मंगलवार, १३ माघ, २०८२

“जीवनको यात्रामा : जहाँ सोच नै चालक हुन्छ”

भनिन्छ, धैर्यलाई सहयात्री, प्रेमलाई इन्धन, सहनशीलतालाई स्टीयरिङ, र इमानदारीलाई कम्पास बनाएर अघि बढ्न सकियो भने कठिन यात्रा पनि रमाइलो अनुभवमा परिणत गर्न सकिन्छ।

जीवन कुनै साधारण बाटो होइन। यो यात्रा उस्तै–उस्तै दिनहरूको दोहोराइ मात्र होइन, प्रत्येक दिन नयाँ मोड, नयाँ संघर्ष र नयाँ अवसर बोकेको अनन्त यात्रा हो।

कहिले यो यात्रा पहाडजस्तै उकालो हुन्छ, जहाँ प्रत्येक पाइला भारी लाग्छ र थकानले शरीर मात्र होइन, मनलाई पनि दबाब दिन थाल्छ। कहिले जीवन खोँचजस्तै गहिरो हुन्छ, जहाँ उक्लिन थाल्दा बारम्बार लड्नुपर्छ, चोट लाग्छ, र आँशु झर्छ।

तर, हरेक चोट र आँशुले हामीलाई केही न केही सिकाउन आउँछ। त्यसैले जीवनलाई केवल लाइनर बाटो नभइ, घुमाउरो बाटो भएको एक अद्भुत यात्रा मानिन्छ, जुन हरेक मोडमा नयाँ पाठ राखेर बसिरहेको हुन्छ।

यस यात्रामा हाम्रो मस्तिष्क नै मुख्य साधन हो। जसरी यात्रामा बस, मोटर वा घोडा सही बाटोमा हिँडे मात्र यात्रु सुरक्षित गन्तव्यमा पुग्छन्, त्यस्तै हाम्रो सोच, निर्णय र विवेकले जीवनलाई सुरक्षित र सफल बनाउँछ।

सही समयमा सही निर्णय लिन सक्नु र गलत समयमा आफूलाई रोक्न सक्नु नै विवेकशील मानसिकताको चिनारी हो। तर यदि हाम्रो मस्तिष्कलाई हामीले गलत ठाउँमा लगाइछाड्यौँ भने के हुन्छ?

यदि अज्ञानले यसको दिशा नियन्त्रण गर्‍यो भने, यदि राग, द्वेषले यसका बाटाहरू मोड्यो भने, यदि लोभ, घृणा वा क्रोधले यसलाई कब्जा गर्‍यो भने, त्यतिबेला जीवनको बाटोमा हामी चिप्लिन्छौँ। भासिन्छौँ। अनि कहिलेकाहीँ जीवनकै ठूलो मूल्य चुकाउन बाध्य हुन्छौँ।

त्यसैले मस्तिष्कलाई सँभाल्नु, यसलाई सन्तुलनमा राख्नु र सही दिशा रोज्नु नै जीवनको असली कला हो।

भनिन्छ, धैर्यलाई सहयात्री, प्रेमलाई इन्धन, सहनशीलतालाई स्टीयरिङ, र इमानदारीलाई कम्पास बनाएर अघि बढ्न सकियो भने कठिन यात्रा पनि रमाइलो अनुभवमा परिणत गर्न सकिन्छ। किनकि यिनै नै जीवनमा स्थायी ऊर्जा र मार्गदर्शन गर्ने तत्वहरू हुन्।

जीवनमा हामीले अनेकौं तिता, मिठा अनुभवहरू भोग्छौँ। कहिले गरीबीले पेट पोल्छ, कहिले रोगले शरीरलाई थकाइ दिन्छ, कहिले आफ्नै प्रियजनको धोखाले आत्मालाई क्षत विक्षत बनाउँछ र कहिले आफ्नै कमजोरीले सपना भत्काउँछ।

तर त्यहीबीच परिवारको मायाले घाउ मलम लगाउँछ, साथीहरूको हाँसोले दुःख हलुका बनाउँछ, र संघर्षपछि प्राप्त सानो सफलता पनि जीवनलाई महान उपलब्धि लाग्छ।

यी नै तिता–मिठा अनुभवहरू जीवनका रंग हुन्। यदि केवल खुशी मात्रै हुन्थ्यो भने यो यात्रा नीरस र एकरूप हुने थियो; यदि केवल पीडा मात्रै हुन्थ्यो भने यो यात्रा असह्य र निराशपूर्ण हुने थियो।

सुख–दुःख, हाँसो, आँसु, तिता, मिठा यी सबैको मिश्रणले मात्र जीवनलाई सुन्दर बनाएको छ। कुनै कलाकारले एउटा सुन्दर चित्र बनाउनका लागि एउटा मात्र रंग प्रयोग गर्दैन, विभिन्न रंगहरूको संयोजनले चित्र साँच्चै जीवित हुन्छ। त्यसैगरी, जीवनको चित्र पनि विविध रंगहरूमार्फत मात्र सुन्दर र अर्थपूर्ण हुन्छ।

जीवनको असली अर्थ गन्तव्यमा पुग्नु मात्रै होइन। बाटोमा पाएका शिक्षा, गल्तीहरूबाट सिकेका अनुभव, बाँडिएका पीडा र खुशी नै जीवनको वास्तविक सम्पत्ति हुन्। हरेक दिनले नयाँ आरम्भ दिन्छ र हरेक साँझले केही न केही सिकाएर बिदा लिन्छ।

जसरी कुशल चालकले आफ्नो साधनलाई सन्तुलनमा राख्छ, हामीले पनि आफ्नो मस्तिष्कलाई विवेकसहित सन्तुलित राख्न सक्नु पर्दछ। जब हामीले आफ्नो सोचलाई सही दिशा दिन सिक्छौँ, त्यतिबेला जीवनको यात्रा अझ प्रभावकारी हुन्छ।

तब मात्र न जीवनमा दुर्घटना हुन्छ, न पछुतो बाँकी रहन्छ। बरु यो कठिन यात्रा नै एक अमूल्य स्मृति र सन्देश बनेर हामीलाई सधैं प्रेरणा दिइरहन्छ। त्यसैले हरेक दिनको यात्रालाई सजग, धैर्यवान् र सकारात्मक सोचसहित अघि बढाउनु नै मानव जीवनको असली सफलता हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार