भारतमा उडेको प्लेन घरभित्र पसेको छ। यहाँ पनि त्यो घटना नहोला भन्न सकिन्न। त्यसैले आफू पनि जोगौँ, अरूलाई पनि जोगाऔँ। कुनै समय यस्तो थियो कि यहाँको जग्गा आनाकै करोडसम्म थियो। तर, यो ठाउँ जोखिमपूर्ण छ भन्ने थाहा पाएपछि रेट ओर्लिएको छ।
केही साताअघि भारतमा भयानक विमान दुर्घटना भयो। एयर इन्डियाको जहाज उडेको दुई मिनेटमै एक भवनमा ठोक्कियो। सो भवनमा चिकित्सा अध्ययन गरिरहेका धेरै विद्यार्थीको मृत्यु भयो। भुइँमा हिँडिरहेकाहरू पनि बिते। प्लेनमा सवार २४२ मध्ये एक जना मात्र बाँचे। भारतमा भएको यो डरलाग्दो दुर्घटनाले नेपालीलाई त्रसित बनाएको छ।
नेपालमा एकपछि अर्को विमानस्थल बनाउने क्रम जारी छ। अन्तरराष्ट्रिय विमानस्थल नै ठाउँ–ठाउँमा बनिसकेका छन्। तर, जति पनि विमानस्थल छन्, ती सबै अव्यवस्थित छन्। विमानस्थल छेउछाउ घना बस्ती छ। जसका कारण विमान दुर्घटना भएमा ठूलो क्षति हुने पक्कापक्की छ।
भारतको घटनापछि विमानस्थल वरपर बस्ने घरधनी र डेरावाललाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ। कतै विमान आफ्नो घरमा ठोक्किने त होइन? भनेर डराइडराइ बस्नुपर्ने बाध्यता छ। डेरावाल त सरेर जतातिर पनि जान सक्छन्, घरधनीको बेहाल छ। छोडौँ भने जिन्दगीभरको कमाइ त्यसमा लगाएको छ, बसौँ भने ज्यान नै खतरामा छ।
एयरपोर्ट वरपरका घर पहिलेपहिले तुरुन्त भाडामा जान्थे। त्यता कोठा पाउन महामुस्किल थियो। तर, अहिले त्यहाँ टन्नै कोठा र सटर खाली देखिन्छन्। मूलपानी, गोठाटार, काँडाघारी, पेप्सिकोला, नरेफाँट, जडीबुटी, लोकन्थली, टीकाथली, कोटेश्वर, तीनकुने, गौरीगाउँ, शान्तिनगर, सिनामङ्गल, गौरीघाट, बौद्ध, जोरपाटी, नयाँबस्ती, दक्षिणढोकामा प्रशस्तै खाली कोठा र फ्ल्याट देख्न सकिन्छ।
यो ठाउँको अधिकांश जग्गा पशुपति गुठीको हो भनिन्छ। अर्कोतर्फ ऐलानी र सरकारी जग्गा पनि यहाँ प्रशस्तै छ। यहाँका घरधनीहरू यतिबेला घरजग्गा बेच्ने प्रयास गरिरहेका छन्। तर, किन्ने मान्छे कोही छैन। किनकि सबैलाई एयरपोर्ट वरपर बस्नु जोखिम हो भन्ने थाहा भइसकेको छ।
यो ठाउँमा विमानको मात्र होइन, इन्धनको पनि जोखिम छ। पेट्रोल, डिजेल, मट्टितेल, हवाईजहाजमा लाग्ने तेल र ग्यासको डिपो यहीँ छ। उता थानकोटमा पनि डिपो सञ्चालनमा छ। सरकारले जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन दियो। धेरै मुलुकमा एयरपोर्टको कैयौँ टाढासम्म बस्ती बसाउन दिइँदैन।
खाली ठाउँ राखिएको हुन्छ। विमान दुर्घटना भए पनि बस्तीमा नपरोस् र धेरै क्षति नहोस् भनेर त्यसो गरिएको हो। तर, हामीकहाँ त एयरपोर्ट छेउछाउ पुरै घरैघर छन्। प्लेन ल्यान्डिङ हुने बेला घरमा ठोक्किने हो कि भन्ने डर यात्रुलाई हुन्छ। भारतको जस्तै एउटा घटना नेपालमा भइसकेको छ।
तर, पाइलटले होसियारी अपनाउँदा त्यतिबेला बस्ती जोगियो। २०६९ असोज १२ गते सीता एयरको ६०१ उडान नम्बर भएको एउटा विमान काठमाडौँबाट सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थल, लुक्लाका लागि उड्यो। तर, उडेको केही बेरमै सो विमान मनोहरा फाँटमा दुर्घटना भयो।
विमानमा पाइलटसहित १९ जनाको मृत्यु भएको थियो। २०७४ फागुन २८ गते बङ्गलादेशबाट आएको युएस बङ्गलाको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भयो। एमबीबीएस पढ्न गएका विद्यार्थीसहित झन्डै पाँच दर्जनको सो विमान दुर्घटनामा ज्यान गयो।
तीनका परिवार अझै पनि क्षतिपूर्तिका लागि कानुनी लडाइँ लडिरहेका छन्। २०८१ साउन ९ गते काठमाडौँबाट पोखरा उडेको सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना भयो। १९ जना सवार विमानमा १८ जनाको निधन भएको थियो। धन्न त्यतिबेला पनि सो विमान बस्तीमा पर्नबाट जोगियो।
यस्तो जोखिम हुँदाहुँदै सरकारले ख्यालख्याल गरिरहेको छ। यतिबेला यी ठाउँमा घर भएकाहरूलाई तिनका आफन्तले अन्त सर्न सुझाव दिइरहेका छन्। यो ठाउँको घरजग्गा राखेर अहिले बैंकले पनि ऋण दिँदैन। यो ठाउँ जोखिमपूर्ण छ, जतिबेला जे पनि हुन सक्छ भनेर बैंक सचेत भएको छ।
सरकारले अब कि यहाँबाट बस्ती हटाउनुपर्छ कि विमानस्थल र डिपो अन्त सार्नुपर्छ। जानाजान जोखिमपूर्ण स्थानमा जनतालाई बस्न दिएर उनीहरूको ज्यान धरापमा पार्न पाइन्छ? प्लेन चौबिसै घण्टा उड्ने र अवतरण भइरहन्छ। यहाँका बसोबासीहरू न दिउँसो सुत्छन् न राति।
विमानको आवाजका कारण त्यहाँका स्थानीयले लामो समयदेखि चैनको निद्रा सुत्न पाएका छैनन्। चार दशकअघि यो ठाउँ पुरै खाली थियो। यहाँ खेतबारी हुन्थ्यो। जनसङ्ख्या थोरै भएकाले सानो विमानस्थल बनाइयो। अहिले जनसङ्ख्या बढ्यो, एयरपोर्ट वरपर घरैघर बन्यो। सरकारले एयरपोर्ट वरपर घर बनाउन नपाउने भनेर कानुन बनाउन सकेन।
भूमाफियाले धमाधम त्यहाँको जग्गा प्लानिङ गर्दै बेचे। त्यहाँ घना बस्ती बस्यो, सरकार हेरेको हेर्यै। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कि अब यहाँको एयरपोर्ट सार्ने कि बस्ती हटाउने भन्ने प्रस्ताव अब मन्त्रिपरिषद्मा लैजानुपर्छ। यो प्रस्ताव लैजान हतारो भइसकेको छ।
नत्र पछुताउनुबाहेक अरू केही पनि बाँकी रहँदैन। भनिन्छ नि, ‘दुर्घटना बाजा बजाएर आउँदैन।’ दुर्घटना जतिबेला पनि हुन सक्छ। सरकारले दुर्घटनालाई मध्यनजर गरेर सावधानी अपनाउने हो। जनतालाई सुरक्षित बनाउने हो। न कि कतिबेला दुर्घटना हुन्छ र हामी लाश गन्छौँ भनेर हात बाँधेर बस्ने हो।
एयरपोर्ट वरपर एकदमै जोखिम भइसकेको छ। सरकार अझै पनि टुलुटुलु रमिता हेरेर बसेको छ। भोलि भारतको जस्तै घटना यहाँ भयो भने कसले जिम्मा लिन्छ? सरकारले क्षतिलाई कम गराउने कि बढाउने? जनधनको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो। सरकारले आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैन।
जनता मरेपछि दुख व्यक्त गर्नुको साटो जनतालाई जोगाउनतिर लाग्न आवश्यक छ। त्योसँगै जनता पनि सचेत हुनुपर्छ। यस्तो जोखिमपूर्ण ठाउँमा बस्ने काम गर्नुहुन्न। किनकि जिन्दगी अमूल्य छ। ज्यान छ त सबै कुरा छ। ज्यान भए फेरि पनि कमाइन्छ। त्यसैले ज्यानै जोखिममा पारेर त्यस्तो ठाउँमा नबसौँ।
भारतमा उडेको प्लेन घरभित्र पसेको छ। यहाँ पनि त्यो घटना नहोला भन्न सकिन्न। त्यसैले आफू पनि जोगौँ, अरूलाई पनि जोगाऔँ। कुनै समय यस्तो थियो कि यहाँको जग्गा आनाकै करोडसम्म थियो। तर, यो ठाउँ जोखिमपूर्ण छ भन्ने थाहा पाएपछि रेट ओर्लिएको छ।
यी ठाउँका घरजग्गालाई दिएको कर्जा उठाउन बैंकलाई पनि समस्या हुने देखिएको छ। सरकारले यो ठाउँको बस्ती हटाउन ढिलाइ गर्नुहुन्न। नेपाल नागरिक उड्डयन प्राधिकरणको पनि यसतर्फ ध्यान जाओस्। अहिले प्राधिकरण विमानस्थल बनाउने होडमा छ। विमानस्थल ठड्याउनेतर्फ मात्र प्राधिकरणको ध्यान छ।
तर, विमानस्थल होइन, सुरक्षित र व्यवस्थित विमानस्थल बनाऔँ। विमानस्थलको वरपर यति ठाउँसम्म बस्ती बसाउन नपाउने भन्ने नीतिको खाँचो परिसकेको छ। त्यसैले पहिले नीति बनाऔँ अनि विमानस्थल। सरकारले देशभर विमानस्थल विस्तार गरिरहेको छ। मुलुकभित्रै सञ्चालन हुने विमानको सङ्ख्या बढिरहेको छ।
अर्कोतर्फ, सरकारले अन्य मुलुकको विमान कम्पनीसँग सम्झौता गरिरहेको छ। त्यहाँको विमान पनि यहीँ आउँछ। विमानको सङ्ख्या थपिएको छ, तर एयरपोर्टको जग्गा त बढेको छैन। बरु भएको पनि सर्वसाधारणले कब्जा गरेका छन्। यसमा सरकारको ध्यान जाँदैन भने महानगरको जानुपर्छ।
किनकि जनताको ज्यान जोगाउने काम तीनै तहको सरकारको हो। एउटाले गरेन भनेर अर्को रमिता हेरेर बस्न मिल्दैन। अब जनता सचेत होऔँ। सम्पत्तिभन्दा ज्यान ठूलो हो भन्ने कुरा बुझौँ।















