बुधबार, २७ फाल्गुन, २०८२

राष्ट्र निर्माणमा युवाहरूको भूमिका

एक्काइसौँ शताब्दीमा पनि जातजाति अनुसार मानिसलाई टाढा राख्ने, उचनिच भन्ने, उक्त कुरिती र कुसंस्कारलाई तोड्न फ्याक्न अर्थात् त्यो जन्जिर तोड्न युवाहरूकै भूमिका अहम रहन्छ।

विश्व परिवेशलाई हेर्ने हो भने कुल जनसंख्याको ५० प्रतिशत युवाहरूले ओगटेका छन्। युवाहरू देशका मेरुदण्ड हुन्। तेस्रो विश्व जसमा अफ्रिका, एसिया, ल्याटिन अमेरिका जस्ता देशहरूमा ६० देखि ७० प्रतिशत युवाहरू छन्। नेपालमा करिब ६० प्रतिशतभन्दा बढी युवाहरू छन्। युवाहरू नै सक्रिय जनसंख्या हुन्।

राष्ट्र विकासको मेरुदण्डको रूपमा पनि युवाहरूलाई लिन सकिन्छ। राष्ट्र निर्माण होस्, उत्पादनमा होस्, राष्ट्र सेवामा होस् वा समाजमा परिवर्तनमा होस्, युवाहरूको नै सहभागिता भएको पाइन्छ। समाज रूपान्तरणको मेरुदण्डको रूपमा पनि युवाहरूलाई लिइन्छ। युवा राज्य सञ्चालक हुन्, नेता हुन्, निर्णयकर्ता हुन्, त्यसैले युवाहरूको भूमिका अहम रहेको छ।

युवाको परिभाषा
युवाहरूको सार्वभौम परिभाषा छैन। प्रत्येक देशले आ–आफ्नै ढंगले युवाहरूको परिभाषा दिएका छन्। तेस्रो विश्व (अफ्रिकी देशहरू) ले १५ देखि ४० वर्षको उमेर समूहलाई युवा मान्दै आएका छन्। यूएनले दिएको परिभाषाअनुसार १५ देखि ३० वर्ष उमेर समूहलाई युवा मानेको छ। सामान्यतया जोस, जाँगर र उमङ्गले भरिपूर्ण एवं राष्ट्र निर्माणमा सहयोग पुर्याउन सक्ने सक्रिय व्यक्तिलाई युवाभित्र समेट्न सकिन्छ।

राष्ट्र निर्माणमा युवाहरूको योगदान
कुनै पनि देशको उन्नति र प्रगतिमा त्यसका युवाहरूको भूमिका अहम रहन्छ। युवा बिना देश विकासको कल्पनासमेत गर्न सकिँदैन। उदाहरणको रूपमा सिंगापुरलाई लिन सकिन्छ। जसरी मलेसियाबाट सिंगापुर छुट्टिँदा लिक्यान्युको हातमा ढुङ्गा थियो, तर उसले हिरा बनायो।

तत्कालीन समयमा सिंगापुरसँग कुनै प्राकृतिक सम्पदा र स्रोत थिएन। उसँग केही थियो भने केवल मानवीय स्रोत मात्र थियो अर्थात् युवाहरू मात्रै थिए। सिंगापुरले त्यतिखेरको मानवीय स्रोतलाई प्रयोग गरेर आजको यो अवस्थामा पुगेको छ। त्यसपछि सिंगापुरले युवाहरूका लागि विभिन्न किसिमका कार्यक्रमहरू ल्यायो। जस अन्तर्गत नवजात शिशुका लागि पोषणको व्यवस्था, विद्यालयको स्थापना, फाइनान्सको स्थापना, विश्वविद्यालयको स्थापनाका साथै तिनीहरूलाई पढाउने, लेखाउने र दक्ष जनशक्ति उत्पादन गर्ने कार्य गर्‍यो।

हाल विश्व बजारका लागि दक्ष इन्जिनियर, डाक्टर, पाइलट, वकिल, एकाउन्टेन्ट एवं दक्ष जनशक्ति उत्पादन गरेर उसले विश्व बजारलाई बिक्री गर्ने गर्दछ। सिंगापुर बनेको मान्छेका कारण अर्थात् युवा शक्तिका कारणले हो। उसले युवाहरूका लागि समय सान्दर्भिक कार्यक्रम ल्यायो। पहिलेको समय सन् १९४४ मा सिंगापुरको अवस्था र नेपालको अवस्था उस्तै–उस्तै थियो। त्यहाँ पनि जन्मदर उच्च रहेको थियो। सन् १९७० को दशकमा जन्मदर उच्च भएपछि जनसंख्या नियन्त्रण गर्नका लागि उसले टु चाइल्ड नीति ल्यायो।

तर फेरि अन्य १९७० देखि २००० सम्म आउँदा त्यहाँको जनसंख्या ह्वात्तै घट्यो र फेरि सिंगापुर सरकारले महसुस गर्यो, जनसंख्या बोझ नभई अवसर हो। यस्तो ठानेर सन् २००० भन्दापछि सिंगापुर सरकारले एउटा नारा ल्यायो – तपाईं जति बच्चा जन्माउन सक्नुहुन्छ; तीन चारभन्दा बढी जन्माउनुहोस् (Have a three or four, if you can afford)। त्यहाँको सरकारले मान्छे भनेको अवसर हो।

मान्छेमाथि लगानी गर्नुपर्छ। मान्छेलाई शिक्षित गर्न सक्यो भने मान्छे अवसर नीति बन्न सक्छ भन्ने लियो। अहिले सिंगापुर सरकार जनसंख्या वृद्धि गर्नतिर लागिरहेको छ। त्यसैगरी चीनमा पनि अन चाइल्ड नीति थियो। सन् २०१५ देखि टु चाइल्ड पोलिसीको नीति ल्यायो। त्यसो किन हो भने आज विश्वका थुप्रै देशहरूले मानव जनसंख्यामाथि अर्थात् युवा जनसंख्यालाई जोड दिँदै गइरहेका छन्।

अर्को उदाहरण दिउँ, आज विश्वका कतिपय देशहरूले समुद्रमाथि शहर बसाउँदै छन्। जस्तै जापानको कानसाई इन्टरनेसनल एयरपोर्ट समुद्रमाथि अवस्थित छ। एयरपोर्ट मात्र होइन, तीनवटै सहरसमेत युवाहरूको श्रम, सीप, रगत र पसिनाले नै निर्माण भएको हो। अर्को उदाहरणको रूपमा हामी दुबईलाई लिन सक्छौँ, जहाँ मानव निर्मित आइसल्यान्डहरू निर्माण गरिएका छन्, त्यो पनि युवाहरूको श्रम, सीपबाट निर्माण भएको हो।

हामी कतारलाई पनि लिन सक्छौँ, जहाँको दोहा अन्तर्राष्ट्रिय एयरपोर्ट पनि समुद्रमाथि अवस्थित छ। चाइना जसले साउथ चाइना सीमा नयाँ सहर बनायो, समुद्रमाथि सहर बसायो। जसमा ठूलाठूला अन्तर्राष्ट्रिय व्यापार केन्द्र, विमानस्थल आदिको व्यवस्था गरेको छ। त्यसकारण यी सबै काम कसले गर्यो त भन्दा, युवा नजुटिकन यी सबै काम सम्भव भएन। यी सबै काम युवाहरूको श्रम, सीप, रगत र पसिनाबाट मात्र सम्भव भएको हो।

विश्वमा जति पनि चमत्कारिक विकास भए, त्यसमा युवाहरू जुटेर मात्र सम्भव भएका हुन्। जस्तो कतारी युवाहरू जुटेर दोहा इन्टरनेसनल एयरपोर्ट समुद्रमाथि खडा गरे। जापानी युवाहरू मिलेर मानव निर्मित आइसल्यान्डहरू बनाए। साउथ चाइना सी माथि सहर बसाए। त्यहाँका युवाहरू जुटेर सहर बसाउन सम्भव भयो। यदि त्यहाँका युवाहरू नजुटेको भए सम्भव थिएन।

किनकि त्यसका इन्जिनियरहरू पनि युवा छन्, साइन्टिस्टहरू पनि युवा छन्, त्यसका पोलिसी मेकर पनि युवा छन्। चाइनाकै अर्को चमत्कार चाइनामा एउटा याङसी भन्ने नदी छ, जसलाई मदर रिभर पनि भनिन्छ। उक्त नदीलाई चाइनाले आज डाइभर्ट गरिरहेको छ, जसबाट त्यो नदी आफ्नै देशमा मात्र बग्ने छ। त्यसलाई बगाउने क्रममा ल्यान्डबाट ल्याउँदा त्यसले ठूलो पर्यावरणीय विनाश निम्त्याउने हुँदा आकाश माथिबाट उक्त नदी बगाएर बेइजिङ ल्याउने (River in the Sky) काम गरिरहेको छ।

तिब्बतबाट सो नदीलाई फर्काएर बेइजिङ ल्याउने कार्यमा कसरी ल्याउने भन्ने बारेमा त्यहाँको आम जनता, नीति निर्माता, राजनीतिज्ञ एवं युवाहरू सोचिरहेका छन्। यी सम्पूर्ण मानिसहरू बिहान उठ्ने बित्तिकै चिया पिउँदा, एकआपसमा बस्दा, छलफल गर्दा, चोक चौतारामा रिभर इन द स्काइका बारेमा कुरा गरिरहेका छन्। त्यो रिभरका बारेमा सोच्ने इन्जिनियरहरू सबै युवा छन्, साइन्टिस्टहरू युवा छन्, निर्माताहरू युवा छन्, अर्थात् युवाबाट मात्र त्यो सम्भव हुँदैछ।

विश्वका जतिसुकै व्यवस्थाहरू परिवर्तन भए, सबै परिवर्तनहरू पनि युवाबाटै भएका हुन्। जस्तो फ्रान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, रसियाली क्रान्ति, चिनियाँ क्रान्ति आदि सबैमा अग्रपंक्तिमा युवाहरू नै रहेका छन्। हामी युवाहरूलाई नै देख्छौँ।

नेपालको सन्दर्भमा युवा सहभागिता
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, इतिहासलाई केलाउँदा नेपालको विकास निर्माणमा प्रत्यक्ष एवं परोक्ष रूपमा युवाहरूको भूमिका रहँदै आएको छ। नेपाल राष्ट्र एकीकरणको सवालमा होस् वा राष्ट्रिय व्यवस्था परिवर्तनको दिगोपनामा युवाहरूको संलग्नता रहेको पाइन्छ।

तर विडम्बना, युवाहरूको भूमिकालाई नेपाल सरकारले अङ्गीकार गर्न सकिरहेको छैन। राष्ट्र निर्माण गर्नमा युवाहरूको योगदान र महत्त्व हुन सक्ने हुँदाहुँदै पनि नेपालका युवाहरूले आफ्नो राष्ट्रका लागि काम गर्न पाएको देखिँदैन। अर्थात् त्यस्तो अवसर पाएको देखिँदैन। नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशतभन्दा माथि युवाहरूले ओगटेका छन्। तमामै युवाहरू कामको खोजीमा बाहिर जानुपर्ने अवस्था छ।

नेपाल आज कृषिप्रधानबाट श्रमप्रधान भइरहेको छ। देशभित्र अवसर नपाएर, रोजगारीको सिर्जना नभएर, उत्पादन सेवामा, राजनीतिमा योगदान पुर्याउने अवसर नपाएर ५० देखि ६० लाख युवाहरू अरब लगायत अन्य देशहरूमा छन्। त्यस्तै ठूलो संख्यामा भारतमा पनि रहेका छन्।

विदेशिएर आफ्नो निर्वाह गरे तापनि त्यो दीर्घकालीन समाधान होइन, तर केही समयका लागि समस्या समाधान हुन सक्छ। यसले केवल निर्वाहमुखी अर्थतन्त्र धान्ने काम मात्र हुन सक्छ। अहिले देशभित्र अवसर छैन। केही समयका लागि युवा विदेशिनु सान्दर्भिक नै देखिए पनि यो दीर्घकालीन समाधान भने होइन। राष्ट्र निर्माणका लागि देशभित्रै समस्याको समाधान खोजिनुपर्छ।

नेपालमा पनि प्रशस्त मात्रामा स्रोत र साधनहरू रहेका छन्। राष्ट्र निर्माणका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ। जस्तै: उदाहरणका लागि हामीसँग हिमाल छ, पहाड छ, तराई छ, जमिन छ, जल छ, जंगल पनि छ, न जाडो छ, न गर्मी छ, हावा पानी मिलेको छ। सबै कुरा मिलेको छ। भरिपूर्ण सम्पदाहरू छन्। हामीसँग तुलना गर्नका लागि अरू त्यस्तो कुनै देश छैन।

यो मरुभूमि पनि होइन। आज मरुभूमिलाई पनि सुन्दर सहर बनाएका छन्। ती उदाहरणहरू हामीले माथि हेरिसक्यौँ। नेपालको स्रोत सम्पदा अरू देशसँग तुलना गर्न सकिँदैन। यस्तो कुनै ठाउँ छैन। यी स्रोत र सम्पदाको सदुपयोग गर्न युवाहरूलाई कसरी परिचालन गर्ने, कसरी अवसर दिने, कसरी उत्पादनमुखी बनाउने, देशभित्रै कसरी रोजगारी दिने भन्ने कुरा सोच्न जरुरी छ। आज नेपालबाट दैनिक करिब ३००० युवाहरू विदेशिएका छन्। भारतमा जानेहरूको एकिन तथ्यांक छैन। यस्तो दर्दनाक अवस्था युवाहरूको रहेको छ।

राज्यले युवाहरूलाई विदेश जानबाट रोक्नुपर्छ। राष्ट्रिय उद्योगबारे जानकारी गराउनुपर्छ। राज्यले राष्ट्रमा रहेका उद्योगहरूको बारेमा त्यति चासो राखेको पाइँदैन। राष्ट्रिय उद्योगमा चासो राख्दै कृषिजन्य उद्योग उत्पादनहरूलाई जोड दिनुपर्छ। उदाहरणका लागि फलफूल खेती (सुन्तला, कागती, ओखर, स्याउ), भटमास, बेसार, अलैची, अदुवा, चिया, कफी आदि उत्पादनमा गर्ने काम युवाहरूलाई दिनुपर्छ। त्यसैगरी सामुदायिक वन र जंगललाई प्रवर्धन गरेर भैंसी पालन, बाख्रापालन, गाई पालन आदिलाई व्यावसायिक रूपमा बृहत रूपमा सञ्चालन गर्दै त्यसमा युवा संलग्नता गराउनु पर्दछ।

त्यसैगरी पहाडमा जडीबुटी खेती अन्तर्गत पाँच औँले, चिराइतो, घिउकुमारी, टिमुर, कचुर, बेसार आदिको उत्पादनमा युवाहरूलाई लगाउन सकिन्छ। स्थानीय स्तरमा विकास निर्माणका कार्यमा राम्रो ज्याला दिएर युवाहरूलाई काममा लगाउन सकिन्छ। आजका युवा नै भोलिका राष्ट्र हाक्ने सञ्चालक हुने भएकाले राजनीतिमा पनि उनीहरूको अर्थपूर्ण सहभागिता गराउनुपर्छ।

त्यसका लागि विद्यालय खोल्ने, विद्यालयको स्तर वृद्धि गर्ने, स्वास्थ्य सेवा सुविधाको व्यवस्था आदिमा राज्यले लगानी गर्नुपर्छ। जसले गर्दा हाम्रा युवाहरू बाहिर जुनसुकै देशमा भर्ना हुन सकून् र दक्ष डाक्टर, इन्जिनियर, पाइलट, वकिल, शिक्षक, प्राध्यापक, लेखापाल आदि तयार होउन्। जुन उत्पादन बाहिरी देशमा पनि खपत होस् र राष्ट्र निर्माणमा समेत योगदान पुर्याउन सकून्।

सामाजिक सांस्कृतिक रूपान्तरणका लागि युवाहरूको योगदान
कुरिती कुसंस्कार भत्काउने कार्यमा पनि युवाहरूको भूमिका महत्वपूर्ण रहेको पाइन्छ। उदाहरणको रूपमा साउथ एसियामा बसोबास गर्ने हामी मानिसहरूमा जातीय छुवाछुतको व्याप्तता छ। यसै सवालमा दिल्ली युनिभर्सिटी अफ इकोनोमिक्सकी प्रोफेसर उमा चक्रवर्तीका अनुसार हामी जातका बन्दी छौँ। आज पनि जात भनेपछि तल्लो जात, माथिल्लो जात, उच–निचको भावना विद्यमान छ।

एक्काइसौँ शताब्दीमा पनि जातजाति अनुसार मानिसलाई टाढा राख्ने उच–निच भन्ने उक्त कुरिती र कुसंस्कारलाई तोड्न, फ्याक्न अर्थात् त्यो जन्जिर तोड्न युवाहरूको भूमिका अहम रहन्छ। किनकि युवाहरूलाई त्यो खराब हो, ठीक होइन भन्ने कुराको जानकारी दिन सकिएमा युवाहरू नै अगाडि आउँछन्। जस्तै हाम्रो समाजमा रहेको छाउप्रथा पनि हजारौँ वर्षदेखिको मानसिकता भएकाले त्यसलाई हटाउन पनि युवा युवतीहरू नै अग्रसर हुनुपर्छ।

कुनै पनि व्यवस्था परिवर्तनमा युवाहरूले ठूलो योगदान दिएका छन्। नेपालमा २०४६ सालको जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष, २०६२/६३ सालको जनआन्दोलनमा पनि सबैभन्दा अग्रपंक्तिमा युवाहरू नै रहेका थिए। युवाहरूले गर्दा नै व्यवस्था परिवर्तन भएको हो। व्यवस्था नै परिवर्तन गर्ने युवाहरू समाजमा रहेका कुरीतिहरू सहजै फ्याक्न सक्छन्। हाम्रो क्षेत्रमा रहेका कुरीतिहरू अन्तर्गत छुवाछुत, छोराछोरीमा भेदभाव, छाउपडी प्रथा, हजारौँ वर्षदेखिका मानसिकताहरू, मान्छेका प्रवृत्तिहरू आदिलाई हटाउन, फ्याक्न पनि युवाहरू अग्रपंक्तिमा आउनुपर्छ।

त्यस्ता कुराहरूलाई हटाउन युवाहरूलाई अभिमुखीकरण गराउनुपर्छ। चाहे त्यो चमत्कारिक विकास होस्, चाहे कुनै पनि राष्ट्र निर्माणको सवाल होस्, चाहे सामाजिक परिवर्तन होस् वा पुराना सामाजिक सम्बन्ध भत्काएर नयाँ सम्बन्धहरू स्थापना गर्ने सवाल होस्, सबैमा युवाहरूको अग्रणी भूमिका रहन्छ। एउटा गीत छ – युवाहरू जुटेपछि काँडा फुल्नुपर्छ……..। सबै कुरामा युवाहरूको परिवर्तनकारी भूमिका रहन्छ। त्यसैले आर्थिक, सामाजिक, राजनैतिक, भौतिक, बौद्धिक आदि सर्वपक्षीय परिवर्तनको मेरुदण्ड युवा नै हुन्।

निष्कर्ष
विश्व इतिहासले यो देखाउँछ कि कुनै पनि राजनीतिक क्रान्ति, सामाजिक परिवर्तन युवाविना सम्भव भएको देखिँदैन। कुनै पनि चमत्कारिक विकास जस्तै: समुद्रमाथि सहर बनाउने होस्, अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण होस्, मानव निर्मित आइसल्यान्डको निर्माण होस्, साउथ सी माथि सहर बसाउने कार्य होस्, ठूला–ठूला राजनीतिक तथा सामाजिक परिवर्तनहरू हुन्, सांस्कृतिक रूपान्तरणको सवाल होस्, यी सबैमा युवाहरू जुटेर युवाकै श्रम, सीप र पसिनाबाट मात्रै सम्भव भएको पाइन्छ।

नेपालको सन्दर्भमा पनि सामाजिक उन्नति, प्रगति र विकासका लागि यहाँका विभिन्न सवालहरूमा युवाहरूलाई नसमेटिकन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले युवाहरूलाई अलग्याएर परिवर्तन सम्भव छैन। त्यसैले हरेक ठाउँमा युवाहरूलाई समेटिनुपर्छ। युवाहरूलाई केन्द्रभागमा राखेर काम गर्नुपर्दछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार