बिहीबार, २१ फाल्गुन, २०८२

नेपाल तरुण दल जुम्लाको ५ औं जिल्ला अधिवेशन सुरु, काङ्ग्रेस नेताहरूको धारणा सार्वजनिक

त्यस्तै अधिवेशनको अध्यक्ष पदका उम्मेदवार आकांक्षीहरु हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्द्र शाही, रतन शाही, विकास शाही, गणेश मल्ल भरत शाहीलगायत गरेर १० जनाले आकांक्षा प्रस्तुत गरेका छन्

करिब एक दशकपछि आयोजित नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समारोह सोमबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका जिल्ला तथा केन्द्रस्तरका नेताहरूको विशेष उपस्थितिमा सम्पन्न उद्घाटन सत्रमा विभिन्न धारणा राख्दै नेताहरूले तरुण दललाई सशक्त र पार्टी सुदृढीकरणको मुख्य अंगका रूपमा प्रस्तुत गरे।

काङ्ग्रेस सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रमा उनले तरुण दल एक सशक्त युवा प्रतिनिधित्व भएको संगठन उल्लेख गर्दै यसमा पार्टीलाई अब्बल साबित गर्न युवाको महत्त्वपूर्ण भुमिका हुने बताइन् । जिल्लाको यो भेलाले आफू आकर्षित समेत भएको र अब्बल र सक्षम नेतृत्व भएको जिल्ला कार्यसमिति बन्ने उनको विश्वास रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल तरुण दलका केन्द्रिय सदस्य सागर परियारले भने, “यो अधिवेशन नेतृत्व चयनको मात्र होइन, पार्टीलाई जीवन्त बनाउने अवसर हो। तरुण दलले नयाँ अध्याय सुरु गर्दैछ।” उनले वर्तमान परिस्थितिमा केही अराजक तत्त्वले देश हाँक्न खोजिरहेको भन्दै सचेत रहन पनि आग्रह गरे।

तरुण दल केन्द्रिय कार्यसमिति सदस्य भिमकुमार उपाध्यायले युवाहरूको जमात अब सक्रिय भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए। उनले बीपी कोइरालाको आदर्शलाई आत्मसात् गर्दै संगठनलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिए।

काङ्ग्रेस कर्णाली प्रदेश सदस्य दीपा बोहोराले सम्पूर्ण प्रतिनिधिहरूलाई अधिवेशनको शुभकामना दिँदै, “जहाँ छौं, त्यहाँबाट दायित्व पूरा गरौं” भन्ने सन्देश दिइन्।

जिल्ला उपसभापति दीपक बहादुर शाहीले सबैले स्वीकार गर्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए। उनले नेपाली काङ्ग्रेस एकताको सन्देश बाहिर लैजानुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संघका केन्द्रिय सदस्य अनुप थापाले भने, “नेपाली काङ्ग्रेस बिना नेपालमा परिवर्तन सम्भव थिएन। तर वर्तमानमा एमाले र माओवादीसँग डराएर अघि बढिरहेको देख्दा पीडादायी लाग्छ।”

काङ्ग्रेस सम्पूर्ण महासमिति सदस्य दिलबहादुर महतले पार्टी सुदृढ गर्ने नेतृत्व चयन होस् भन्ने शुभकामना दिए।

प्रदेशसभा सदस्य देवेन्द्र शाहीले अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिँदै, विगतमा आफू अन्यायमा परेको अनुभव साझा गरे। अब यस्ता अन्याय नदोहरिनु पर्नेमा जोड दिए।

बागलुङ जिल्ला सभापति लक्ष्मण सुवेदीले देशमा विकास भएको हो भने त्यो काङ्ग्रेसकै कारण भएको बताए। “फेसबुकका नेता होइनन्, काङ्ग्रेसकै निष्ठावान नेताहरूले देश बनाएका हुन्,” उनले धारणा राखे।

पूर्व प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले युवाहरूलाई इमानदार राजनीतिमा लाग्न प्रेरित गर्दै असल नेतृत्वको अपेक्षा गरेका छन्।

त्यस्तै अधिवेशनको अध्यक्ष पदका उम्मेदवार आकांक्षीहरु हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्द्र शाही, रतन शाही, विकास शाही, गणेश मल्ल भरत शाही लगायत गरेर १० जनाले आकांक्षा प्रस्तुत गरेका छन्।

उद्घाटन सत्रमा उपस्थित नेताहरूले तरुण दलको भूमिकालाई अझ सशक्त बनाउन युवा सहभागिता, इमानदारी र सशक्त नेतृत्व अपरिहार्य रहेको उल्लेख गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल