सोमबार, २ असार, २०८२

‘झार’, (एउटा दलितको अर्को विद्रोह)

यसरी हेपिँदा पनि खुशी हुन्छु म
जसरी नजिकै उभिएको हुन्छ अग्लो रुख

रत्तिभर हिनतावोध नबोकी सोच्छु
कुन उचाइको चरम आकाङ्क्षाले अग्लिँदो हो रूख?
या त
कस्तो अहमताको चाहनाले फुर्किँदो हो?
उसको अग्लोपनलाई
म उसकै पाउ नजिक बसेर हेरिरहेको हुन्छु

मेरो आँखाको परेली अगाडि नै
ऊ फुकाल्छ आफ्ना पातहरूका लुगा र नाङ्गिन्छ
म उसको नाङ्गोपनमा खुब लजाउँछु

म सहन र स्वीकार्न बानी परेको बुझेर होला
सायद
ऊ ममाथि झम्टिन र गिज्याउन बाहना खोजिरहन्छ
कहिलेकाँही आफ्नै हात भाँचेर पनि
ममाथि बर्सिनुको मजा लिइरहन्छ ऊ
उसको प्रहारले थेप्चिएको मेरो शिर भने
फेरि ऊतिरै फर्केर उसकै उचाइको कामना गरिरहन्छ

एउटै माटो ओछ्याएर बसेका
अथवा
एउटै स्वाद चाखेर अघाएका हामी
एउटै छाती अठ्याएर उभिएका
अथवा
एउटै हिलोमा गाडिएका हामी बिचको
दरारलाई
खाडललाई
असमानतालाई
एकदिन
मैले मेरो धैर्यको मसिनो प्वालबाट हेरिरहेको थिएँ
जतिबेला म निर्ढुक्क बनेर हेरिरहेको थिएँ
त्यतिबेला उसलाई हुरीको तरबारले काटिरहेको देखेँ
असिनाका बञ्चराहरूले हिर्काइरहेको देखेँ
पानीका कोर्राहरूले लुछिरहेको देखेँ
चट्याङका आगोहरूले पोलिरहेको देखेँ
उसको भरोसामा घर बनाएर बसेका
चरा र चराका बचेराहरूको उठिबास देखेँ
रुवाबासी देखेँ

मभित्र करुणाको खानी पलायो
मभित्र दयाको मूल फुट्यो
मलाई उसको शिर भाँचिनुले असह्य पीडा भयो
मलाई उसको अर्ध शरीरको उचाइले आघात भयो
मलाई ती चरा र चराका बचेराहरूको जिउँदो मृत्युले भतभती पोल्यो

म झार न हुँ
ममा संवेदना भएर पनि निरिह बनेँ
ममा सहानुभूति भएर पनि असक्षम बनेँ
मभन्दा लाखौँ गुणा अग्लिएको रुख भाँचिदै गयो
क्रमश मैमाथि पछारिँदै गयो

मैले अग्लोपनको कहालिलाग्दो दृश्य आफ्नै आँखाले तहसनहस बनेको देखेपछि
मलाई अग्लिनुको भोक कहिल्यै जागेन।

(पाख्रीबास धनकुटा)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार