हाम्ले त भनेकै थियौं नि!
हेर त साँच्चै देेश परिवर्तन भयो
परिवर्तन… हा..हा…हा..हा !!
लौ !! भयो नि यति धेरै परिवर्तन देखेनौं?
गाउँ बदलिएर सहर भयो,
समानताको रहर भयो,
हाम्रो जात हाम्लाई नै जहर भयो,
धेरै परिवर्तन भयो नि!!
तिम्रो क्रान्तिले गाउँको शान्ति हरायो
आमाको सिन्दुर चुरा लुट्यो
कति बाआमा, कति टुहुरा लुट्यो
श्रम लुट्यो
दम लुट्यो
के के लुटेन सबै लुट्यो
केही गुनासो छैन यो सबै लुटेकोमा
हाम्रो एउटै फिराद छ !
तिम्रो शासन, भाषण र क्रान्तिले
हाम्रो जातमा लागेको अपमानको धब्बा खोस्न सकेन
तिम्रो रातो झण्डाले
हाम्रो लास छोप्यो तर…
यो कथित समाजको लाज छोप्न सकेन
बिजुलीको कुरा गर्यौं
तर एकपल्ट लाल्टिनको धुइसो पुछेनौं,
हतासो समाएर हालिमुहाली गर्यो
तर जोतिनेहरुको मर्म बुझेनौं
पुग्यौं सिंहदरबारमा,
र बस्यौं सत्तामा,
अनि टार्यौ भत्तामा,
र लेख्यौं नारा “जातीय विभेद अन्त्य गरौँ”
तिम्ले दिएको हक,
तिम्रै संविधानका धाराहरुमा सम्मानित होला
गाउँमा धारा बनाउने मान्छे,
धाराको पानी खान पाउँदैन
चुलो बनाउनेले ढोका नाघ्न पाउँदैन,
देउतालाई “धजा” काटेर दिनेले “थान”मा पस्न पाउँदैन,
मुर्ती बनाउनेले ढोग्न पाउँदैन,
आफूमाथिको अपमान रोक्न पाउँदैन
आफ्नो श्रमको मुल्य तोक्न पाउँदैन
खुलेर नाता सम्बन्ध गाँस्न पाउँदैन
र……..
गाँस्न चाह्यो भने पनि,
बाँच्न पाउँदैन नपत्याए
नवराजको शिरमाथि बज्जारिएका
रक्ताम्मे ढुङ्गाहरूलाई सोध
एकतिहाइ चिच्याहट त भेरीलाई पनि थाहा छ
हाम्रो चिच्याहट नपुगेको तिम्रो,
सिंहदरबारसम्म मात्र हो!
मुख चलाउनेहरुलाई “बाबुसाहेब” बनाएर
हात चलाउनेहरुलाई “चनारो” बनाउने एक युग
आज पनि जिवितै छ
अब भन
केही परिवर्तन भयो?
के न्याय र समानता कायम भयो ?
के तिम्रो क्रान्ति सफल भयो?
जाजरकोट