शनिबार, ११ आश्विन, २०८२

प्रचण्डको दाउः पहिले शिक्षक मारेर प्रधानमन्त्री बने, अहिले शिक्षक उचालेर सरकारमा जाने!

अहिले शिक्षकलाई उचालेर सरकार ढाल्ने र आफू सत्तामा जाने दाउमा छन्, प्रचण्ड। उनले शिक्षक र पत्रकारलाई आफू पुनः सरकारमा जाने भर्‍याङ बनाएका छन्। कुनै समय शिक्षक र पत्रकार देखिनसहने प्रचण्डलाई अहिले उनीहरू नै सबैभन्दा बढी खाँचो परेका छन्। तर, शिक्षकहरूले आफ्ना साथीलाई मारेको, यातना दिएको बिर्सिएका छन्।

माओवादीले ४१ सूत्रीय माग राखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझायो। माग सम्बोधनका लागि ३५ दिनको अल्टिमेटम माओवादीले दिएको थियो। पहिलोपटक प्रधानमन्त्री बनेका देउवाले माग पूरा नगरेपछि माओवादीले २०५२ फागुन १ गते हतियार उठायो।

माओवादीको पहिलो निशाना थिए, सुरक्षाकर्मी। त्यसपछि क्रमशः शिक्षक, पत्रकार, व्यापारी, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण माओवादीको निशानामा परे। शिक्षक र पत्रकारहरूलाई अत्यन्त पीडादायी रूपमा मारियो। स्कूलमा पढाइरहेका शिक्षकलाई लगेर आफैं खाल्डो खन्न लगाएर मारिएको थियो।

कसैलाई झुन्ड्याएर, कसैलाई किला रोपेर, कुटपिट गरेर, गोली हानेरलगायत विभिन्न यातना दिएर मारियो। माओवादीले कसैलाई छोडेन। कोराभित्र बसेकी र भर्खर बच्चा जन्माएकी सुत्केरीको पनि हत्या गरियो। माओवादीको १० वर्षे जनयुद्धको क्रममा १७ हजार जनता शहीद भए।

हजारौं अंगभंग भए। जनधनको व्यापक क्षति भएपछि सात राजनीतिक दलले माओवादीलाई सहमतिमा ल्याए। १२ बुँदे माग सम्बोधन गरेपछि बल्ल माओवादीले आफ्नो हतियार छोड्यो। जसमा मुलुकबाट राजतन्त्र हटाउने, पहिलो संविधानसभाको निर्वाचन गर्नेलगायतका सम्झौता भए।

२०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो। २०६५ जेठ १५ गते देशबाट राजतन्त्र हटेको र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कायम भएको भन्दै सदनबाट घोषणा भयो। बहुमतले राजतन्त्र फालेर गणतन्त्रको स्थापना गरियो। राजा ज्ञानेन्द्र त्यही रात दरबार छोडेर नागार्जुनको जंगल लागे।

उनले श्रीपेच र गद्दी त्यागे। पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले १२० क्षेत्रमा चुनाव जितेको थियो। माओवादी त्यतिबेलाको पहिलो पार्टी थियो। विडम्बना, माओवादीले न संविधान बनाउन सक्यो न देश र जनताका लागि काम गर्न सक्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्षमता त्यतिबेलै देखिएको थियो।

उनले सेनाका प्रमुख रुक्माङ्गद कटवाल र पशुपतिनाथ मन्दिरका पुजारीलाई हटाउन खोजेका थिए। तर, दुवैलाई हटाउन असफल भएपछि उनले राजीनामा दिए। २०७० सालको चुनावमा माओवादी पहिलोबाट झरेर तेस्रो पार्टी बन्यो। जनताले नपत्याएपछि तर्सिएको माओवादी २०७४ को चुनावमा एमालेसँग मिल्यो।

२०७९ को चुनावमा माओवादी र कांग्रेसबीच तालमेल भयो। माओवादीबाट प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने। कांग्रेसको सरकार होस् वा एमालेको, माओवादी सरकारमा गएकै छ। तर, माओवादीले कुनै परिवर्तन ल्याउन सकेन। जनयुद्धमा जुन एजेन्डा बोकेर माओवादी हिँडेको थियो, त्यो बिर्सियो।

कसरी खाने? कसरी सम्पत्ति जोड्ने? कसरी मोजमस्ती गर्ने? कसरी आफ्ना आफन्तलाई जागिर लगाउने? यसमै माओवादी केन्द्रित भयो। माथिल्लो तहका नेताहरूदेखि तल्लो तहका कार्यकर्तासम्मको विचार यही भयो। उनीहरू व्यक्तिगत स्वार्थमा लागे। कांग्रेस र एमालेले खाए, हामी किन नखाने? भन्दै माओवादीले जनयुद्ध गरेको देखियो।

हिजो जनयुद्धमा मारेका पत्रकार, सुरक्षाकर्मी, व्यापारी र सर्वसाधारण माओवादीलाई अहिले आवश्यक परेका छन्। प्रचण्डको अघिपछि सुरक्षाकर्मी छन्। पत्रकारहरूले उनको राम्रो समाचार लेखिदिनुपरेको छ। शिक्षकलाई उचालेर माओवादीले सडकमा ल्याएको छ। शिक्षकको संख्या घटेपछि माओवादीका कार्यकर्ता सडकमा उत्रिएका छन्।

अहिले शिक्षकलाई उचालेर सरकार ढाल्ने र आफू सत्तामा जाने दाउमा छन्, प्रचण्ड। उनले शिक्षक र पत्रकारलाई आफू पुनः सरकारमा जाने भर्‍याङ बनाएका छन्। कुनै समय शिक्षक र पत्रकार देखिनसहने प्रचण्डलाई अहिले उनीहरू नै सबैभन्दा बढी खाँचो परेका छन्। तर, शिक्षकहरूले आफ्ना साथीलाई मारेको, यातना दिएको बिर्सिएका छन्।

प्रचण्ड आफ्नो दाउ खेलिरहेका छन्, न शिक्षकले बुझेका छन् न पत्रकारले। अहिले उनी शिक्षकको पक्षमा आवाज उठाइरहेका छन्। माग सम्बोधन नभएसम्म विद्यालय नफर्किन उनले उक्साइरहेका छन्। हो, माओवादीका कारण देशमा लोकतान्त्रिक गणतन्त्र आयो। त्यही व्यवस्थाका कारण आन्दोलन गर्न पाइएको हो।

शिक्षकहरू चैत २० गतेदेखि सडक आन्दोलनमा छन्। विद्यालय ठप्प छन्। सडकमा शिक्षकहरू आन्दोलन गर्छन्, त्यही बीचमा साना–साना बालबालिका पानी बेचिरहेका देखिन्छन्। पढ्न जानुपर्ने बालबालिका गुजारा गर्न पानी बेच्न हिँड्नुपर्ने बाध्यता छ। अनि, लोकतान्त्रिक गणतन्त्र कसका लागि आएको रहेछ? यो प्रष्ट भइहाल्यो।

शिक्षकहरूलाई मोज छ। पढाउँदै नपढाई जनताले तिरेको कर खाइरहेका छन्। लुगा लगाएका छन्। अझै सेवा–सुविधा पुगेन भनेर सडकमा आउँछन्। त्यसो त कर तिर्ने जनताको छोराछोरीको हकमा के? जनता आधा पेट काटेर कर तिर्छन्, अनि देशका बौद्धिक वर्ग भनिएकाहरू सेवा–सुविधा पुगेन भनेर सडकमा आएर रमिता देखाउँछन्।

पत्रकार समाजका ऐना हुन्। शिक्षक आन्दोलनमा पत्रकारहरू यत्तिकै छन्। त्यही भीडमा साना–साना बालबालिकाहरू पानी बेचिरहेका हुन्छन्। तर, त्यसको समाचार बनाउँदैनन्। पढाउन जानुपर्ने शिक्षक सडकमा रमिता देखाउँछन्, पढ्न जानुपर्ने विद्यार्थी पानी बेच्छन्। शिक्षकहरू आन्दोलन गर्ने, विद्यार्थी पानी बेच्ने भन्दै समाचार बनाउनुपर्दैन?

स्कूल जानबाट वञ्चित बालबालिकाको आवाज उठाउनुपर्दैन? आन्दोलनका कारण सर्वसाधारणले अनाहकमा सास्ती पाएका छन्। गाडी नचल्दा पैदल हिँड्नुपर्ने बाध्यता उनीहरूलाई छ। तर, पत्रकारहरू समस्या उजागर गर्नुभन्दा भ्यूज बटुल्नमा बढी केन्द्रित छन्।

अस्ति आन्दोलनमा शिक्षकको संख्या निकै कम भइसकेको थियो। हिजो संख्या बढेको छ। तर, अधिकांशले शिक्षकको पोशाक पहिरिएका थिएनन्। साधारण पोशाकमा थिए। आन्दोलनमा वृद्धवृद्धा पनि थिए। यसले नै आन्दोलनमा घुसपैठ भइसकेको प्रष्ट छ। कसैको उक्साहटमा आएर आन्दोलन गर्नु बेकार छ।

पार्टीको झोला बोकेर आन्दोलनमा उत्रिँदा त्यसले ठूलो क्षति पुग्न सक्छ। अभिभावकको आक्रोश खेप्न उनीहरूलाई गाह्रो पर्न सक्छ। हिजो शिक्षक मारेर प्रधानमन्त्री भएका व्यक्ति पुनः शिक्षकलाई प्रयोग गरेर पदमा पुग्ने दाउमा छन्। यो कुरा शिक्षकले बुझ्न जरूरी छ। प्रचण्ड आए पनि शिक्षकको माग सम्बोधन गर्न गाह्रो छ।

प्रचण्डले आफ्नो गोजीबाट ल्याएर तलब–भत्ता बाँड्ने होइन। राज्यको ढुकुटीबाट दिने हो। अहिले देश आर्थिक संकटमा छ। कर उठेको छैन। वैदेशिक ऋण २७ खर्ब पुगिसकेको छ। जनताले भोकै बसेर, उपचार नगरेर सरकारलाई कर तिरिरहेका छन्।

निर्माण व्यवसायी, दूध तथा उखु किसान, बीमा गरेका अस्पतालले भुक्तानी पाएका छैनन्। शिक्षकले यो कुरा बुझ्नुपर्छ कि पर्दैन? जे भए पनि शिक्षकले तलब त पाइरहेका छन्। यस्तो जटिल अवस्थामा शिक्षकले बुझ्ने कि सडकमा आएर रमिता देखाउने? ढ्याङ्ग्रो ठोकेर छैनन् शिक्षकले।

यसले त स्पष्ट रूपमा शिक्षक धामी–झाँक्रीको पक्षमा देखिएको छ। सडकमा जादू देखाउँछन्। अनि, यस्ता शिक्षकलाई बौद्धिक वर्ग भन्ने? सरकारले अब शिक्षकको सर्टिफिकेट जाँच्नुपर्ने भएको छ। जान्ने–बुझ्ने मान्छेले ढ्याङ्ग्रो ठोक्छन्? बाटो जाम गरेर सर्वसाधारणलाई दुख दिएका छन्।

कुन काम सही र कुन गलत? भन्ने थाहा नभएका शिक्षकबाट के अपेक्षा गर्ने? यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता होलान्? प्रचण्डले आफ्ना सन्तानदेखि आफन्तलाई ठाउँमा पुर्‍याइहाले। बाँकीलाई अर्कोपटक ठाउँमा पुर्‍याउँछु भन्ने उनको दाउ हो। आफ्ना छोराछोरीलाई ठाउँमा पुर्‍याइसकेकालाई जनताको छोराछोरीको के मतलब?

शिक्षामन्त्री रघुजी पन्तले नाटक देखाइरहेका शिक्षकहरूलाई कारबाही गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई तत्काल बर्खास्त गर्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार