भिडियोले जुम्लाबासीको शिर उच्च बनाएको छ। कर्णालीलाई पिछडिएको क्षेत्रको रूपमा होइन, सभ्य, संवेदनशील र सम्भावनाले भरिएको भूगोलको रूपमा प्रस्तुत गरेको छ।
जहाँ पहाडहरू साक्षी छन्, संघर्षको, जहाँ हिउँझैँ जस्तै शुद्ध छ, जनताको भावना, त्यहीँको एक सन्दर्भ अहिले चर्चामा छ। पूर्वयुवराज हृदयन्द्र शाहको सादगीपूर्ण जुम्ला यात्रा र त्यसले खडा गरेको जनसम्बन्धको लहरले यहाँको सामाजिक–राजनीतिक वृत्तलाई तरंगित बनाएको छ।
तर यत्रो सकारात्मक ऊर्जा छचल्किएको घडीमा एउटा जनप्रतिनिधिबाट आएको टिप्पणीकै कारण सामाजिक सञ्जालमा एउटा बहस चुलिएको छ। जसको केन्द्रबिन्दुमा छ एकताको मूल्य र योगदानको कदर।
यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीका स्वकीय सचिव गोकर्ण कठायतले सामाजिक सञ्जालमार्फत एक गम्भीर र सुसंस्कृत ध्यानाकर्षण गरेका छन्। जसले जुम्लाका प्रतिनिधि जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउने मात्रै होइन, एकताप्रति थप संवेदनशील हुन पनि आग्रह गर्छ।
कठायतको लेखनको मूल भाव स्पष्ट छ, “हामी जिल्लावासीको ठुलो चाहना छ, चारजना सांसदहरू मिलेर काम गरुन्।”
उनका अनुसार यो समग्र जुम्ली जनताको आकांक्षा हो। राजनीतिक भिन्नता स्वाभाविक हो, तर सार्वजनिक हितका सवालमा एकताको अभ्यास नै लोकतन्त्रको आत्मा हो।
जब हृदयन्द्र शाहले आफ्नो जन्मदिनको अवसरमा कुनै तामझाम नगरी जुम्ला पुगेर गाउँहरूमा पाइला टेके, स्थानीयसँग हात मिलाए, बालबालिकालाई अँगालो हालेर माया दिए, त्यतिबेला उनले चुपचाप एक गहिरो सन्देश दिएका थिए, “अहंकार होइन, आत्मीयता नै शक्ति हो।”
जनताको मन जित्ने यो सरल तर प्रभावकारी शैलीको अर्थ गहिरो छ।
तर यस्तो बेला, जुम्लाकी समानुपातिक सांसद छिरिङ लामा ल्यामू तामाङको सामाजिक सञ्जालमा आएको टिप्पणीले जनमनमा खलल पुर्याएको महसुस गरिएको कठायतको मत छ।
उनले प्रस्तुत गरेका ऐतिहासिक तथ्यहरू केवल भावनात्मक स्मरण मात्र नभई दस्तावेजको संघ्या दिएका छन्।
“बहुमुखी क्याम्पस, जिल्ला अस्पताल, जुम्ला विमानस्थल, घुघुती जलविद्युत आयोजना, भेडा फर्म, कृषि अनुसन्धान केन्द्र, यी सबै संरचनाहरू कुनै सपनाबाट होइन, योजनाबाट बनेका थिए,” उनले लेखेका छन्।
ती योजनाकार तत्कालीन राजा–राजपरिवार थिए भन्ने कुरा कठायत लुकाउन चाहँदैनन्, न त त्यसलाई बाङ्ग्याउने प्रयास गर्छन्।
“राजनितीक विचार फरक हुन सक्छ, तर तथ्यलाई बंग्याउनु वा योगदानलाई अवमूल्यन गर्नु उचित हुँदैन,” भन्ने वाक्य आफैँमा लोकतान्त्रिक परिपक्वताको नमूना हो। कठायतको यो दृष्टिकोण सन्तुलनमा आधारित छ। जहाँ आलोचना छैन, तर आग्रह छ; आरोप छैन, तर अनुरोध छ, “तपाईं जिम्मेवारी कुर्सीमा हुनुहुन्छ, कृपया मर्यादा पालन गर्नुहोस्।”
हृदयन्द्र शाहको भ्रमणको बेलामा सार्वजनिक गरिएको एउटा भिडियोलाई कठायतले केवल दृश्यको रूपमा होइन, एक प्रेरणाको रूपमा चित्रण गरेका छन्। उनका शब्दहरू छन्, “भिडियोले जुम्लाबासीको शिर उच्च बनाएको छ। कर्णालीलाई पिछडिएको क्षेत्रको रूपमा होइन, सभ्य, संवेदनशील र सम्भावनाले भरिएको भूगोलको रूपमा प्रस्तुत गरेको छ।”
उनका अनुसार यो भनाइमा अडिएको राष्ट्रिय, क्षेत्रीय आत्मगौरवको भावना छ, जुन कुनै राजनीतिक मतान्तरभन्दा परको विषय हो।
राजनीतिमा बहस जरुरी छ, तर त्यसले सहिष्णुताको घेराभित्र हुनुपर्छ भन्ने सन्देश कठायतले दिएको देखिन्छ। उनको पोस्ट केवल एक व्यक्ति प्रतिको ध्यानाकर्षण होइन, समग्र राजनीतिक वर्गप्रतिको स्मरण पनि हो, “जनताले तपाईंलाई हेरेका छन्, तिनको भरोसा नतोड्नुस्।”
कठायतले अन्तिममा उल्लेख गरेका छन्, “अनावश्यक टिकाटिप्पणीले एकतामा खलल पुर्याउन सक्छ, जुन जुम्लाको हित र समग्र विकासका लागि हानिकारक छ।”
उनले सामाजिक संजालमा पोष्ट गरेको सामग्रीमा हृदयन्द्र शाहप्रतिको सद्भाव, राजनीतिक परिपक्वताको अपील र इतिहासप्रतिको कदर, यी सबै समेटिएको छ। यस्तो आवाजलाई राजनीतिक सीमामा सीमित गर्नु सान्दर्भिक हुँदैन, यो त अब जन-मञ्चमा सार्थक बहसको विषय बन्नुपर्ने उनको राय छ।
“यो यस्तो समय हो, जब आलोचना भन्दा ठूलो हुन्छ आत्मआलोचना। प्रतिकारभन्दा ठूलो हुन्छ सम्वाद र पदभन्दा ठूलो हुन्छ त्यस पदको मर्यादा,” गोकर्ण कठायतको विचरले यही सन्देश दिन्छ।