शुक्रबार, २९ फाल्गुन, २०८२

गिडीदह: हराउँदै गएको सौन्दर्यको मौन प्रतिक्षा

वर्तमान वडाध्यक्ष अमर रोकायाको सक्रियता र पहलप्रति स्थानीयवासीहरूमा आशा पलाएको छ। अब केही त परिवर्तन हुनेछ। अमर रोकायाले कार्यक्रममा उद्घोष गर्दै भनेका थिए, “गिडीदह तातोपानी गाउँपालिकाको मात्र होइन, सिंगो जुम्लाको सम्भावना हो। यसको संरक्षण र प्रवर्द्धनमा हामी सबै लाग्नुपर्छ।”

जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडीदह एउटा मौन आत्मा हो, जसले प्रकृतिका रत्नहरूलाई बोकेर वर्षौँदेखि आफूलाई चिनाउन नसकेका कथाहरू सुनाइरहेछ। एउटा सुन्दर सपनाजस्तै देखिने, तर दुःखको धुवाँमा हराएको सत्यजस्तै अनुभूति हुने यो ताल, आज पनि पर्खिरहेको छ। सम्भावनालाई, साथलाई र सरकारको संवेदनशील दृष्टिलाई।

गिडीदह कुनै काल्पनिक सौन्दर्य होइन। यो वास्तविकता हो। जहाँ नीलो पानीले आकाशलाई अँगालो हाल्छ, अनि वरिपरिको हद भरि फैलिएको घना जंगलले वातावरणलाई शान्त बनाउँछ। त्यो हरियाली जंगल, जहाँ चराहरूको चिर्बिराहट हुन्छ, हावाले पातहरू हल्लाउँछ, अनि दहको छेउमा उभिएर मानिसले आफूलाई सानै ठान्न थाल्छ। यहाँको प्राकृतिक शान्ति यति गहिरो छ, मानौँ त्यो भूमि स्वर्ग हो कन्चन खोला भएर बगिरहेको छ।

तर, प्रकृतिले दिएकै सौन्दर्य पर्याप्त हुँदैन। जबसम्म त्यसमा मानव संवेदना र दूरदृष्टिले भरिएको प्रयास मिसिदैन, तबसम्म त्यो सौन्दर्य केवल चित्र मात्र बन्छ—उपयोग हुन नसक्ने सुन्दरताको भारी बोकेको।

त्यही अभाव गिडीदहले भोगिरहेको छ।

गत वर्ष सम्पन्न “प्रथम गिडीदह मिडिया सम्मेलन” एक ऐतिहासिक कोसेढुङ्गा बन्यो। यस सम्मेलनमा राष्ट्रिय तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो। तालको छेउमै पत्रकारहरूले प्राकृतिक सौन्दर्य अवलोकन गरे, स्थानीय जनजीवन बुझ्ने प्रयास गरे, अनि पहिलो पटक गिडीदहको आवाज देशभर पुर्‍याउने थालनी गरियो।

उक्त सम्मेलनको आयोजना वर्तमान वडाध्यक्ष अमर रोकायाको पहलमा भएको हो। उहाँको सक्रियता र पहलप्रति स्थानीयवासीहरूमा आशा पलाएको छ। अब केही त परिवर्तन हुनेछ। अमर रोकायाले कार्यक्रममा उद्घोष गर्दै भनेका थिए, “गिडीदह तातोपानी गाउँपालिकाको मात्र होइन, सिंगो जुम्लाको सम्भावना हो। यसको संरक्षण र प्रवर्द्धनमा हामी सबै लाग्नुपर्छ।”

तर प्रश्न उस्तै रहन्छ, के त्यो सम्मेलन एकदिने कार्यक्रम मात्र बन्ने त होइन?

हामीले थुप्रै पटक देखेका छौँ। मिडिया आउँछ, कार्यक्रम हुन्छ, केही तस्वीर खिचिन्छन्, केही समाचारहरू बन्छन्, अनि फेरि मौनता फर्किन्छ। गिडीदहका चिसा पानीहरू फेरि कुर्दै बस्छन्। त्यो बाटो सुधारिने दिन, त्यो घुम्न आउने पाहुनाहरू, अनि स्थानीय उत्पादन बेच्न पाउने अवसरहरू।

आज गिडीदह पुग्न सजिलो छैन। बाटोको अवस्था नाजुक छ, सूचना संकेत छैन, खाने बस्ने सुविधा छैन, अनि पर्यटनसँग जोडिने संरचनाहरू त कल्पनाभन्दा टाढा छन्। जंगलको सुरक्षाका चुनौतीहरू, बाढीपहिरोको जोखिम, प्लाष्टिकजन्य फोहोर नियन्त्रणको अभाव, यी सबै गम्भीर समस्या हुन्, जसलाई योजना, स्रोत र दिगो सोचबिना समाधान गर्न सकिँदैन।

यति सम्भावना बोकेको स्थानमा अझै सरकारी ध्यान नपुगेको देख्दा पीडा लाग्छ। स्थानीय युवाहरू, जसले सामाजिक सञ्जालमार्फत गिडीदहको प्रचारप्रसार गर्दै आएका छन्, उनीहरू भन्छन्, “हामीले त सक्दो प्रयास गरिरहेका छौँ, तर सरकार चुप छ।”

सत्य हो, यो ताल जुम्लाको ‘आँखा’ बन्न सक्छ। जहाँबाट हिमाल देखिन्छ, संस्कृति देखिन्छ, अनि देशको आन्तरिक पर्यटनले नयाँ दिशा पाउँछ। यहाँ ‘इको-टुरिज्म’ को ठूलो सम्भावना छ। यहाँ गेस्ट हाउसहरू, पदमार्गहरू, सामुदायिक पर्यटन केन्द्रहरू विकास गर्न सकिन्छ। तर ती सबै योजनाहरू कागजमा मात्र सीमित रहे, भने गिडीदहको कुहिने क्रम रोकिँदैन।

अझ एउटा गम्भीर विषय के छ भने—यदि राज्यले चाँडै संरचना निर्माण गरेन भने बाह्य असरहरूले यहाँको मौलिकता बिगार्न सक्छ। प्लास्टिक, शोर, भीडतन्त्र, यी सबैले गिडीदहको आत्मालाई मार्न सक्छन्। त्यसैले विकाससँगै संरक्षण अत्यावश्यक छ।

त्यसैले म फेरि भन्छु, गिडीदहको मौनतामा एउटा चिच्याउने स्वर छ। त्यो स्वरले भन्छ, “म अझै बाँचेको छु, मलाई हेर्ने आँखा देऊ, मसँग हिँड्ने इच्छा राख, अनि म तिमीलाई सिंगो जुम्लाको गौरव बनाइदिन्छु।”

तर त्यसका लागि स्थानीय सरकार, गाउँपालिका, प्रदेश सरकार र संघीय निकाय सबैको साझा प्रतिबद्धता चाहिन्छ। वडाध्यक्ष अमर रोकायाको पहल सराहनीय छ। तर त्यो पहललाई योजनामा रूपान्तरण गर्न थप साथ, स्रोत र राजनीतिक इच्छाशक्ति आवश्यक छ।

यदि आज ध्यान दिइयो भने, भोलि गिडीदह जुम्लाको चिनारी बन्न सक्छ। नत्र, यो पनि अर्को उपेक्षित प्राकृतिक सम्पदा भएर हराउनेछ। कुनै पुराना फोटो एल्बमभित्र।

गिडीदहले हामीलाई पर्खिरहेको छ। हामीले फर्किएर हेर्ने साहस गर्छौँ कि फेरि बेवास्ता गर्छौँ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार