सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट–नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ। प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइनेछ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबल बहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान र घुम्ती तालिमजस्ता कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने बताए।
इन्टरप्लास्ट–नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ। विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
समझदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्यांक साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको बाटो खोलेको छ।
हस्ताक्षर गर्नेमा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोष विक्रम भण्डारी, सीईओ दीपेन्द्र सिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा. धामी, निर्देशक डा. पुजन कुमार रोकाया, इन्टरप्लास्ट–नेपालका उपाध्यक्ष डा. खाकिन्द्र बहादुर भण्डारी र शल्य चिकित्सा विभाग प्रमुख डा. निमरल थापा छन्।