अपराधीहरूलाई ‘धार्मिक’ वा ‘सांस्कृतिक मूल्य’को आडमा उन्मुक्ति दिन खोज्नु भनेको अर्को नवराजको हत्या सुनिश्चित गर्ने सत्तापक्षको मौन सहमतिको सङ्केत हो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा वि.सं. २०७७ साल जेठ १० गते प्रेम सम्बन्धकै कारण नवराज विक र उनका पाँचजना साथीहरूको निर्मम हत्या गरियो।
तिनको दोष के थियो? उनीहरू सामाजिक रूपमा पछाडि पारिएका कथित तल्लो जातका थिए! यो केवल हत्या होइन, यो पूर्वनियोजित, खुला रूपमा गरिएको जातीय सफाया थियो।
यस्ता घटनाहरू आजको नेपालमा पनि सम्भव छन् भन्ने कुराले नै लोकतन्त्रप्रति अविश्वासको सङ्केत गर्छ, यो आफैमा लोकतन्त्रको खिल्ली हो, संविधानप्रति अपमान हो र मानवताको मूल्यमाथिको गम्भीर प्रहार हो।
नेपालले संविधानमा ‘जातीय विभेद अन्त्य गरिनेछ’ भनेर घोषणा गरेको धेरै वर्ष भइसकेको छ। तर जब कानुन बनाउनेहरू स्वयं विभेदकारी सोच बोकेर बसेका हुन्छन्, त्यस्ता कानुनका शब्दहरू केवल कागजका अक्षर मात्र बन्न पुग्छन्।
यदि गाउँका युवाहरूले प्रेम गर्न, बाँच्न र समान अधिकारको सपना देख्नसमेत नपाउने हो भने, त्यो राष्ट्रले आफ्नो आत्मा नै हराएको ठहर्छ।
अब मौन रहने समय समाप्त भएको छ। अब अन्याय सहनु हुँदैन, न त विभेदसँग सम्झौता नै गर्न मिल्छ। जातीय घृणा फैलाउनेहरूलाई केवल सामाजिक बहिष्कारले मात्र पुग्दैन, कानुनी हिसाबले कडाभन्दा कडा सजाय दिनुपर्ने समय आएको छ।
यस्ता अपराधीहरूलाई ‘धार्मिक’ वा ‘सांस्कृतिक मूल्य’को आडमा उन्मुक्ति दिन खोज्नु भनेको अर्को नवराजको हत्या सुनिश्चित गर्ने सत्तापक्षको मौन सहमतिको सङ्केत हो।
यो लेख एक चेतावनी हो, जाग्ने कि फेरि इतिहास दोहोर्याउने?
अब प्रत्येक हत्यापछि लेख लेख्ने होइन, हत्या रोक्ने काम गर।
अब हरेक विभेदपछि नारा होइन, कारबाही गर।
अब संविधान पढाउने होइन, संविधान कार्यान्वयन गर।
नेपाल सिङ्गो भएर भन्न सक्नुपर्छ:
“जो जातीय घृणा बोकेर हिँड्छ, ऊ राष्ट्रघाती हो।”
“जो नवराजको हत्यामा मौन रहन्छ, ऊ अपराधमा सहभागी हो।”
अब पनि नसच्चिए, जातको नाममा गरिने अत्याचार, अपमान र विभेद रोकिएन भने, इतिहास त लेखिनेछ, अवश्य लेखिनेछ, तर त्यो इतिहास कलमले मात्र होइन, आवाज, आन्दोलन र विद्रोहको ज्वालाले लेखिनेछ। र अन्त्यमा, पुस्ताहरूले गर्वका साथ भन्ने इतिहास बन्नेछ।
हामी उठेका थियौँ र विभेदलाई ढालिदिएका थियौँ। अनि हामीलाई ‘मान्छे’ बनाइएको थियो, हामी ‘मानिस’ बन्यौँ।