कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनस्वास्थ्य महाविद्यालयद्वारा आयोजित प्रथम पब्लिक हेल्थ कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा कुल ११ टोलीले सहभागिता जनाए का थिए, जसबाट ब्ल्याक स्टोन (प्रतिष्ठानका कर्मचारी टोली) र बीपीएच ए टोली फाइनलमा प्रवेश गरेका थिए।
फाइनल खेलमा बीपीएच ए टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै ब्ल्याक स्टोनलाई पराजित गर्दै उपाधि उचालेको हो।
विजेता टोलीलाई नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता ब्ल्याक स्टोनले नगद पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले यस्ता प्रतियोगिताले विद्यार्थी र कर्मचारीबीच अनुशासन, सहकार्य र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले फुटसल मात्र नभई अन्य खेलकुद गतिविधिहरूलाई पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै प्रतिष्ठानका निमित्त निर्देशक दिपेन्द्र हमालले भने, “पब्लिक हेल्थ पढ्दै गरेका विद्यार्थीहरूले पाठ्यक्रम मात्रै होइन, शारीरिक तन्दुरुस्ती र टीम स्पिरिट जस्ता मूल्यहरू पनि आफूभित्र विकास गर्नुपर्छ।”
प्राध्यापक उमेश राज अर्यालले प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण टिमको प्रशंसा गर्दै युवा पुस्ताको उर्जा र नेतृत्व क्षमता प्रस्फुटनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
जनस्वास्थ्य महाविद्यालयका उप–प्राध्यापक ओप प्रकाश काफ्लेले प्रतियोगिता आगामी वर्षदेखि अझ व्यवस्थित र फराकिलो बनाइने जानकारी गराउँदै सबै खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए।
प्रतियोगिताका संयोजक तथा आयोजक समिति अध्यक्ष मनिस रोकायाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थी र कर्मचारीबीच सकारात्मक अन्तर्क्रिया, सहकार्य र स्वस्थ जीवनशैलीप्रति प्रेरित गर्नु रहेको थियो।