अहिले पनि त्यो गजलको सम्झना आइरहन्छ। यस वर्षको आमाको मुख हेर्ने दिनमा त्यो बेला कोरिएको गजल ससम्मान अर्पण गर्न चाहन्छु। यस्ता थिए गजलका शेरहरू। तिनै गजल यसपाली पाठकमाझ पस्किएको छु।
जिन्दगीका मोड् मोडमा अभाव् केर्न पाए हुन्थ्यो
आमा तिम्रो अधुरानो चोली फेर्न पाए हुन्थ्यो।
रात दिन श्रम मात्रै आराम् भन्नु कैल्यै छैन
जुनझैँ त्यो मुहारको मुस्कान् हेर्न पाए हुन्थ्यो।
जैल्यै छोराछोरी भन्छ्यौ दु:खसँग खेली रह्न्छ्यौ
ती दुःख् लाई थान्को लाउने बार घेर्न पाए हुन्थ्यो।
वर्षा हुरी केही भन्दिनौ घामपानी केही मान्दिनौ
धोको तिम्रै लागिरहन्छ सुखले स्याह्रार्न पाए हुन्थ्यो।
चाह त्यही आशा त्यही तिम्रो मन् नदुखाई कैल्यै
आमा तिम्रो मनमा जैल्यै शीतल् पार्न पाए हुन्थ्यो।
धनी बन्ने ऐसले बाँच्ने रहर त्यस्ता केही छैनन्
तर तिम्रो दूध पिएको ऋण तिर्न पाए हुन्थ्यो।
समय २०५३ भदौ महिनाको थियो। सामान्य प्रशासन र न्याय सेवाको सरकारी वकिल समूहमा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदको लिखित परीक्षामा पास भई अन्तर्वार्ता समेत सम्पन्न भइसकेको थियो। नतिजा आउन बाँकी थियो।
घरमा आमा, गर्भवती श्रीमती र सानो भाइ मात्र थिए। बुबा र अन्य परिवार दाङमा हुनुहुन्थ्यो। आमाबुबाको सल्लाहमा २०५१ साल वैशाखमा मैले विवाह गरेको थिएँ। रोजगारीमा प्रवेश नगरी एकातिर विवाह गरेँ, अर्कोतिर बीएल (कानूनमा स्नातक) पढ्न बाँकी थियो।
घरको जेठो छोरो पनि म नै थिएँ। मैले अध्ययनलाई आइ.एल.मा मात्र सीमित राख्न सकिनँ। बी.एल. गर्न काठमाडौंस्थित नेपाल ल क्याम्पसमा भर्ना भएँ। २०५२ सालमा देशभर लोकसेवा आयोगको विज्ञापन खुल्यो। आफन्तहरूले लोकसेवा आयोगको परीक्षा दिन फाराम भर्न सल्लाह दिनुभयो।
पढाइ बिग्रिन्छ कि भन्ने पनि सोच्थेँ, तर पनि आफ्नो जिम्मेवारी सम्झेँ। एउटा बुबाको जागिरमा सात/सात जनाको परिवारको खर्च बेहोर्नुपर्थ्यो। मैले विवाह गरेपछि झन् आठ जनाको परिवार भएको थियो।
बुबा–आमासँग खर्च माग्न अत्यन्त लज्जा लाग्थ्यो। झन् परिवारलाई खर्च चाहिंदा, कपडालुगा फाटो किन्नुपर्दा, श्रीमती माइत जाँदा–आउँदा, बजार जाँदा खर्चपर्च के दिने? यस्तो अवस्थामा कम्तीमा सयौं चोटि औडाहा र बेचैन भएको थिएँ। हे भगवान्, यस्तो सजाय किन दिइरहेका छौ? मलाई किन छटपटीमा पारिरहेका छौ? मलाई किन निकास र उपाय दिंदैनौ? भन्दै भगवान्सँग गुनासो गरिरहेको थिएँ।
अर्कोतिर आउने फागुनको पहिलो सातामा डाक्टरले श्रीमतीको सुत्केरी हुने दिन तोकिदिएका थिए। श्रीमतीले घरदेखि टाढाको काम करिब–करिब छाडिसकेकी थिइन्।
तर पनि पहाडको ठाउँमा धाराबाट पानी ल्याउन, घाँसपात, खेतबारी, भान्सा, चुलो–चौकाको काम, भाँडाकुडा, लिपपोत, कुटानी–पिसानी पनि नगरी हुन्थेन। म काठमाडौंमा पढ्दै थिएँ, घरमा सानो भाइ सात–आठ कक्षामा पढ्दै थियो। घरको चिन्ता गरिसक्नु पनि भएको थिएन।
आमालाई चौतर्फी दबाब परेको थियो। मलाई भने काठमाडौंमा पढ्ने खर्च बुबाले पठाइदिनुहुन्थ्यो। घरमा पनि खर्च गर्ने अनेकौं ठाउँ हुन्थे। धन्न साह्रो–गाह्रोमा अन्नपात बेचेर आमालाई सहज भएको थियो।
म आमाको अनुहार हेर्थें। पुरै शरीर हेर्थें। बिहान पाँच बजे उठेदेखि साँझ नसुतुन्जेल खेतिपाती, घाँस–दाउरा, घरमा दोहोर्याइँ बुहारी, सानो भाइ थिए। पाँच–सात वटा गाई–गोरु, ती सबैलाई हेर्नैपर्ने हुन्थ्यो। धन्न गाई चराउने मानिस एक जना छिमेकीले सहयोग गरिदिएका थिए। वर्षायाममा खर्कमा पनि आफन्तहरूले गाई–गोरु हेरेर समस्या टरेको थियो।
तैपनि आमाले न आराम गर्न पाउनुभएको थियो, न मीठो–मसिनो खान पाउनुभएको थियो, न राम्रो कपडाको वास्ता गर्नुभएको थियो।
श्रीमती पनि घरको जिम्मेवारी बढेकाले अध्ययन गर्न छाडिदिएकी थिइन्। श्रीमतीले आमालाई सकेसम्म काममा लगाउँदिनथिन्, तर पनि एक्लैले कहाँ–कहाँ भ्याइसक्ने? सासू–बुहारी मिलेर घर चलेको थियो। मैले काठमाडौंमा र भाइले चन्दननाथ हाइस्कूलमा पढ्न पाएका थियौं।
यसैले पनि हाम्रो समस्या ईश्वरले पनि देख्नुपर्ने थियो र बुझिदिनुपर्ने थियो। हामी भगवान्को आशा–भरोसा र विश्वासमा चलिरहेका थियौं। नतिजा आइसकेको थिएन। यही बेला मैले आमाको सन्दर्भ राखी यो गजल तयार गरेको थिएँ।
यी हरफहरू आमा जीवित छँदै २०५३/५/१० मा जुम्लामा लेखेका थिएँ। यसरी आमाप्रतिको आफ्ना भावना गजलमा पोखिरहेको थिएँ। गजल प्रकाशन गर्न नपाए पनि आमालाई सुनाएँ। आमा भावविह्वल हुनुभयो। “छोरा, धन्य! मलाई सम्झेर सम्बोधन गरेर लेख्यौ, कुनै दिन छपाउनू। मेरा छोराहरूका अगाडि समस्या थाँति राखेर मलाई नयाँ चोली र कपडा लगाउनु छैन। तिमीहरूलाई कसैले कतै नहेपोस्। कहीं कसैसँग झुक्न नपरोस्।”
आमाका यी महत्त्वपूर्ण विचार र दर्शन थिए, जोसुकैले यस्ता महान् विचार र सोच सधैं राख्न पनि सक्दैनन्। उहाँले थप्नुभयो, “भगवान् सधैं हाम्रो साथमा छन् र हुनेछन्।” आमाको भगवान्प्रतिको दृढ विश्वास सानैदेखिको थियो, दुखमा पनि, सुखमा पनि। जतिसुकै विघ्न–बाधा आए पनि उहाँ विचलित हुनुभएन, आफूलाई सम्हाल्न सफल हुनुभयो।
आमाको धैर्यताले साथ दियो। ईश्वरले हामी सबैलाई माया गर्नुभयो। ईश्वर, कुलदेवता बाविरो मष्टा, लाटी बज्यू दाहिने बस्नुभयो। सबैको कृपाले सरकारी वकिल समूहको खरिदार पदमा पास भएको लोकसेवा आयोगको सिफारिसपत्र हातमा आइपुग्यो। सबैभन्दा पहिला आमा, बुबा, परिवार, श्रीमती, भाइ र आफन्तजन खुशी हुनुभयो।
आमा, श्रीमती र भाइलाई नतिजा आएको खबर भोलिपल्ट मात्र थाहा भयो। बुबा र परिवारलाई फोन गरेँ। घर नजिकै नोकरी नभए पनि छिमेकी जिल्ला सरकारी वकिल कार्यालय गमगढी, मुगुमा सरकारी सेवामा प्रवेश गरेको थिएँ।
अब म बेरोजगारबाट रोजगारमा प्रवेश गरेँ। धेरै वर्षपछि गाउँ–समाजले सरकारी वकिल समूहमा एक जना कर्मचारीको रूपमा पाएको थियो। नेपाल सरकारले पत्याएको सक्षम जनशक्तिको रूपमा म भित्रिएको थिएँ। जब शपथ खाएर नियुक्ति पाएँ, ईश्वर र सबै सहयोगी आफन्तजनलाई धन्यवाद दिएँ।
अहिले पनि त्यो गजलको सम्झना आइरहन्छ। यस वर्षको आमाको मुख हेर्ने दिनमा त्यो बेला कोरिएको गजल ससम्मान अर्पण गर्न चाहन्छु। यस्ता थिए गजलका शेरहरू। तिनै गजल यसपाली पाठकमाझ पस्किएको छु।
मैले रोजगारी पाएर आमालाई खुशी बनाउन सकेँ कि सकिनँ, तीर्थ घुमाएँ कि घुमाइनँ, लुगाफाटो फेरेँ कि फेरिनँ, आमालाई हँसाउन सकेँ कि सकिनँ, आमाले खुवाएको दशधारा अमृतले गर्भदेखि हुर्काउँदासम्मको ऋण तिरेँ कि तिरिनँ, त्यो आमाको आत्मालाई थाहा हुने कुरा हो। सायद मलाई लाग्छ, आमाको सेवा र मूल्य तिर्न नसक्दै आमा गुमाउनुपरेको ठूलो पीडा छ। अब जे–जति कमजोरी भए, माफी गरिदिनुहोला।
आज मलाई असाध्यै माया गर्ने आमा भौतिक रूपमा नरहे पनि हजुरको आत्मा मरेको छैन। आत्मा हाम्रै नजिक–वरिपरि छ। आमा, हजुरको सम्झनामा यो कोसेली श्रद्धासाथ अक्षय तृतीया, आमाको मुख हेर्ने दिनमा म, छोरा, हार्दिक शक्तिपूर्ण भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु
प्रशान्त २०८१ वैशाख १४ गते
















