धार लगाओस्।

किनभने पेन्सिल धार लागेपछि अझ राम्रो लेख्छ, जीवन पनि त्यस्तै हो, संघर्षले मात्र व्यक्ति निखारिन्छ। आलोचना र चुनौतीहरूलाई मैले आत्मसात गर्दै, त्यसलाई नयाँ ऊर्जा र सामर्थ्यमा रूपान्तरण गर्ने अठोट लिएको छु।

तर एउटा सत्य यह पनि हो—जुनसुकै राम्रो काम गर्न खोज्दा पनि केही तत्वहरू त्यसलाई मेटाउन खोज्छन्। ईर्ष्या, राजनीति वा व्यक्तिगत स्वार्थका कारण सत्य र सेवा भावनालाई बेवास्ता गरिन्छ।

पेन्सिलले लेखेको अक्षर इरेजरले मेटाएजस्तै, केही मानिसहरूले योगदानलाई नदेखाउने प्रयास गर्छन्। तर सत्य यो हो कि, इमानदारीले छोडिएको छाप कहिल्यै हराउँदैन। समयसँगै त्यो छाप अझ बलियो भएर देखा पर्छ।

हाम्रो समाजलाई अझ धेरै पेन्सिलहरू चाहिन्छ। युवा, महिला, किसान, श्रमिक, विद्यार्थी, सबै मिलेर समाज सुधारको यात्रामा जुट्नुपर्ने समय यही हो।

समाज परिवर्तन कुनै एक नेताले मात्र गर्न सक्दैन। यो सामूहिक जिम्मेवारी हो। जब हामी सानो सहयोग, सकारात्मक सोच र चेतनाको बीउ छर्‍छौं, तब मात्रै समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ।

पेन्सिलले कागजमा अक्षर कोर्छ, तर चेतनशील व्यक्तिले समयको पानामा इतिहास लेख्छ। आज गरिएका कर्महरूले भोलिको स्मृति निर्माण गर्छ।

त्यसैले हरेक नागरिकले समाज उपयोगी जीवनयापन गर्नुपर्छ। अरूको पीडा बुझ्न, सहयोग गर्न, र सकारात्मक सोच फैलाउन सके हाम्रो देश उज्यालो भविष्यतर्फ अघि बढ्छ।

विशेष गरी नवयुवा पुस्ताले यस यात्रामा अग्रणी भूमिका खेल्नुपर्छ। किनकि देशको भविष्य उनीहरूकै काँधमा अडिएको छ। यदि युवाले आफ्नो ऊर्जा, सोच र सिर्जनशीलतालाई सकारात्मक परिवर्तनमा मोड्न सके, समाजमा साँच्चिकै क्रान्ति सम्भव छ।

म विश्वासका साथ भन्छु, म निरन्तर पेन्सिलझैँ अगाडि बढिरहनेछु। समाज सुधारको यात्रामा काट्ने प्रयास होस् वा मेटाउने, मेरो इमानदारी, सेवाभाव र प्रतिबद्धता कहिल्यै मेटिँदैन।

लोकेन्द्र बहादुर शाही

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार